Comments Add Comment

क्वारेन्टिन खाली गर्न आरडीटी टेष्ट गरेर घर पठाउने निर्णय

नारायण क्याम्पसका ३४ संक्रमितलाई बृद्धाश्रममा लागियो

२० जेठ, काठमाडौं । सामुदायिक र निजी विद्यालयका भवनहरु सकिए । धर्मशाला र पार्टी कार्यालयमा पनि प्रयोग भइसक्यो । वर्षा लागेका कारण पाल टाँगेर राख्ने अवस्था छैन । तर भारतबाट फर्किने नागरिकको संख्या बढ्दो छ ।

यो हो दैलेखको अवस्था ।

करिब तीन लाख जनसंख्या भएको जिल्लाका करिब ७० हजार मानिस रोजगारीका लागि भारत गएका थिए । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र लकडाउनका कारण समस्यामा परेपछि अहिलेसम्म करिव १० हजार घर फर्किएका छन् । र, यसरी घर फर्किनेको संख्या ४० हजार पुग्ने अनुमान छ ।

तर अब थप मानिसलाई क्वारेन्टिन गर्ने ठाउँ छैन । भएकै १० हजारलाई पनि राम्रोसँग राखिएको छैन । सामाजिक दुरी लगायतका स्वास्थ्य मापदण्ड त धेरै परेको कुरा, संक्रमण पुष्टि भएको दुई दिनसम्म पनि आइसोलेट गर्न सकिएको छैन ।

नारायण नगरपालिकास्थित नारायण क्याम्पसमा रहेका कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई दुई दिनसम्म अलग गरिएन । एक त १०५ जनाका लागि बनाइएको ठाउँमा २१२ जना राखिएको थियो । सामाजिक दुरी लगायतका मापदण्ड थिएन । मानिसहरुलाई र्फम ओठ्याएर लाइन नै सुतेका थिए, साझा शौचालय थियो । अव्यवस्थित बसाइ कारण पखाला लाग्ने लगायतका समस्या देखिन थालेको थियो । त्यसमाथि संक्रमितको संख्या ३४ पुग्दा पनि उनीहरुलाई अलग गरिएन । क्वारेन्टिन स्थल नै कोरोना संक्रमण सर्न अखडा जस्तो भएपछि सोमबार त्यहाँ राखिएकाहरुले विरोध गरे

यो पनि पढ्नुहोस दैलेखका क्वारेन्टिनमा सामाजिक दुरी एकादेशको कथा !

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर खत्री आफैं त्यहाँ पुगेर संक्रमितलाई छिट्टै अलग गर्छौं भन्दा पनि मानेनन् र क्वारेन्टिन स्थलबाट बाहिर निस्किए । ३४ जना कोरोना संक्रमितको पहिचान गरेर नजिकैको सरस्वती विद्धाश्रमको हलमा राखेपछि राति अबेर अवस्था केही सामान्य भएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काका अनुसार बृद्धाश्रममा जेष्ठ नागरिकहरु बस्दैनन् । दिउँसो जम्मा हुने र भजन कीर्तन गर्ने गरिएको थियो । उनले भने, ‘संक्रमितलाई अरुबाट छुटाउन त्यहा लागिएको हो ।’

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कँडेल भने कोरोना परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट समयमा नआउने मात्र होइन, नारयण क्याम्पमा भएका संक्रमितको पूर्ण विवरण नआउँदा पनि समस्या भएको बताउँछन् ।

अब आरडीटी टेष्ट गरेर घर पठाइने

सरकारको स्वास्थ्य मापदण्डअनुसार १४ दिन क्वारेन्टिन गर्ने र यो अवधिमा पीसीआर टेष्ट गर्नुपर्ने हो । तर एकातिर तर क्वारेन्टिन स्थलको अभाव चर्किन थालेको छ भने अर्कोतिर परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट समयमा आउँदैन ।

प्रजीअ कँडेलकाअनुसार ८५० जनाको स्वाब जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन र ७२५ स्वाब सुर्खेत पठाइएको छ । तर अझै सबैको रिपोर्ट आएको छैन । त्यसैले अब १० वा त्यसभन्दा बढी दिन क्वारेन्टिनमा बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरेर घर पठाइने निर्णय भएको छ ।

जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा छलफल गरेर केन्द्रमा आग्रह गरेको र त्यसअनुसार सहमति प्राप्त भएको प्रजीअ कँडेलले बताए । उनले भने, ‘१० दिनभन्दा बढी भएकालाई आरडीटी गरेर घर पठाउने भन्ने लिखित आदेश पायौं र त्यसअनुसार टेष्ट गरेर घर पठाउन थाल्यौं ।’

उनले भने, ‘पीसीआर टेष्ट गरेर मात्र पठाउने हो भने नयाँ मान्छेहरुलाई कहाँ राख्ने ? हामी थप्न सक्दैनौं,’ भएका क्वारेन्टिनमा मापदण्ड पूरा गर्न नसकेका कारण रोगको घर बन्नसक्छ भन्ने निष्कर्षमा पुगेको उनले सुनाए ।

आरडीटी टेष्ट गर्दा नेगेटिभ आएकालाई घर पठाउनुअघि करारनामा भने गराइनेछ । ‘घर पठाउने बस्नेको गति र मति भएन भने अवस्था भयावह हुन्छ । त्यसैले घरमा बसरी बस्ने भनेर दिक्षित गरेर पठाएका छौं,’ प्रजीअ कँडेलले बताए ।

यसले भारतबाट घर फर्किएकाहरुको व्यवस्थापन केही सहज हुने अनुमान गरिएको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment