Comments Add Comment

श्रमिक वर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने ढकालको प्रतिबद्धता

१८ वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोरोना भाइरसका कारण विश्वव्यापी उत्पन्न भएको वर्तमान कठिन अवस्थामा पनि श्रमिक वर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने बताएका छन् ।

उक्त परिषद्को सभापतिका हैसियतले मे १ अर्थात मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ढकालले सम्पूर्ण विश्व कोभिड-१९ को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा विश्वको अर्थतन्त्र दीर्घकालसम्म नै थला पर्ने देखिएको बताए ।

‘इतिहासको यो कठिन समयमा अझबढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिबद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजुभाइ एवं दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु । विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थलापर्ने अवस्था देखिएको भन्दै ढकालले शुभकामना सन्देशमा भनेका छन्,- यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाईं हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जिउधन र व्यवसायको सुरक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ ।’

सभापति ढकालले अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाने तथा करोडौंले आफ्नो रोजगारी गुमाउँदै जाने तथा त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्ने अवस्था देखिएको बताए ।

ढकालले नेपाल एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा रहेको, विकास निर्माणका कामहरू सबै ठप्प रहेका, उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेका तथा देशमा रेमिट्यान्सको आप्रवाह घट्दो क्रममा रहेकोले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुने धेरै सम्भावना देखिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकअनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको उनले बताए ।

अस्तिमात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको र यो निकै प्रारम्भिक प्रक्षेपण मात्र भएको भन्दै कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित देखिएको पनि उनले जनाएका छन् ।

यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका र जसका कारण सारा संसार नै ठप्प प्रायः भएको उनले सो सन्देशमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment