Comments Add Comment

दुई दाना आँपको मूल्य ४ लाख !

४ लाख रूपैयाँ खर्चिएर आँपका दाना किन्ने । त्यो पनि २ दाना । दुनियाँमा कुन मूर्खले गर्ला यस्तो काम ?

तर फलको राजा पनि भनिने आँप सधैं सस्तोमात्र कहाँ हुँदो रहेछ र ? जापानमा एउटा यस्तो जातको आँप छ, जसको मूल्य सय, हजारमा होइन, लाखमा गणना हुन्छ ।

ताइयो नो तामागो अर्थात् एग अफ द सन् भनिने उक्त आँप जापानको मियाजाकी प्रान्तमा फलाइन्छ ।

त्यहाँ हरेक वर्ष सबैभन्दा पहिले फलेको विशेष तथा महँगो आँप लिलाम बढाबढमा बिक्री गरिन्छ ।

निकै महँगो यो आँपको खेती जहाँतहीँ फल्दैन । अर्डर प्राप्त भइसकेपछि मात्र यो आँप फलाइन्छ ।

यो आँपको पाकेको गेडा आधा रातो र आधा पहेँलो हुन्छ । जापानमा यसलाई गर्मी र चिसोयामको बीचतिर तयार पारिन्छ ।
सन् २०१७ मा यो जातको दुई दाना आँप लिलाम भएको थियो । प्रतिदाना साढे ३ सय ग्रामतौल रहेकोमा दुईवटा दाना आँप ३७ सय अमेरिकी डलरभन्दा धेरै अर्थात् झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको रकममा बिक्री भएका थिए । सात सय ग्रामलाई ४ लाख भनिसकेपछि त्यो आँपको एक किलोको मूल्य कति पर्ला ? आफैं हिसाब गर्नुस् ।

आखिर यो आँप किन यतिधेरै महँगो छ त ? वास्तवमा यो आँपको विरुवा हुर्काउन र फलाउन निकै मिहिनेत लाग्दछ, कठिन छ । जापानी किसानले हरेक आँपका दानालाई एउटा सानो जालीले छोपेका हुन्छन् जसले सूर्यको प्रकाशलाई फलको सबै कोणको पत्रमा समान रूपले ताप प्रसार गर्न तथा फललाई तल खस्न नदिनका लागि लगाइएको हुन्छ । आँप बोटमै पाकिसकेपछि यो जालीमै खसेर अड्किन्छ । भुइँमा खस्न पाउँदैन । त्यसपछि जालीबाट निकालेर त्यसलाई बेचिन्छ ।

यो आँप निकै स्वादिलो तथा रसिलो हुन्छ । यो चकलेटजस्तै गुलियो हुनुका साथै स्वादमा पनि भुइँकटहर तथा नरिवलको मिश्रणजस्तो हुन्छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment