Comments Add Comment

माननीयज्यूलाई वडाध्यक्षको खुल्ला पत्र

आज देश करिब ५० दिनदेखि कोरोना भाइरस संक्रमणको कारण त्रसित र ग्रसित छ । विश्व अर्थतन्त्र धराशायी हुँदै गइरहेको छ । त्यसको ठूलो मूल्य देशले चुकाउँदैछ ।

गरिबीले, भोकले, रोगले देशको अर्थतन्त्र चौपट बन्दैछ । कलकारखानाहरू बन्द छन् । रोजगारी खोसिँदैछ, अर्थतन्त्रको प्रमुख आधारस्तम्भ सखाप हुँदैछ । मानौं धरहरा ढलेझैं देशको अर्थतन्त्र ढल्दैछ । भूकम्पमा धरहरा ढल्दा, घरहरू भत्किँदा कुनै दल विशेषका मानिस मात्रको मृत्यु भयो । कति युवायुवतीहरू एकअर्काको आलिङ्गनमा नै आफ्नो ज्यान त्याग्न बाध्य भए । कति जना खाँदा-खाँदैको गाँस निल्न नभ्याउँदै यो संसारबाट बिदा लिन बाध्य भए । निर्दोष र अबोध बालकहरूले त्यसै ज्यान गुमाए, कतिपयले यस धर्तीमा पाइला पनि टेक्न नपाई गर्भमै ज्यान गुमाउनु पर्‍यो।

त्यो त्रासदीपूर्ण अवस्थामा पनि माननीयज्यूहरुप्रति जनताको थुप्रै गुनासा थिए । सरकारले बनाएको मापदण्ड प्रष्ट थिएन, स्थानीय तहको निर्वाचन नभएको बेलामा केन्द्र सरकारले नै राहत बाँड्दा पाँचतले घर हुनेले पनि सहुलिएत ऋण पाए । कति सम्पन्नहरूले समेत राज्यले दिएको अनेक सुविधा लिन भ्याए । तर, आज पनि वास्तविक पीडितले रकम पाउन सकेका छन्-छैनन् भन्ने कुराको ख्याल छ ? डा. जोडिएका र नजोडिएका माननीयज्यूहरू ? कति घर बने, कति बन्न बाँकी छ । कतिलाई त्यो रकम नपुगेर त कतिले जग्गा नभएर पनि घर बनाउन नसक्नेहरूको विवरण छ माननीयज्यूहरूसँग ?

यो संसद भवनभित्र कोही हुनुहुन्छ यस्तो विवरण बोकेको मान्छे ? कोही पनि हुनुहुन्छ भने २४ घण्टाभित्र आफ्नो निर्वाचन क्षेत्रभित्रको यस्तो विवरण पेश गर्न सक्ने क्षमता भएकाहरू । म चुनौती दिन सक्छु यस्तो विवरण राख्ने कोही पनि माननीयज्यूहरू हुनुहुन्न ।

आज फेरि देश यसरी बर्बाद हुन गइरहेको छ । यसले पक्ष–प्रतिपक्ष कोही भन्ने छैन । देश बर्बाद हुँदा हामी सबै बर्बाद हुन्छौ भन्नेसम्मको हेक्का छ तपाईंहरूलाई ?

  • याद छ त चिल्ला गाडीहरूको ।
  • याद छ त हिजो भोगेको प्रम, उप-प्रधानमन्त्री, मन्त्री अनि बिलासी भ्रमणको ।
  • माननीयज्यू तपाईं विदेश भ्रमण नगएको सायदै हुनुहुन्न होला ।
  • भ्रमण गरी फर्किँदा देशलाई त्यसैगरी अगाडि बढाउने भिजनको बारेमा प्रत्येक समुदायदेखि संसद भवनसम्म काहीँ कतै छलफल चलाउनु भएको छ ?

आज कष्टकर जीवन बिताइरहेका जनताको बारेमा देशको अर्थतन्त्र मजबुत, समृद्ध बनाउन, लकडाउन प्रभावकारी बनाउन सांसद र संसद भवनको बैठकको बारेमा एकमात्र बजेट अधिवेशनलाई सदुपयोग गर्नुपर्नेमा माननीय डा. सा’वहरूको पहिलो शब्द राजीनामा अनि अन्तिम शब्द पनि राजीनामा ? वाह ! डा. सा’वहरू वाह !

कस्ता अधिवेशनमा कुन एजेन्डामा छलफल गर्ने, प्राथमिकता प्राप्त विषय कुन हो ? आवश्यकता कुन हो ? केही ख्याल छ माननियज्यूहरू ? विषय केन्द्रित भएर छलफल गर्नुपर्नेमा त्यस्तो हुन सकेको देखिएन प्रधानमन्त्रीकोको राजीनामा भनेर विषयवस्तु जोड्नुसम्म त जायजै होला । तर, यो संकटको बेला बजेट अधिवेशनमा आ-आफ्नो दलको तर्फबाट जनताका आवश्यकता देशको आवश्यकताका विषयमा प्रवेश नै नगरी, अर्थतन्त्रमा आएको समस्याको कुनै उपाय र सुझाव नै नसमेटी हरेक शब्दमा राजीनामा मात्र आउनु भनेको काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भएन र ? संसद भवनको गरिमालाई ख्याल राख्नुहोस् । त्यहाँ प्रवेश गर्दा देशको नाममा खाएको सपथ सम्झनुहोस् ।

संसद भवन भनेको रमाइलो गर्ने, मजाक गर्ने, हल होइन यो कुनै नाचघर हैन, एकेडेमी हैन त्यहाँ प्रवेश गर्दा सांसद र संसद भवनको गरिमालाई ख्याल गर्नूस, माननीयज्यूहरू । त्यहाँ तपाईंको कला प्रस्तुत गर्ने, निजी जीवनका अनुभव सुनाउने र निजी स्वार्थका विषयमा छलफल गर्ने होइन । त्यहाँ त जनताहरूका आवश्यकताका बारेमा, देशको आवश्यकताको बारेमा छलफल गर्ने साझा स्थलको रुपमा प्रयोग गर्नुहोस् । तपाईंहरूले बोलेका प्रत्येक शब्द र खर्च गरेको प्रत्येक सेकेण्ड जनताको सम्पत्ति हो र हुन सकोस्। माननीयज्यू, तपाईंहरूले प्रधानमन्त्रीको राजीनामा माग्नु अगाडि अविश्वासको प्रस्ताव दर्ता नगरी छलफल गर्न मिल्छ ? आँट र हिम्मत छ भने सबैभन्दा पहिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुभए हुन्छ। अन्यथा विषयवस्तुमा र आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरी छलफललाई केन्द्रित गर्नुहोस् । तपाईंले सम्बोधन गर्नुपर्ने विषयहरू अथाह छन् :

  • गाउँमा चल्ने सानो चिया पसलदेखि ठूला-ठूला व्यापारीसम्मका गतिविधिका बारेमा ।
  • स-साना बस्तीदेखि अपार्टमेन्टमा बसोबास गर्ने व्यक्तिका गतिविधिका बारेमा ।
  • सामाजिक सुधारसम्बन्धी ऐन-कानुन र यसका व्यवहारिक प्रयोग सम्बन्धमा।
  • देशमा निर्माण क्रममा हुने ढिलासुस्ती र अस्तव्यस्तताका बारेमा ।
  • राष्ट्रिय गौरवका आयोजनाका बारेमा ।
  • कृषि अर्थतन्त्र मजबुत बनाउन सरकारले चाल्ने कदम र लिइने नीतिका बारेमा ।

यति मात्र होइन सारा विषय छन् जो लेख्न सम्भव छैन । त्यस्तो महत्वपूर्ण विषय बोक्नुपर्ने माननीयज्यूहरूको गरिमा पनि कति ठूलो छ भन्ने कुरा भनि साध्य नै छैन । तर, एउटा निरीह व्यक्ति जस्तो वा सामान्य व्यक्तिसरह सामान्य व्यक्ति मात्र होइन तपाईंहरू ।

तीन करोड नेपालीको भाग्य र भविष्य निर्माण गर्ने ठाँउमा हुनुहुन्छ तपाईं । तर, ख्याल र ठट्टामा नसोच्नुहोस् । आफ्नो भूमिकालाई अहं बनाउनुहोस् । आज कोरोना(भाइरसका कारण अस्तब्यस्त हुँदा तपाईंको राज्यले दिएको जिम्मेवारी र हाल तपाईंको भूमिकाको बारेमा मूल्यांकन गर्नुहोस्, देशी विदेशीहरूको गोटी मात्र नबन्नुहोस्।

माननीयज्यूहरू तपाईं कति घण्टा सुत्नुहुन्छ, कहाँ-कहाँ जानुहुन्छ, के-के खानुहुन्छ ? जन्मदेखि मृत्युपर्यन्त गरिने सबै संस्कारमा तपाईं आफ्नो भूमिकालाई कसरी निर्वाह गरिरहनु भएको छ ? तपाईंले प्रयोग गर्ने जुत्तादेखि टोपीसम्म, पानीको बोतलदेखि ह्विस्कीको बोतलसम्मका बारेमा अब जनताले जान्न जरुरी छ ।

अब सांसदलाई सुविधा मात्र हैन जनताले प्रयोग गर्ने साइकलदेखि जनप्रतिनिधिले प्रयोग गर्ने गाडीसम्म, कर्मचारीले चढ्ने मोटरसाइकलदेखि करोडौं पर्ने गाडीसम्मका मापदण्ड र कार्यविधिसम्म तपाईं सांसदलाई ख्याल छैन ।

जनता परिवर्तनका संवाहक हुन् । ख्याल गर्नुहोस् तपाईंलाई सार्वजनिक सरोकारका विषयमा नबोली बस्ने हक छ ? इमान, नीति, संस्कार, मान्यताभन्दा बढी बोल्ने हक छ ?

̎माननीयज्यूहरू सावधान !

(गजुरेल कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment