Comments Add Comment

वीरगञ्जका संक्रमित : सफाइकर्मीका नाइके थिए, हरेक विहान वडा घुम्थे

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थपिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये एकजना वीरगञ्ज महानगरपालिकाका सफाइकर्मी भएको पाइएको छ ।

वडामा सरसफाइको नाइके भएका कारण उनी बिहानैदेखि सरसफाइको काममा निस्कने गरेका थिए । उनको मातहत १५ जना सफाइकर्मी कार्यरत थिए । आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनलाई नारायणीको आइसोलेसनमा राखिएको छ ।

तर वडा नं. ३ छपकैया घर भएका उनमा कोरोना संक्रमणको कुनै लक्षण देखिएको थिएन ।

वडा कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार छपकैया पोखरीमा वडा अध्यक्ष बैजु स्वर्णकारसहित १५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

वडाका सफाइ नाइकेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार आफू घरमै बसेको वडाध्यक्ष स्वर्णकारले बताए । ‘उहाँ वडाको सफाइकर्मीको नाइके हुनुहुन्छ, बिहानैदेखि वडामा घुमेर सरसफाइको काम गराउनुहुन्थ्यो,’ उनले भने, ‘चिकित्सकको सल्लाह अनुसार म होम क्वारेन्टाइनमा बसेको छु । २/३ दिनमा पुनः पीसीआर टेष्ट गर्ने सोचमा छु ।’

र्‍यापिड टेष्टले हुँदैन, पीसीआर गर्नुपर्छ : नगर प्रमुख

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले छपकैया क्षेत्रमा र्‍यापिड टेष्ट मात्रै गरेर नहुने बताएका छन् ।

त्यस क्षेत्रका शंकास्पद मानिसहरुको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट नै परीक्षण गराउनुपर्ने उनले बताए । ‘उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘छपकैया क्षेत्रमा पीसीआर  विधिबाटै परीक्षण गर्नुपर्ने देखिएको छ । त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउँदैछौं ।’

वडाध्यक्षसहित ४ जना नगरसभा सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । साथै सरसफाइकर्मी १५० जनाको पीसीआर परीक्षण गराउने तयारी छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

यस्तै वीरगञ्जमा उपचार गराइरहेका तीन जना भारतीय जमाती र एक जना रौतहटका १९ वर्षीय युवक आइतबार डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment