Comments Add Comment

वक्षस्थलले गोली छेकेपछि महिलाको जोगियो ज्यान

के कुनै महिलाको वक्षस्थलले गोलीको प्रहार रोक्न सक्छ ? शायद यो प्रश्न नै असान्दर्भिक तथा अनुपयुक्त लाग्नसक्छ । तर हालैको एक घटनाले यो कुरा पुष्टि गरिदिएको छ । एक महिलाको छातीमा दागिएको गोलीलाई उनको वक्षस्थलले छेकिदिएपछि महिलाको ज्यान जोगिएको छ ।

हुनत सामान्य वक्षस्थलले गोली रोक्ने कुरा असम्भव नै हुन्छ । तर सिलिकन प्रत्यारोपण गरिएको वक्षस्थलले चाहिँ गोली रोक्दो रहेछ ।

क्यानडामा एक महिलामाथि यस्तै घटना भएको छ । एसएजीई मेडिकल जर्नलमा गत हप्ता प्रकाशित एक शोधपत्रमा उक्त चामत्कारिक घटनाका बारेमा उल्लेख छ ।

सीएनएनले उक्त जर्नलमा प्रकाशित शोधपत्रलाई उधृत गर्दै समाचार लेखेको छ । समाचारअनुसार उक्त घटना टोरन्टोमा सन् २०१८ मा भएको हो । ३० वर्षकी ती महिलाको छातीमा प्रहार गरिएको गोलीलाई सिलिकन प्रत्यारोपित वक्षस्थलले रोक्यो र गोलीलाई मुटुसम्म पुग्न दिएन ।

नाम नखुलाइएकी ती महिलामाथि सडकमा हिँडिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो ।

छातीमा गोली प्रहार हुँदासमेत सुरुमा उनले पत्तो पाइनन् । जब उनलाई पोलेको तथा दुखाइ महसुस भयो तब आफ्नो छातीमा हेर्दा रगत बगेको देखेपछि मात्र उनले आफूमाथि गोली प्रहार भएको थाहा पाएकी थिइन् ।

ओन्टारियोस्थित म्याकलिन क्लिनिकमा ती महिलाको उपचार भैरहेको छ ।

अस्पतालमा शल्यक्रियाका क्रममा डाक्टरहरुले सिलिकन प्रत्यारोपित दाहिने वक्षस्थलको भित्रपट्टी अड्किएको अवस्थामा गोली निकालेका छन् । साथै उनका दुवै वक्षस्थलबाट प्रत्यारोपित सिलिकन हटाइएको छ ।

उनको छातीमा दागिएको गोली सिलिकन ट्रान्सप्लान्टमा ठक्कर खाएसँगै लटपटियो र छाती छेड्न सकेन । यद्यपि गोलीको तीव्र वेगले वक्षस्थलमा ठक्कर दिँदा छातीको एउटा करङ भाचिनुका साथै वक्षस्थलमा चोट लागेको थियो ।

प्रत्यारोपित वक्षस्थलले गोलीको प्रहार रोकेर मान्छेको ज्यान जोगाइदिएको यो इतिहासमै पहिलो घटना भएको बताइएको छ । – सीएनएन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment