Comments Add Comment

सिमेन्ट उद्योगले आंशिक मात्रै उत्पादन गर्ने, खानी पनि चलाउने

२५ वैशाख, काठमाडौं । सिमेन्ट उद्योगहरुले आंशिक रुपमा मात्रै सञ्चालन आउन भएका छन् । सरकारको खोल्न दिने निर्णयपछि सिमेन्ट उत्पादन संघले आंशिक रुपमा उद्योग खोल्न तयारी सुरु भएको बताएको छ । बजार र श्रमिकको अभावका कारण पूर्ण क्षमतामा उद्योग चलाउन सम्भव नभएको उद्योगहरुको तर्क छ ।

डेढ महिनादेखि बन्द उद्योग कसरी सञ्चालन गर्ने भन्नेबारे तयारीमा उद्योगीहरु जुटेको संघका अध्यक्ष ध्रुवराज थापाले बताए ।

‘हामीले खानी मात्रै सञ्चालनको अनुमति मागेका थियौँ, तर उद्योग पनि चलाउन अनुमति दिईएको छ, अब तयारी थाल्छौं,’ अध्यक्ष थापाले भने । सरकारले सुरक्षाको तयारीसहित उद्योग खोल्न दिने गरी गरेको निर्णय स्वगतयोग्य भए पनि सञ्चालनको काम चुनौतीपूर्ण रहेको उनले बताए ।

सरकारको निर्णयपछि सिमेन्ट उद्योगले तत्काल खानीमा काम सुरु गर्ने उद्योगी पशुपति मुरारकाले बताए ।

‘उद्योग चल्नका लागि खानीमा काम गर्न पाउनुपर्छ, सरकारसँग हाम्रो माग पनि यही थियो, सम्भवतः भोलिदेखि नै खानीमा काम सुरु गर्न उद्योगीले तयारी थाल्नेछन्’ उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका मुरारकाले भने ।

केन्द्र सरकारले निर्णय गरे पनि उद्योग पूर्ण क्षमतामा चल्नका लागि बजार, स्थानीय तह, प्रशासन र स्थानीयबासीको भूमिकामा धेरै कुरा निर्भर हुने उनले बताए । उद्योग खोल्ने तर, बजार नखोल्ने दोधारे निर्णय आएकाले केही अन्योल भएको मुरारकाको भनाइ छ ।

उद्योग सञ्चालनका शर्तहरुका कारण सबै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन भने कठीन हुने मुरारकाको भनाइ छ ।

लामो समयको लकडाउनका कारण श्रमिकहरु आ-आफ्नो घर पुगेको तथा आवाजावत हुने अबरोध रहेकाले तत्कालै सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन सुरु गर्न असम्भव बनेको छ ।

लकडाउनका छैटौँ हप्तामासम्म पुग्दा दैनिक ६० करोडको दरले २५ अर्बभन्दा बढी कारोबार सिमेन्ट उद्योगले गुमाएको बताइन्छ । देशभर ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

नेपालमा दैनिक १६ मिलयन टन सिमेन्ट उत्पादन हुन्छ । सबै सिमेन्ट उद्योगमा गरेर १६ हजार भन्दा बढी प्रत्यक्ष मजदुर कार्यरत रहेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment