Comments Add Comment

वागमती प्रदेशका मुख्यमन्त्रीले गरे दासढुंगा अवलोकन

२४ वैशाख, चितवन । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको रहस्यमयी जीप दुर्घटनामा मृत्यु भएको स्थान दासढुंगाको वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले दासढुंगा क्षेत्रलाई राजनीतिक तीर्थस्थलको रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे जिल्लाका सरोकारवालासँगै छलफल र स्थलगत अनुगमन गरेका हुन् ।

भण्डारी र आश्रितको मृत्यु भएको झण्डै २७ वर्ष पुग्नै लाग्दासमेत यो क्षेत्रको विकासमा खासै ध्यान नदिएको भनेर सरकारको आलोचना हुने गर्छ । तर, मुख्यमन्त्री पौडेलले भने प्रदेश सरकारले दासढुंगाको विकासलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री पौडेलले दासढुंगा क्षेत्रमा उपलब्ध हुन सक्ने जमिनलाई एकीकृत गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने बताए । धेरैजसो जमिन खरिद गरिसकिएको छ भने थप केही जमिन लिएर एकीकृत योजना बनाउने लक्ष्य छ । मदन भण्डारी फाउन्डेसनसँग एक विघा १२ कठ्ठा जग्गा छ । केही ऐलानी र केही व्यक्तिको जग्गा गरी १२ बिघामा एकीकृत योजना बनाएर काम अघि बढाउने योजना बनाइएको छ ।

फाउन्सडेसनको पहलमा दासढुंगा-नारायणी एकीकृत विकास परियोजनाको अवधारणा अगाडि सारिएको छ । सो अवधारणाअनुसार दासढुंगा, समग्र नारायणी नदीको किनार, गाँदीपुर हुँदै गोलाघाटसम्म विकास पूर्वाधारको काम गर्ने योजना छ ।

फाउण्डेसन चितवनको संयोजनमा प्रदेश सरकारले यसअघि नै सो क्षेत्रको विकासको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । ती योजनालाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र सोहीअनुसार विकास गर्दै जाने योजना छ ।

दासढुंगामा राष्ट्रियस्तरको पार्क, सभाहल, तालिमहल, संग्रहालयलगायतका पूर्वाधार बनाइने छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले सभाहल, शौचालय र कार्यालयका लागि ५० लाख रकम विनियोजन गरेको छ । सो रकमबाट पूर्वाधार बनाउने तयारी गरिए पनि लकडाउनको समस्याले काम अघि बढाउन नसकिएको प्रदेश सांसद विजय सुवेदीले जानकारी दिए ।

दासढुंगाको अवलोकनमा मुख्यमन्त्री पौडेलसँगै वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सभा सदस्यहरू दीपक निरौला, विजय सुवेदी, कृष्ण भुर्तेल, फाउन्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदीलगायत थिए ।

यो पनि पढ्नुहोस दासढुंगामा अलपत्र मदन–आश्रित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment