Comments Add Comment

सात सय वर्षअघि यसरी सुरु भयो क्वारेन्टाइनको चलन

संक्रामक रोगका बिरामीहरूलाई निको नहुन्जेल स्वस्थ व्यक्तिहरूबाट टाढा राखेरै रेखदेख र उपचार गर्ने विधि प्राचीन कालदेखि नै चल्दै आएको हो । धर्मशास्त्रहरूमा समेत एकान्तवास अर्थात् आइसोलेसनका सन्दर्भहरू उल्लेख भएको पाइन्छ। अहिले विश्वमा जारी कोरोना भाइरस महामारीका कारण सेल्फ आइसोलेसन तथा क्वारेन्टाइन जस्ता शब्दहरू पुनः एकपटक जनजिब्रोमा कण्ठ भएका छन् ।

कोरोना भाइरस महामारीको रोकथामका लागि कुनै नयाँ ठाउँबाट आएका आम मानिसहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि सुझाव दिइन्छ। तथापि शंकास्पद तथा जोखिमयुक्त मानिसलाई क्वारेन्टाइनमा राख्ने यो विधि तथा स्वयंमा यो शब्दको इतिहासचाहिँ रोचक छ । यो शब्दको इतिहासको जरो मध्यकालीन युरोपसम्म फैलिएको छ ।

क्वारेन्टाइन शब्द इटालियन भाषाको क्वारेन्तिनोबाट आएको हो । यसको शाब्दिक अर्थ हुन्छ ४० दिनको अवधि । १४औँ शताब्दीमा युरोपमा फैलिएको प्लेग रोगबाट भेनिसलगायतका तटीय सहरहरुलाई बचाउनका लागि संक्रमित बन्दरगाहबाट ती सहरमा जाने हरेक जहाजलाई सहरको धर्ती छुनुअघि ४० दिनसम्म पानीमै अठ्याएर राखिन्थ्यो । अर्थात् कुनै पनि जहाजले एक यात्रा पूरा गरेसँगै अर्को यात्रा सुरु गर्नका लागि ४० दिन विश्राम लिनुपर्थ्यो । यसरी जहाजलाई चालीस दिनसम्म सहरको तटीय क्षेत्रको माटो छुन नदिई पानीमै तैराएर राख्ने उक्त विधिलाई बिस्तारै क्वारेन्टाइन भन्न थालियो ।

सन् १३७४ मा भेनिस सहरले एक आदेश जारी गर्‍यो । उक्त आदेशअनुसार भेनिस आउने पानी जहाज तथा त्यसका यात्रीहरूलाई भेनिसको विशेष स्वास्थ्य परिषद्ले अनुमति नदिएसम्मको लागि नजिकैको लैजारो टापुमा रोकिनुपर्ने थियो । उक्त व्यवस्थाका कारण भेनिसमा केही देशका जहाज तथा यात्रीहरूमाथि भेदभाव तथा अन्य दुर्व्यवहार हुन थाल्यो ।

त्यस्तै, एड्रियाटिक सागरमा अवस्थित रागुजा टापुको प्रशासनले महामारी फैलिनबाट रोक्नका लागि सन् १३७७ मा एउटा कानुन बनायो । जसअनुसार रागुजा टापुमा आउने हरेक जहाज तथा व्यापारीहरूको टोली ३० दिनसम्म कतैपनि घुलमिल नभई अलग्गै रहनुपर्नेभयो ।

त्यस्तै, बाहिरबाट आउने त्यस्ता व्यक्तिहरू संक्रमणमुक्त होऊन् भन्नका लागि रागुजाको मुख्य सहर पस्नु अगाडि ३० दिनसम्म म्य्राकन टापुमा बस्नुपर्ने नियमसमेत लागु गरियो । बाहिरबाट आउने हरेक व्यक्तिका लागि लागु गरिएको उक्त नियम पक्षपातरहित थियो र सफल पनि भयो ।

फलतः समयक्रममा संक्रामक रोगको फैलावट रोक्नका लागि अन्य देशहरूले समेत क्वारेन्टाइनको यस्तो विधि अवलम्बन गर्न थाले । जुन अहिलेको महामारीमा सबैभन्दा धेरै प्रचलनमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment