Comments Add Comment

अफ्रिदीले मोदीको आलोचना गर्दा भारतीय क्रिकेटर आक्रोशित

६ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीमाथि अहिले भारतका केही क्रिकेटरहरू खनिएका छन्। अफ्रिदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा गरेको नकारात्मक टिप्पणीलाई लिएर उनीहरू भड्किएका हुन् ।

अफ्रिदी हालै सामाजिक कामको सिलसिलामा पाकिस्तान नियन्त्रित काश्मीर गएका थिए । त्यहाँ उनले कश्मीरी जनताका बीच सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीको चर्को आलोचना गरेका थिए । त्यसको भिडियो बाहिर आएपछि भारतमा भाइरल भइरहेको छ ।

अफ्रिदीले भनेका छन्, ‘अहिलेको समयमा संसारभर ठूलो रोग फैलिइरहेको छ । तर, योभन्दा ठूलो रोग मोदीको मन र मस्तिष्कमा छ । त्यो रोग धर्मको रोग हो । उनी धर्मलाई समातेर राजनीति गरिरहेका छन् । यहाँभन्दा दुई किलोमिटर टाढा हाम्रा काश्मिरी दाजुभाइ, दिदीबहिनी तथा बुवाआमामाथि लामो समयदेखि उनी अत्याचार गरिरहेका छन् ।’

अफ्रिदी अगाडि भन्छन्, ‘मोदी आफूलाई निकै साहसिक मान्छे देखाउन खोज्छन्। तर, वास्तविकतामा डरपोक छन्। यति सानो कश्मीरभित्र उनले सात लाखको फौज खडा गरेका छन् । जबकि हाम्रो सिङ्गै पाकिस्तानको फौज सात लाख छ। तर, मोदीलाई यो थाहा छैन कि हाम्रा सात लाख फौजका पछाडि २३/२३ करोडको फौज खडा छ । हामी सबै हाम्रो सुरक्षा फौजको साथमा छौं र म आफ्नो फौजलाई सलाम गर्छु ।’

अफ्रिदीको यो अभिव्यक्ति सार्वजनिक भएपछि सबैभन्दा अगाडि प्रतिवाद गर्न तम्सिए गौतम गम्भीर । गौतम र अफ्रिदीबीच पुरानै दुश्मनी छ ।

गम्भीरले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानका सात लाख फौजलाई २० करोडको समर्थन छ । यसो भन्छन्– १६ वर्षका मानिस शाहिद अफ्रिदी । तर, ७० वर्षदेखि पाकिस्तान काश्मीरका लागि भिख मागिरहेको छ । अफ्रिदी, इमरानजस्ता जोकरहरूले पाकिस्तानी जनतालाई मूर्ख बनाउन सक्छन् । तर, काश्मीर प्राप्त गर्न सक्दैनन् । बंगलादेशलाई सम्झेका छौं ?’

यसैगरी, अर्का भारतीय क्रिकेटर शिखर धवनले लेखेका छन् । ‘यतिबेला सिङ्गो विश्व कोरोनासँग लडिरहेको छ, तिमीलाई चाहिँ काश्मीरको चिन्ता ? काश्मीर हाम्रो थियो, हाम्रो हो र हाम्रै रहन्छ । चाहे २२ करोड लिएर आओ, हाम्रो एक लाख बराबर हुन्न । बाँकी गन्ती आफैँ गर्नु ।’

अफ्रिदीको भिडियो भाइरल भएपछि भारतमा युवराज सिंह र हरभजन सिंहमाथि निशाना साँधिएको थियो । यी दुईले अफ्रिदीको एउटा च्यारिटी संस्थालाई सन्देशमूलक भिडियो पठाएका थिए । भारतविरोधीलाई सहयोग गरेको भनेर फ्यानहरूले उनीहरूलाई प्रश्न उठाए । त्यसपछि दुवैले जवाफ दिएका छन् ।

हरभजनले भनेका छन्, ‘मैले उनको संस्थालाई कुनै आर्थिक सहयोग गरेको छैन । उनले सेवामूलक कार्यलाई भिडियो पठाइदिन आग्रह गरेपछि मानवीयताको नाताले पठाएको हुँ । अब उनीसँग मेरो सम्बन्ध टुट्यो ।’

यसैगरी युवराज सिंहले ट्विटरमा लेखेका छन्, ‘अफ्रिदीले हाम्रो प्रधानमन्त्रीलाई लिएको टिप्पणीबाट निराश छु । मैले तिम्रो आग्रहमा मानवीयताको नाताले सहयोग गरेको थिएँ । अब गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment