Comments Add Comment

भारतले रोक्यो नेपालबाट निर्यात हुने चिया

११ जेठ, काठमाडौं । नेपालबाट भारतमा हुने चिया निर्यातमा भारतले अनौपचारिक तवरले बन्देज लगाएको छ । औपचारिक निर्णयविनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ ।

नेपालको चिया आयातमा भारतले अनौपचारिक रुपमा बन्देज लगाएको चिया व्यवसायी उदय चापागाईंले अनलाइनखबरलाई बताए । ‘कुनै पत्राचार तथा घोषणाविनै भारतले नेपाली चिया निर्यातमा अवरोध गरेको हो,’ चापागाईंले भने ।

नेपालमा फैलिरहेको कोरोना भाइरसका कारण चिया आयात गर्न नसकिने भारतीय पक्षले जनाएको उनले बताए । भारतीय अवरोधका कारण यो सिजनको चियाको निकासी रोकिएको चापागाईंले बताए । वैशाख २८ गतेदेखि नेपालको चियाको आयात रोकिएको दार्जलिङको स्थानीय पत्रिका जनपथले जनाएको छ ।

चियामा अवरोधबारे आफूलाई औपचारिक जानकारी नभएको तर व्यवसायीबाट सुनेको मेची भन्सार कार्यालयका भन्सार प्रमुख ध्रुव विश्वकर्माले बताए । ‘नेपालबाट भारतर्फ मेचीनाका भएर सवारी जान पहिल्यैदेखि अवरोध थियो, व्यवसायीले विराटनगरबाट कारोबार गरेका थिए अहिले त्यो पनि रोकिएको सुनेँ,’ भन्सार प्रमुख विश्वकर्माले भने ।

चिया व्यवसायीहरूका अनुसार नेपालबाट वार्षिक चार अर्बको चिया निर्यात हुन्छ। भारत भएर तेस्रो मुलुक निर्यात हुने चियामा भने अवरोध छैन। यसैबीच चियाको अवरोध खुलाउन परराष्ट्र मन्त्रालयमार्फत उद्योग मन्त्रालयले पहल थालेको मन्त्रालय स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment