Comments Add Comment

रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका थिए सप्तरीका संक्रमित युवक

२९ वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित १८ वर्षका युवक स्वाब संकलन पश्चात क्वारेन्टाइनबाट घर गएको पाइएको छ । २५ गते स्वाब संकलन गरिएपछि उनी डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित कन्त चन्द्र माविको क्वारेन्टाइनबाट आइतबार घर गएको पाइएको हो ।

लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका – ३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । चितवनबाट आएका उनलाई १९ दिनसम्म क्वारेन्टाइनमा राखिएको र कोरोनासम्बन्धी लक्षण नदेखिएपछि घर पठाइएको वडा अध्यक्ष प्रदीप साहले बताए ।

‘उनको स्वाब लिएर परीक्षणका लागि पठाएलगत्तै उनीसहितका युवालाई घर पठाइएको थियो’ अध्यक्ष साहले भने, ‘क्वारेन्टाइनमा १९ दिन भन्दा बढी राख्न नमिल्ने भएकाले घर पठाइएको थियो ।’

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले पनि रिपोर्ट नआउँदै घर पठाइएको बताए । उनले रिपोर्ट नआएकै अवस्थामा घर पठाइएपछि कति जनासँग भेटघाट भयो भन्ने कुराको जानकारी लिने काम भइरहेको बताए ।

उनी घर गएपछि परिवारसँग बसेका थिए । तर उनको स्वाब पोजेटिभ देखिएपछि उनी घरमा फेला परेनन् । वडा अध्यक्ष साहले पोजेटिभ आएको सूचना पाएलगत्तै उनको खोजी गर्दा उनी घरमा फेला नपरेका हुन् । उनको खोजी पश्चात उनलाई पातो बजारमा हजुर आमासँग रहेको अवस्थामा फेला पारिएको वडा अध्यक्ष साहले बताए ।

उनीसहित उनका हजुरबुवा र हजुरआमा तथा आमा समेतलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी गरिएको बताए । उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिनेछ । यसबाहेक उनका परिवार र दुई दिनमा भेटघाट गरेका व्यक्तिको ट्रेसिङ गरिने वडा अध्यक्ष साहले बताए ।

यो पनि पढ्नुहोस चितवनबाट पैदल सप्तरी पुगेका थिए संक्रमित युवक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment