Comments Add Comment

एनआईसी एसियाले अनलाइन माध्यमबाट व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्दै

२२ वैशाख, काठमाडौं । लकडाउनको समयमा बाहिर निस्कनु भनेको गाह्रै कुरा रहेको अहिले सबैको अनुभव छ । कहिलेकाहीँ त खाने सामान किन्न पसलसम्म निस्कनै पर्ने हुन्छ । तर, त्यसको विकल्पको रुपमा अहिले विभिन्न अनलाइन कम्पनी तथा मिनीमार्केटहरूले उपभोक्ताको घरसम्मै समान पठाइदिने व्यवस्था गरिरहेका छन् ।

जसबाट उपभोक्ताहरूलाई आफ्नो दैलोमै समान प्राप्त गर्ने सुविधा प्राप्त भइरहेको छ । अहिले घरसम्म समान पुर्‍याउने व्यवस्था हुँदाका बाबजुत उपभोक्ताहरूसँग घरमा नगद मौज्दात नहुन सक्छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै एवं लकडाउन पालनामा सहयोग पुर्‍याउने उद्देश्यले एनआईसी एसिया बैङ्कले क्यूआर कोडका माध्यमबाट घरमै बसेर पनि उपभोग्य वस्तुको लागत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

ग्राहकहरूको यस्तो सुविधाको लागि बैङ्कले खाद्यान्न सामग्री घरसम्मै  पुर्‍याउने सुविधा दिइरहेका व्यवसायीलाई मध्यनजर गर्दै एउटा विशेष योजना सार्वजनिक गरेको छ ।

जसअनुसार व्यवसायीले बैैङ्कको [email protected] मार्फत् क्यूआर कोडका लागि आवेदन दिन सक्छन् र विशेष प्रक्रिया अपनाई बैङ्कका प्रतिनिधिहरूले इमेलमार्फत् नै क्यूआर कोडको सुविधा प्रदान गर्छन्।

यस क्यूआर कोडमार्फत् व्यवसायीहरूले ग्राहकसँग उनीहरूको मोबाइल बैङ्किङमार्फत आफूले बिक्री गरेका उपभोग्य वस्तुको भुक्तानी लिन सक्नेछन्।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एनआईसी एसिया बैङ्कले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्‍याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई लक्षित गरी यस्तो योजना ल्याएको हो ।

धेरै समयको लकडाउनको कारण एनआईसी एसिया बैङ्कका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैङ्कले यस्तो योजना ल्याएको जनाएको छ । ग्राहकहरूले मोबाइल बैङ्किङको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैङ्क खातामा उक्त रकम जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत सुरक्षित रुपमा क्यूआर कोड प्रदान गर्नेेछ । यसका लागि सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्यूआर कोड सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ ।

उक्त इमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एसिया बैङ्कमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, इमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ । बैङ्कले व्यवसायीहरूको उक्त इमेल पाइसकेपछि बैङ्कको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गरी उक्त क्यूआर कोड प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेलमार्फत प्रदान गरिनेछ । व्यवसायीले त्यसपश्चात बैङ्कबाट प्राप्त फारम भरी सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैङ्क‍लाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

त्यसपछि बैङ्कले आवश्यक प्रकृया पूरागरी व्यवसायीलाई सुरक्षितरुपमा इमेलमार्फत क्यूआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैङ्कबाट प्राप्त क्यूआर कोड स्वयं प्रिन्ट गरी एनआइसी एसिया बैङ्क तथा अन्य बैङ्कका ग्राहकहरूसँग मोबाइल बैङ्किङमार्फत भुक्तानी लिन सकिनेछ। कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैङ्कले नियमित रुपमा प्रदान गर्ने क्यूआर व्यवसायीलाई प्रदान गर्नेछ जुन व्यवसायीले आफूले व्यवसाय गर्ने स्थानमा राख्न सकिनेछ । व्यवसायीहरूको आवश्यकताअनुसार बैङ्कले एकभन्दा बढी पनि क्यूआर स्टान्डे प्रदान गर्नेछ ।

बैङ्कमा हालसम्म मोबाइल बैङ्किङ सेवा प्रयोग नगरेका ग्राहकहरूको हकमा ग्राहकहरूले सजिलै घरमै बसी मोबाइल बैङ्किङ सुचारु गरी यो सेवा लिन सक्नुहुनेछ तथा सो बैङ्कमा खाता नभएका उपभोक्ताले यस बैङ्कमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था समेत गरिएको बताइएको छ । यसरी खोलिएको खातामा पनि मोबाइल बैङ्किङ सेवा सुचारु गरी निश्चित रकमसम्मको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने बैङ्कको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कले २०७६ चैत्र ९ गतेबाट मोबाइल बैङ्किङबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकहरूले मोबाइल बैङ्किङ (क्यूआर कोडसमेत) बाट प्रतिदिन एक लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् । यो योजनाले अनावश्यक भिडभाड तथा नगद कारोबारबाट ग्राहकलाई टाढै राखी कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्धत पुग्ने बैङ्कको विश्वास छ । सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई पनि टेवा पुग्ने बैङ्कको विश्‍वास छ।

यस विपद्को घडीमा बैङ्कले आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैङ्किङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ बैङ्कले जनाएको छ । साथै,  ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैङ्किङ आवश्यकता पूरा गर्न प्रोत्साहन गरिरहेको छ।

हालसम्म बैङ्कले आंशिक शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाइँ, बैङ्किङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तरबैङ्क रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानीको महसुल, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू मोबाइल तथा इन्टरनेट बैङ्किङ जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले निःशुल्क रुपमा घरबाटै गर्न सक्ने व्यवस्था समेत बैङ्कले गरिसकेको छ । उक्त सेवाहरूका साथै ग्राहकहरूले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैङ्कले दिएको छ ।

ग्राहकहरूले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै यस बैैङ्कका ग्राहकहरूले मोबाइल बैङ्किङ र डेबिट कार्ड प्रयोग गरी २५०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालभरका कुनै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एसिया बैङ्कका चार सय ६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैङ्कको कार्डवाहकले अन्य कुनै बैङ्क तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा आफ्ना ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैङ्कले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैङ्कको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैङ्किङ ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाइ अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैङ्कले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment