Comments Add Comment

सीपीङ कम्पनीले लिने डिटेन्सन शुल्क छुट गरिदिन माग

१० जेठ, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले वस्तुको कन्टेनरमा सीपीङ कम्पनीले लिने डिटेन्सन शुल्क छुटको पहल गरिदिन सरकारसँग आग्रह गरेको छ ।

संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभरको डिटेन्सन शुल्क छुटका लागि आवश्यक पहल गरिदिन सरकारसँग आग्रह गरेको हो ।

लकडाउनको समयमा वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा करिब ४ हजार कन्टेनर थन्किएर बस्दा प्रति कन्टेनरको हरेक दिन १२ हजारदेखि १५ हजार रुपैयाँसम्म डिटेन्सन शुल्क तिर्नुपर्ने भन्दै संघले छुटका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको हो ।

सबै सीपीङ कम्पनीले डिटेन्सन शुल्क माग गर्न थालेको भन्दै संघले यसबाट नेपालको अर्बौं रुपैयाँ सीपीङ कम्पनीले असुल गर्ने देखिएको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘भारतीय पोर्टमार्फत भारतमा आयात हुने मालवस्तुको कन्टेनरको डिटेन्सन शुल्क लकडाउन अवधिभरका लागि छुट गराएको छ । तर नेपालमा आयात हुने मालवस्तुको कन्टेनरको हकमा सबै सीपीङ कम्पनीले कन्टेनरमा लाग्ने डिटेन्सन शुल्क छुट दिएको छैन । त्यसैले छुटका लागि सरकारले पहल गरिदिन अनुरोध गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालमा आयात भएका मालवस्तुको कन्टेनरको कागजातहरु समयमा प्राप्त हुन नसक्दा नेपाल खाद्य विभागबाट अनुमति पत्र उपलब्ध नहुने तथा सवारी साधन एवं बैङ्किङ सुविधा, जनशक्ति, आवतजावत अनुमति पत्र आदिको समस्याले गर्दा भन्सार जाँचपास हुन नसकी सुख्खा बन्दरगाह तथा वीरगञ्ज एकीकृत जाँच चौकीमा कन्टेनरहरु थन्किएर बसेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment