Comments Add Comment

जब बालबच्चा स्क्रिनमा एकोहोरिन्छन्

अहिले अधिकांश बालबालिका टिभीमा झुन्डिरहेका हुन्छन् । मोबाइलमा झुन्डिरहेका हुन्छन् । ल्यापटपमा झुन्डिरहेका हुन्छन् । कार्टुन, भिडियो गेम, भिडियोमा लिप्त भइरहेका हुन्छन् ।

भिडियो गेम, भिडियो र फेसबुकले त बालबालिकालाई अरू एकोहोरो बनाएको छ । ती माध्यममा भुलिएपछि उनीहरू दिसापिसाब आएको थाहा पाउँदैनन्, भोक लागेको मेसो पाउँदैनन् । एकै ठाउँमा बसिरहँदा शरीर कक्रिएको पनि भेउ पाउँदैनन् । जब कसैले उनीहरूको क्रमभङ्ग गरिदिन्छन्, सपनाबाट ब्युँझिएजस्तै गर्छन् ।

अहिलेका बालबालिकाहरू नजानिँदो ढंगले स्क्रिनमा लिप्त हुँदै गएका छन् । उनीहरू मोबाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन्। आफ्नै परिवार र समाजबाट विमुख हुँदैछन् ।

पछिल्लो अध्ययनले के देखाउँछ भने अहिलेका बच्चाहरू दिनहुँ कम्तीमा दुई घण्टा स्क्रिनमा बिताउँछन् । यत्तिका समय उनीहरू आफ्नो आमाबुबा र समाजसँग पनि बिताइरहेका छैनन् । अर्को तथ्य के भने, बच्चाहरू यति धेरै समय स्क्रिनमा बिताइरहेका छन् कि जसको बारेमा उनका आमाबुबालाई थाहा छैन ।

यसरी लामो समय स्क्रिनमा बिताउनु आफैँमा एक जटिल समस्या हो र यसले बच्चालाई गाँज्दै लगेको बताइन्छ। जब बच्चाहरू स्क्रिनमा एकोहोरिन्छ, तब उनीहरू परिवार र समाजबाट विमुख रहन्छन् । उनीहरूको पारिवारिक जीवन चौपट हुन्छ । साथसाथै उनीहरूमा मानसिक समस्या देखापर्छ, शारीरिक समस्या त छँदैछ ।

लामो समय स्क्रिनमा बिताउने बच्चाहरुमा तुरुन्त देखिने समस्या भनेको शारीरिक नै हो । उनीहरूमा टाउको दुख्ने, गर्दन दुख्ने, आँखा रुखो हुने, बेचैन हुने जस्ता समस्या देखिन्छ । बच्चाहरू लामो समय स्क्रिनमा बिताउने भएकाले उनीहरूमा आँखाको समस्या आम बन्दै गएको विश्वव्यापी तथ्यांकले देखाउँछ ।

कम्प्युटर, ल्यापटप, मोबाइल आदिको स्क्रिनद्वारा उत्सर्जित प्रकाशको ब्लु-लाइटले आँखााको संवेदनशील रेटिनामा गम्भीर असर पुग्ने अध्ययनमा उल्लेख छ । अतः यसको प्रभाव मस्तिष्कमा पनि छ । ब्लु-लाइटको प्रभावले निद्राको तालमेल समेत खलबलिने गर्छ । निद्राको चक्र बिग्रिएकाले बच्चाहरुमा मोटोपनको समस्या समेत बढ्ने देखिएको छ ।

यसरी ल्यापटप, मोबाइल आदिबाट आउने ब्लु-लाइटको प्रभाव घटाउनका लागि के गर्न सकिन्छ भनेर अहिले विकल्पको खोजी भइरहेको छ । यद्यपि बच्चाले व्यतित गरिरहेको स्क्रिन टाइम कटौती गरिदिनु नै यसको राम्रो विकल्प हो । बच्चालाई घरभित्रै वा कोठाभित्र मोवाइल, ल्यापटमा लिप्त हुन दिनुको बदला घरबाहिरको खेलकुदमा प्रेरित गर्नुपर्छ । यसका लागि अभिभावकले पनि बालबालिकासँग समय बिताउनुपर्छ । उनीहरूसँगै खेल्नुपर्छ । बच्चालाई भुलाउनका लागि वा खुसी तुल्याउनका लागि मोबाइल, ल्यापटप दिने प्रवृत्ति त्याग्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment