Comments Add Comment

प्रदेश २ मा चालु वर्षको भन्दा कम आकारको बजेट आउने

११ जेठ, जनकपुरधाम । प्रदेश २ को आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा भन्दा कम आकारको बजेट ल्याउने तयारी गरेको छ ।

‘अहिले लकडाउन लम्बिदैं गएको छ । आन्तरिक स्रोत पनि घटेको अवस्था छ र केन्द्रबाट पनि अनुदान कटौती हुने अवस्था भएकाले बजेट घटेर आउँछ’ मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले भने ।

मन्त्रालयले करिब डेढ महिना अगाडि नै चालू आबका लागि ४२ अर्बको बजेटको सिलि बनाएर मन्त्रालयहरुमा पठाइसकेको छ । ‘कोरोनाको त्यति प्रभाव नभएकै समयमा त्यो सिलिङ पठाइयो’ उनले अनलाइनखबरसँग भने, ‘तर अहिले लगातार लकडाउन बढ्दै गएको र कोरोना संक्रमण पनि बढ्दै गएको अवस्थामा बजेट चालू आर्थिक वर्षमा भन्दा पनि घट्न सक्छ ।’

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

चालू वर्षको बजेटमा आन्तरिक स्रोतबाट १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार र नेपाल सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट १६ अर्ब १७ करोड ७४ लाख रुपैयाँ राखिएको थियो । यस्तै गत आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ७ अर्ब ७० करोड ५० लाख ९२ हजार रुपैयाँ बजेटमा समावेश गरिएको थियो ।

यस पटक कोरोना महामारीका कारण कुनै आर्थिक गतिविधि नभएको, आन्तरिक राजस्व संकलन हुन नसकेका कारण बजेट घटेर आउने उनले बताए ।

बजेट कति आउँछ भन्ने सन्दर्भमा मन्त्रालयहरुसँग छलफल भइरहेको श्रेष्ठले बताए । उनले स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट निर्माण गर्नेबारेमा छलफल भइरहेको बताए । ‘बहुबर्षीय किसिमका योजनालाई फोकस गर्दै अरु सामान्य किसिमका कामहरुमा बजेट घटाउनेबारे हाम्रो छलफल भइरहेको छ’ उनले भने ।

तालिम, गोष्ठीको शीर्षक हटाउने तयारी

आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश २ सरकारले स्वास्थ्यमा सुधार, दरबन्दी थप, उपकरण खरिदलाई पहिलो प्राथमिकतामा राख्न लागेको छ । यसबाहेक लकडाउनको समयमा विपन्नका लागि राहत र वैदेशिक रोजगारीबाट फर्केर आउनेका लागि रोजगारी दिनेलाई पनि प्राथमिकतामा राखेको छ ।

बजेट घट्ने अवस्था देखिएपछि सबैभन्दा बढी बजेट जाने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौती गरिने भएको छ । ‘अघिल्लो वर्ष भौतिक पूर्वाधारमा धेरै बजेट जान्थ्यो’ सचिव श्रेष्ठले भने, ‘यसबाट नै बजेट घटाएर स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ ।’

सचिव श्रेष्ठले साधारण चालू खर्चसमेत घटाइने बताए । ‘यसबाहेक गाडी खरीद, भ्रमण, अनुगमन खर्च, अनुत्पादक किसिमको तालिम, गोष्ठी सबै कटौती गरिनेछ’ उनले भने ।

वैदेशिक रोजगारीबाट फर्केर आउनेलाई श्रममूलक, उत्पादनशील काममा लगाउने गरी बजेट विनियोजन हुने उनले बताए । ‘जनशक्तिलाई उपयोग गर्दै सामाजिक पूँजी निर्माण गर्ने कामका लागि पनि बजेट विनियोजन हुन्छ’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment