Comments Add Comment

लकडाउनमै नर्सिङ लाइसेन्स परीक्षा खुलेपछि विद्यार्थी तनावमा

१२ जेठ, काठमाडौं । लकडाउनका कारण विद्यार्थीहरु गाउँघर फर्किएको बेला नेपाल नर्सिङ परिषदले नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम खुलाएको छ ।

असार २० गते लाइसेन्स परीक्षाको मिति तोकेर असार १ गतेभित्र फारम भर्न परिषदले सूचना प्रकाशित गरेको छ ।

अनलाइन फारम भर्ने भनिए पनि सबै विद्यार्थी इन्टरनेट पहुँचमा नरहेको र धेरै विद्यार्थीले ट्रान्सक्रिप्ट प्रमाणपत्र लगायत आवश्यक कागजातसमेत संकलन गर्न नसक्ने भएकाले अहिले लाइसेन्स परीक्षाको फारम खुलाउनु अव्यवहारिक रहेको विद्यार्थीहरुले बताएका छन् । लकडाउनका बेला परीक्षा लिने निर्णयमाथिनै उनीहरुले प्रश्न उठाएका हुन् ।

काउन्सिलले यसअघि गत फागुनमा लिएको २४ औं लाइसेन्स परीक्षामा पास भएका नर्सहरुलाई दर्ता प्रमाणपत्र दिइसकेको छैन । तर लकडाउनकै बीचमा २५ औं लाइसेन्स परीक्षाको सूचना प्रकाशित गरेपछि प्रमाणपत्र तह र स्नातक पास गरेर बसेका विद्यार्थी तनावमा परेका छन् ।

आफूहरुले आग्रह गर्दा गर्दै पनि परिषदले लकडाउनको बेला लाइसेन्स परीक्षाको फारम खुलाउदा धेरै विद्यार्थी सहभागी हुनबाट बञ्चित बन्ने अवस्था रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज नर्सिङ क्याम्पसकी स्ववियु कोषाध्यक्ष ऋचा घिमिरेले बताइन् । गत चैतमा छुटेकाहरु यसपटक पनि छुट्ने भएकाले यो परीक्षा फारमनै स्थगित गर्नुपर्ने माग स्ववियुको छ ।

घिमिरले भनिन् ‘आवश्यक डकुमेन्ट कलेजबाट लिन पाएका छैनन्, भएका डकुमेन्ट पनि डेरामा छाडेर विद्यार्थी गाउँमा पुगेका छन् । सबै ठाउँमा अनलाइन फारम भर्ने सुविधा पनि छैन । त्यसैले हालको फारम स्थगित गरी सामान्य अवस्था भएपछि परीक्षा लिन हामीले आग्रह गरेका छौं । विद्यार्थीको भविष्यसँग जोडिएकाले उहाँहरु संवेदशील बन्नुपर्छ ।’

विद्यार्थीहरुको समस्याबारे आफूले काउन्सिल पदाधिकारीलाई अवगत गराएको नर्सिङ संघकी अध्यक्ष मना राईले बताइन् । आफू काउन्सिलको पदेन सदस्यमात्र भएकाले विद्यार्थीको समस्या अवगत गराए पनि परीक्षा रोक्ने ठाउँमा नरहेको उनको भनाइ छ । लकडाउन कायमै रहँदा परीक्षा रद्द हुने सम्भावना रहेको उनले बताएकी छन् ।

काउन्सिलले भने लकडाउन कायमै रहे परीक्षाको मिति हेरफेर हुने जनाएको छ । तर फारम भर्ने समय असार १ सम्ममात्र रहेकाले कागजागत जुटाउन नसक्ने र अनलाइन फर्म भर्ने पहुँचमा नरहेका विद्यार्थीको समस्या कसरी सम्बोधन गर्ने भन्नेबारे काउन्सिल बोलेको छैन ।

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकहरुको लाइसेन्स परीक्षा लकडाउनकै कारण रोकिएको छ भने एसईई परीक्षालगायत सबै परीक्षा रोकिएका बेला नर्सिङ लाइसेन्स परीक्षा लिन लागिएपछि विद्यार्थी तनावमा परेका छन् । उनीहरुले परिस्थिति सहज भएपछि परीक्षा लिन माग गरेका छन् ।

विद्यार्थीलाई मानसिक तनाव

लकडाउनको बेलासुबिधाको पहुचमा रहेका परिक्षार्थीलाई सहज हुने खालको फर्म खुलाइनु अन्य विद्यार्थीका लागि विभेदकारी रहेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । काउन्सिलले जारी गरेको सूचनामा परिक्षाको मिति हेरफेर हुने भनिए पनि फर्म नै भर्न नपाएका विद्यार्थीले परीक्षामा सामेल हुन नपाउने भएकाले त्यसको अर्थ नरहेको उनीहरु बताउँछन् ।

पटक पटक आग्रह गर्दा पनि काउन्सिलले पदाधिकारीले आफ्नो वार्षिक क्यालेन्डरलाई फलो गरेका नाममा फर्म स्थगित नगर्ने अडान लिएको छ । काउन्सिल पदाधिकारी विद्यार्थीको मर्काप्रति जिम्मेवार नबन्दा नर्सिङ पास गरेर बसेका तर लाइसेन्स लिन बाँकी विद्यार्थीहरु मानसिक तनावमा रहेको महाराजगञ्ज नर्सिङ क्याम्पसकी सभापति विमला धमलाले बताइन् ।

आफ्नो आग्रह काउन्सिलबाट सुनुवाई नभएपछि विद्यार्थीहरुले सरकार गुहारेका छन् । उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत यसबारेमा जानकारी गराएका छन् । लकडाउन खुलेपछि मात्र परीक्षाको फर्म खुलाउन विद्यार्थी संगठनहरुले पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment