Comments Add Comment

ट्रम्पले भने– कोरोना संक्रमण हालसम्मकै नराम्रो हमला, तर राष्ट्रपतिको चुनाव रोकिँदैन

२५ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् ।

उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे ।

पत्रकारहरुसँग कुरा गर्दै उनले समयमै कोरोना संक्रमण रोकथामका लागि चीनले कदम नचालेकोले विश्वभर महामारी फैलिएको बताए ।

चीनको आलोचना गर्दै उनले भने, ‘हामी चीनसँग खुसी छैनौं । हाम्रो पूरै परिस्थिति खुसी छैन । किनभने यसलाई त्यहीँ रोक्न सकिन्थ्यो, जहाँबाट सुरु भएको थियो ।’

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए ।
चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो ।’

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १२ लाख २७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment