१९ जेठ, काठमाडौ । झण्डै साढे २ महिना भयो रोजीरोटीको स्रोत गुमेको । अनन्त भोक र असीम शोकलाई पिठ्युँमा राखेको भारीले थिचेर मुस्कुराउने श्रमिकहरूको लकडाउनसँगै मुस्कान हराएको छ ।
दिनभरि घुमेर गल्लीसँगै साइनो जोड्ने श्रमिकहरूलाई हिजो आज त्यो गल्लीले खान दिँदैन । बस् थकान मेट्न शरीर ढाक्ने जमिन दिएको छ । जसोतसो पेट पालेका श्रमिकहरू जेठको उष्णतालाई छिचोलेर मीठो सपना खोजीरहेका छन् ।
उनीहरु पत्रिका र सामान राख्ने कार्टुनको खोल ओच्छ्याएर सडकमै सुतिरहेका हुन्छन् ।
पक्कै पनि साँघुरो गल्लीभित्रै सपनाको संसारमा हराइरहेका यस्तै श्रमिकलाई देखेर नै भूपी शेरचनले लेखेका थिए होला :
देवताले बनाएका मानिस
र मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ ।
छिँडीमा फुलेको सपना
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असंख्य रोग छ,
अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।