Comments Add Comment

कोरोना भाइरसका केही फरक लक्षणहरू

कोरोना भाइरसको संक्रमण भएपछि कस्तो लक्षण देखिन्छ ? सुरुवाती क्षण अर्थात् चीनको वुहानमा यसको संक्रमित बढ्दै जाँदा प्राय: एकै किसिमको लक्षण देखिएको थियो । जस्तो कि रुघा लाग्ने, खोकी लाग्ने, उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने ।

तर, जतिजति यो भाइरस फैलिँदै गयो, यसको लक्षणमा पनि एकरुपता देखिएन। कोरोना संक्रमितहरूको भनाइअनुसार उनीहरूमा बेग्लाबेग्लै किसिमको लक्षण देखिएको थियो । कसैलाई जोर्नी तथा शरीर दुख्ने, कसैलाई उच्च ज्वरो । कतिपयलाई भने कुनैपनि लक्षण नै देखिएन । जस्तो हामीकहाँ पनि धेरैजसो संक्रमितमा कुनै लक्षण देखिएको छैन ।

बेलायतमा कोरोना भाइसरका बिरामीहरूमा भिन्न लक्षण देखिएका थिए । बिरामीहरूले आफ्नो शरीरको तापमान अत्यधिक भएको महसुस गर्न थालेका थिए । कतिसम्म भने उनीहरूले आफ्नो छाती तथा ढाडमा हात राख्दा अत्यधिक तातो महसुस हुन थालेको थियो ।

कोभिड-१९ अहिले पनि विश्वकै लागि एउटा नयाँ समस्या हो । त्यसैले विश्वभरका चिकित्सा विशेषज्ञहरूले यसका बारेमा नयाँनयाँ जानकारी संकलन गरिरहेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को रिपोर्टअनुसार यदि यो बिरामीको क्रममा कुनै पनि व्यक्तिको शरीरको तापमान १ सय दशमलव ४ (१००.४) डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेल्सियस हुन्छ ।साथै, खोकी र सास फेर्न पनि गाह्रो भइरहेको छ भने त्यस्ता व्यक्तिहरूले घरबाट बाहिर निस्कनै हुँदैन । साथै, अन्य मानिसहरूबाट करिब छ फिटको दुरीमा मात्र रहनुपर्छ ।

सबैभन्दा सामान्य लक्षण

कोरोना भाइरस-२ बाट ग्रसित व्यक्तिमा ज्वरो, थकान तथा सुख्खा खोकि लाग्नु सबैभन्दा सामान्य लक्षणहरू हुन् । यद्यपि, केही बिरामीहरूमा नाकबाट पानी बग्नु, घाँटीमा सुजन हुनु तथा दुख्नु, नाक बन्द हुनु अथवा नाकबाट सास फेर्न गाह्रो हुनु, शरीरमा सियोले घोचे जसरी पीडा हुनु तथा पखालाको समस्या पनि समावेश छन् ।

८० प्रतिशत घटना सामान्य

कोभिड–१९ बाट संक्रमितमध्ये धेरैजसो सामान्य देखिएका छन् । उनीहरूलाई सामान्य चिसो लागेको जस्तो मात्र अनुभव हुन्छ । उनीहरूलाई उपचारको खाँचो पनि पर्दैन। कतिपपय अवस्थामा त ती संक्रमितहरूलाई आफूमा कोरोना संक्रमण भएको थाहा पनि हुँदैन ।

जसलाई जोखिम छ

कोरोना संक्रमितमध्ये धेरैजसो निको भएर घर फर्केका छ । कतिपयले भने ज्यान नै गुमाउनु परेको छ । हरेक ६ मध्ये एक व्यक्तिमा कोरोनाको प्रभाव निकै नै गम्भीर स्तरसम्म पुग्छ । यो स्थिति खासगरी त्यस्ता बिरामीहरूमा देख्न सकिन्छ, जो पहिलादेखि नै कुनै गम्भीर बिरामीबाट पीडित छन् । जस्तो मुटुका बिरामी, उच्च रक्तचापका बिरामी, मधुमेहका बिरामी, दमका बिरामी, क्यान्सरका बिरामी आदि । बुढापाका र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरू यो रोगको शिकार भएका छन् ।

निको हुने सम्भावना रोग प्रतिरोधक क्षमतामा निर्भर

कोविड-१९ एउटा भाइरल निमोनिया भएकाले यसका बिरामीहरूलाई कुनै पनि प्रकारको एन्टिबायोटिक ट्याब्लेटले काम गर्दैन । फ्लुमा दिइने एन्टिभाइरल औषधिले पनि यो समस्या समाधान गर्न काम गर्दैन । अहिलेसम्म यो बिरामीको कुनै पनि खोप तयार भइसकेको छैन । यस्तो अवस्थामा यो रोगबाट छुटकारा पाउने कुरा बिरामीको रोग प्रतिरोधक क्षमतामा नै निर्भर गर्छ । संक्रमित भइसकेपछि लक्षणअनुसारको उपचार गरिन्छ । प्रतिरक्षा क्षमता बलियो बनाउने खानपान वा जीवनशैली अपनाउन लगाइन्छ ।

नेसनल हेल्थ सर्भिसको सल्लाह

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाह के छ भने जोसुकै व्यक्तिलाई माथि उल्लेखित लक्षणहरू देखा पर्‍यो भने ती व्यक्तिले कम्तीमा सात दिनसम्म घरभित्रै बस्नुपर्छ । त्यसक्रममा परिवारका सदस्यहरूसँग समेत ती व्यक्तिले एउटा दुरी बनाउनुपर्छ । यदि तपाईं परिवारसँग बसिरहनु भएको छ भने तपाईंले कम्तीमा १४ दिनसम्म घर भित्रै बस्नुपर्छ ।

यस्तो अवस्थामा स्वास्थ्य सहायता

यदि तपाईंको शरीरमा बिरामीको लक्षण ७ दिनपछि नै देखा पर्‍यो भने पनि तपाईंले तत्काल स्वास्थ्य सहायता लिनुपर्छ । कोभिड-१९ बाट ग्रसित बिरामीहरूमध्ये मृत्यु हुने मानिसहरूको संख्या जवान व्यक्तिहरूमा एक प्रतिशतभन्दा पनि कम हुन्छ । जबकि वृद्ध-वृद्धा अथवा अन्य बिरामीसँग जुधिरहेका व्यक्तिहरूमा यो संख्या तीन प्रतिशतभन्दा बढी छ ।

फ्लु र कोभिड–१९ बाट मुक्ति

सिजनल फ्लुमा बिरामीबाट मृत्यु हुने मानिसहरुको संख्या एक प्रतिशतभन्दा कम हुन्छ । त्यही पनि त्यस्ता मौसमी बिरामीहरूबाट हरेक वर्ष विश्वमा करिब चार लाख मानिसहरुको मृत्यु भइरहेको हुन्छ । मौसमी फ्लु तथा कोभिड-१९ मा एउटा ठूलो अन्तर के छ भने यो बिरामीको कुनै खोप बनेको छैन ।

तापक्रम नाप्ने बेलामा ध्यान दिने कुराहरू

यदि तपाईंले खाना खानु भएको छ। कुनै पेय पदार्थ पिउनु भएको छ, नृत्य, व्यायाम गर्नुभएको छ भने ती गतिविधिहरू गरेको कम्तीमा आधा घण्टापछि नै आफ्नो शरीरको तापमान परीक्षण गर्नुहोला । यदि तपाईं पारासिटामोल, आईब्रुफिन, एस्पिरिनजस्ता कुनै औषधि सेवन गरिरहनु भएको छ भने तपाईंले ती औषधि सेवन गरेको छ घण्टापछि शरीरको तापमान परीक्षण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment