Comments Add Comment

सैनामैनाले बाँड्यो ५० प्रतिशत अनुदानमा धानको बिउ

११ जेठ, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बिउ वितरण गरेको छ ।

नगरभित्रका कृषि सहकारी, कृषक समूह र कृषि र्फममार्फत धान खेती गर्ने किसानको तथ्याङ्क संकलन गरी विभिन्न जातका १९१ क्वीन्टल धानको बिउ अनुदानमा वितरण गरिएको हो ।

लकडाउनका कारण मारमा परेका किसानलाई राहत पुर्‍याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ११ वटै वडाका किसानलाई माग अनुसारको बिउ बाँडिएको सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सिर्जना सुवेदीले बताइन् ।

किसानलाई नगरपालिकाको कार्यालय, वडा कार्यालय र एग्रोभेटमार्फत बिउ वितरण गरिएको हो ।

लकडाउनका बेलामा आफ्नै वडामै सहुलियत दरमा बिउ पाएपछि राहतको अनुभूति भएको वडा नंं. ११ का किसान टंक रेग्मीले बताए ।

नगरभित्र ९ हजार १३९ हेक्टरमा धान खेती हुन्छ । नगरपालिकाले ५ सय ४७ हेक्टरलाई पुग्ने बिउ बाँडेको हो । नगरपालिकाले बाँडेको बिउबाट २६ मेट्रिक टन धान उत्पादन हुने लक्ष्य रहेको कृषि शाखा प्रमुख सिर्जना सुवेदीले जानकारी दिइन् ।

खेतीको समयमा किसानहरुलाई आवश्यक बीउ, मल किनमेलका लागि सैनामैनामा एग्रोभेट पसलहरु खुल्ला राख्न गर्न नगरपालिकाले निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यसैगरी यसअघि सैनामैनामा कृषि काममा प्रयोग हुने ट्रयाक्टरको भाडादरमा एकरुपता कायम गरिएको छ ।

नगरपालिका अन्तरगत गठित सैनामैना ट्रयाक्टर व्यवसायी समन्वय समिति र नगरपालिका बीच बसेको संयुक्त बैठकले भाडादर कायम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment