Comments Add Comment

बेलायतमा कोरोना खोपको मानिसमा परीक्षण शुरु

१३ वैशाख, काठमाडौं । युरोपमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । बेलायतको अक्सफोर्ड सहरमा यो परीक्षणको लागि आठ सयभन्दा धेरै मानिस चयन गरिएको थियो । जसमध्ये दुई स्वयंसेवकले यो खोप लगाएका छन् । आठ सयमध्ये आधालाई कोभिड–१९ को खोप दिइनेछ । आधालाई भने मेनिन्जाइटिसबाट बचाउने खोप दिइनेछ । तर, यसले कोरोना भाइरसबाटठ भने बचाउँदैन ।

स्वयंसेवकहरुलाई आफूलाई कुन खोप दिइएको हो भन्ने कुरा थाहा हुँदैन । अहिले परीक्षण शुरु गरिएको खोप अक्सफोर्ड युनिभर्सिटीको एक टोलीले तीन महिनामा तयार पारेको हो । जेनर इन्स्टिच्युटमा भ्याक्सीनोलोजीकी प्राध्यापक सारा गिल्बर्ट यो खोपको अनुसन्धानमा सामेल थिइन् । उनी भन्छिन्, ‘व्यक्तिगतरुपमा मलाई यो खोपमा धेरै विश्वास छ । तर, हामीले यसको परीक्षण गरेर मानिसहरुबाट डेटा संकलन गर्नुपर्ने हुन्छ । हामीले यसले कुनै असर देखाउँदैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ । त्यसपछि मात्र मानिसहरुलाई यो खोप दिन सकिन्छ ।’

अक्सफोर्डको टोलीले यसअघि पनि मार्स भाइरसको लागि खोप तयार पारेको थियो । सार्स अर्कै किसिमको कोरोना भाइरस हो ।

त्यतिबेला पनि अहिलेको जसरी नै खोप निर्माण गरिएको थियो । परीक्षणको क्रममा पनि उत्साहजनक नतिजा आएको थियो ।

यो परीक्षण सफल भए सिप्टेम्बर सम्म १० लाख खोप बनाउन सकिन्छ र यसको उत्पादन पनि बढाउन सकिन्छ

यसले काम गर्छ भन्ने कसरी थाहा हुन्छ ?

यो कुरा पत्ता लगाउने एकमात्र तरिका आगामी महिनामा अहिले खोप दिएकामध्ये कति मानिस संक्रमित हुन्छन् भनेर हेर्नु नै हो । तर, बेलायतमा उल्लेख्य मात्रामा संक्रमणमा कमी आयो भने यसको परीक्षणमा समस्या हुन सक्छ । किनकी त्यस्तो अवस्थामा पर्याप्त मात्रामा डेटा पाउन सकिँदैन ।

अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक प्राध्यापक एन्ड्र्यु पोलार्ड भन्छन्, ‘हामी महामारीको अन्त्यतर्फ अघि बढिरहेका छौँ । हामीले यो अवस्थामा पुष्टि गर्न सकेनौँ भने यो खोपले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन गाह्रो हुन्छ । तर हामीलाई अझै धेरै संक्रमण बढ्छन् भने अपेक्षा छ ।’

परीक्षणमा स्थानीय स्वास्थ्यकर्मीलाई सामेल गर्नमा जोड दिइएको छ । किनकी उनीहरुलाई कोरोना भाइरसको संक्रमणको खतरा बढी हुन्छ ।

आगामी महिनामा परीक्षणलाई थप विस्तार गरिनेछ जसमा करिब पाँच हजार स्वयंसेवकमा यो खोपको परीक्षण गरिनेछ । यसमा हरेक वर्गका मानिस समावेश गरिनेछ ।

अहिलेसम्म वृद्ध मानिसहरुलाई यसको असर धेरै हुन सक्ने बताइँदै आएको छ । यो कुरा पत्ता लगाउन पनि यो खोप फेरि दिनुपर्ने हुन्छ ।

यो टोलीले अफ्रिकाको केन्यामा पनि त्यहाँका स्थानीय शोधकर्तासँग मिलेर यो परीक्षण शुरु गर्ने प्रयास गरिरहेका छन् । अहिले केन्यामा भर्खरै कोरोना भाइरसको संक्रमण देखिन शुरु भएको छ ।

त्यसो हो भने स्वयंसेवकलाई नै संक्रमित बनाएर यसको परीक्षण किन नगर्ने त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । यसो गर्दा सहजै यो खोपले काम गर्छ कि गर्दैन भन्ने कुरा सजिलै थाहा हुन्छ । तर, यसमा नैतिक समस्या आइपर्छ । अहिलेसम्म कोभिड–१९ को कुनै उपचार नभएको खण्डमा जानाजान मानिसलाई यसको संक्रमण गरिनु उचित हुँदैन । पोलार्डका अनुसार आगामी दिनमा यसको कुनै उपचार आयो र स्वयंसेवकलाई केही हुँदैन भन्ने सुनिश्चित गर्न सकेको खण्डमा खोपको परीक्षण गर्न सहज हुन्छ ।

यो सुरक्षित छ ?

खोप दिइएका स्वयंसेवकमाथि आगामी महिनामा निगरानी जारी राखिनेछ । उनीहरुलाई खोप लिएको केही दिनमा हात सुन्निने, टाउको दुख्ने वा ज्वरो आउनेजस्ता समस्या देखिन सक्ने बताइएको छ । साथै उनीहरुलाई यो खोपको कारण भाइरससँग गम्भीर किसिमको प्रतिक्रिया पनि हुन सक्ने बताइएको छ ।

यस किसिमको अवस्था यसअघि सार्सविरुद्धको परीक्षणमा पनि देखिएको थियो । तर, अक्सफोर्डको टोलीका अनुसार यो खोप परीक्षणमा गम्भीर बिरामी हुने खतरा भने शून्यको हाराहारीमा छ । यसअघि जनावरमा गरिएको परीक्षणको डेटा सकारात्मक छ । यो परीक्षण सफल भए सिप्टेम्बर सम्म १० लाख खोप बनाउन सकिन्छ र यसको उत्पादन पनि बढाउन सकिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment