Comments Add Comment

अमेरिकामा रहेकी नन्दिता भन्छिन्– ‘दिनमै ४०–५० पटक हात धुन्छु’

कोरोनाको संक्रमण विश्वभर छ । विश्वभर रहेका नेपालीहरुलाई यसले विभिन्न कोणबाट प्रभावित बनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभाव विश्वै शक्तिशाली देश अमेरिकालाई परेको छ । अमेरिकामा कोरोनाका कारण मृत्युको हुनेको संख्या ७० हजार नाघिसकेको छ ।

अमेरिकामा धेरै नेपाली कलाकारहरु बसोबास गर्छन् । कोरोनाका कारण अमेरिकामा रहेका नेपाली कलाकारहरु पनि प्रभावित भएका छन् ।

नायिका नन्दिता केसी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्न थालेको करिब ५ वर्ष भयो । चीन र यूरोपमा कोरोना संक्रमित बढिरहँदा नन्दिता नेपाल आएकी थिइन् । नेपाल करिब ५ महिना बसेर अमेरिका फर्किदा अमेरिकामा एक जना पनि संक्रमित देखिएका थिएनन । तर, अहिले अमेरिका कोरोनाको चपेटामा छ ।

अमेरिकाको न्यूयोर्कमा रहेकी नायिका नन्दिता केसीसँग हामीले कोरोनाको संक्रमण र यसले उत्पन्न गरेको समस्याको बिषयमा कुराकानी गरेका छौँ । नन्दितासँगको कुराकानी उनकै शब्दमा प्रस्तुत गरिएको छः

म अहिले न्यूयोर्कमा छु । यहाँ निकै नै डर लाग्दो अवस्था छ । यस्तो समयमा घरबाट बाहिर निस्कन सक्ने अवस्था नै छैन । तर, खानेकुरा किन्नका लागि कहिलेकाही घरबाट बाहिर सावधानी अपनाएर निस्कन्छु । तर, पहिलेको जसरी खुल्लम खुल्ला हिड्न नपाएको २ महिना भयो ।

यहाँ लकडाउनलाई वाध्यकारी बनाइएको छैन । तर, पनि यस्तो अवस्था बाहिर निस्कने सक्ने अवस्था भने छैन । बाहिर निस्कदा मास्क, पञ्जा लगाएर, सामाजिक दुरी कायम गरेर निस्कने गर्छु । तर, पनि मनमा भने डर त हुने नै रहेछ । कुनै सामान छुदा पनि डर लाग्छ । घरमै पनि म कुनै सामान छुने वित्तिकै हात धुन्छु । दिनमा ४०-५० पटक हात धुन्छु होला म ।

घरमै बस्दा घरको काम गर्ने, चलचित्र हेर्ने गरेर नै दिन बितिरहेको छ । घरबाट बाहिर निस्किएपछि मनमा पलाएको डर घर आएपछि पनि रहिरहन्छ । रुघा, खोकी लाग्यो भने पनि कोरोना नै भयो कि भन्ने सोच त आउने रहेछ । त्यसैले, वेसार र अदुवा पानी म निकै नै पिउँछु ।

अहिले कोरोनाका कारण हामीले काम गर्न त पाएका छैनौँ । तर, आर्थिक समस्या भने परेको छैन । विशेषगरि, यहाँको कार्ड नभएका, विद्यार्थीहरुलाई केही समस्या भएको सुनेको छु । तर, अमेरिकामा रहेका नेपालीहरुले उनीहरुलाई सहयोग गरिरहनुभएको छ ।

लकडाउनका कारण मैले मिस गरेको कुरा जीम र हाइकिङ हो । म धेरै जीम जाने मानिस हुँ । हाइकिङ पनि म गैरहेको हुन्थेँ । खानेकुरा भने त्यस्तो केही पनि मिस गरेकी छैन । किनकी, यहाँ खानेकुराको अभाव छैन ।

मैले थाहा पाएसम्म यहाँ बस्ने नेपाली कलाकारहरु पनि कोही पनि समस्यामा हुनुहुन्न । कोरोनाको कारण केही समय त विश्वलाई नै संकट छ । यो हामीलाई पनि परेको छ । सुरुवातका दिनमा त खुबै डर लागेको थियो । तर, अहिले बिस्तारै डर कम हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment