Comments Add Comment

यो हो दुनियाँकै पहिलो घडी, मूल्य १० अर्ब रुपैयाँ

भलै अहिले मान्छेले घडी बाँध्ने कुरा सामान्य भइसकेको छ। तर, कुनै समय यस्तो थियो, जहाँ केवल ठूलाबडा तथा धनी मानिसहरूसँग मात्र घडी हुन्थ्यो र आफूसँग घडी हुनुलाई मानिसहरू आफ्नो प्रतिष्ठासँग जोड्दथे ।

जुन घडी अहिले सामान्यभन्दा पनि सामान्य मानिसको पहुँचमा छ। त्यो दुनियाँमा सबैभन्दा पहिलो कसले बनायो होला ? अनि दुनियाँमा पहिलोपटक बनेको घडी कस्तो थियो होला ? यो कुरा जान्ने चाहना सायद तपाईंमा पनि छ होला ।

वास्तवमा दुनियाँको पहिलो घडीसम्बन्धी तथ्यहरू निकै रोचक छन् । आजभन्दा करिब पाँच सय १५ वर्षअघि अर्थात् सन् १५०५ मा विश्वमा पहिलोपटक घडी बनेको थियो ।

दुनियाँको पहिलो घडीको नाम पोमेन्डर वाच अफ १५०५ अर्थात् वाच १५०५ को नामले चिनिन्छ । जर्मन आविष्कारक पिटर हेनलेनले उक्त घडी निर्माण गरेका हुन् । उनलाई नै घडीका जन्मदाता भनिन्छ ।

आकारमा स्याउको दानाजस्तै देखिने उक्त घडीको तस्वीरलाई विश्वले देख्न पाएको चाहिँ धेरै भएको छैन ।

सन् १९८७ मा बेलायको लण्डनस्थित एक कवाडी बजारबाट एकजना घडी मर्मत गर्ने पसलेले उक्त पोमेन्डर घडी खरिद गरे । उनले सो घडी १० पाउण्डमा किनेका थिए ।

निकै अनौठो खालको डिजाइन भएका कारण उनले ‘कवाडी बजार’बाट उक्त घडी किनेका थिए । त्यो घडी विश्वकै पहिलो घडी हो भन्ने कुरा उनलाई थाहा थिएन ।

उनले कैयन् वर्षसम्म उक्त घडीलाई आफूसँग राखे र अन्ततः सन् २००२ मा बिक्री गरे । ती युवकबाट त्यो घडी किन्ने अर्को मान्छेलाई पनि त्यो घडी दुनियाँकै पहिलो घडी हो भन्ने कुरा थाहा थिएन । दोस्रो व्यक्तिले पनि उक्त घडी अर्को मान्छेलाई बेचिदिए ।

यस्तै बिक्री हुने सिलसिलामा उक्त घडी एकजना शोधकर्ता विद्यार्थीको हात पर्यो । उनले नै उक्त घडी विश्वकै पहिलो घडी भएको कुरा दुनियाँलाई जानकारी गराए ।

उक्त घडीमा त्यसको निर्माण भएको वर्ष पनि लेखिएको थियो र आविष्कारक पिटर हेनलेनको हस्ताक्षर समेत थियो । समाचारअनुसार सो घडी निर्माता पिटर हेनलेनको निजी घडी थियो, जुन उनले सधैं आफूसँगै राख्थे ।

दुनियाँको यो पहिलो घडी तामा र सुनबाट बनेको छ ।

अहिलेको समयमा यो घडीको मूल्य आठ करोड डलर अर्थात् झण्डै १० अर्ब नेपाली रुपैयाँ पर्ने बताइएको छ । अमेरिकाको चर्चित एन्टिक विक म्यागेजिनले सन् २०१४ मै सो घडीको मूल्यका बारेमा खुलासा गरेको थियो ।

उक्त घडी अहिले कोसँग छ भन्ने कुरा चाहिँ गोप्य राखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment