Comments Add Comment

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको च्यामासिंह सिल

प्रत्येक घरमा परीक्षण तयारी

१० जेठ, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी बस्ने बस्ती सिल गरिएको छ ।

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब संकलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

संक्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।

विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहेकी संक्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना संक्रमित भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि मुटुको शल्यक्रिया गरिसकेको उनको स्वास्थ्य परीक्षणका लागि पटकपटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । संक्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर आजै स्वाब संकलनको तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।

जनप्रतिनिधिमा नै कोरोना भाइरस सङ्क्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासँग यसबारेमा छलफल भइरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment