Comments Add Comment

कसरी हुन्छ बाघ र बाख्राको दोस्ती ?

कुकुर घोडा चढेको, हाँसको बचेरोले बिरालोलाई पछ्याउँदै खेलेको र मुसा प्रजातिको पाल्तु ह्याम्स्टरले सर्पलाई खेद्दै जिस्किएका भिडियोहरु तपाईंले सोसल मिडियामा प्रसस्तै देख्नुभएको छ होला ।

हामी विभिन्न खाले जनावरहरुबीच हुने मित्रताका कथा कहानीहरुबाट निकै रोमाञ्चित हुन्छौँ । जनावरहरुबीचको मित्रता जति अनौठो हुन्छ, उति नै रोचक लाग्छ हामीलाई ।

तर केही जनावरहरुको मित्रता यति अपत्यारिलो तथा कल्पनै गर्न नसकिने खालको हुन्छ कि कहिलेकाहीँ त्यो आत्मघाती जस्तो प्रतित हुन्छ ।

यस्तो हुनु केवल प्रकृतिको विचित्रता हो वा यसका पछाडि केही वैज्ञानिक कारण पनि हुन्छ ?

बच्चाको पालनपोषण

कार्डिनल प्रजातिको चाराले रोबिन चराका बचेराको लालन पालन गर्दछ । अन्य केही चराहरुमा पनि अर्कैका बच्चा पालिदिने प्रवृत्ति देखिन्छ ।

सन् २००९ मा अमेरिकाको साउथ क्यारोलिनामा एउटा अनौठो घटना भयो । त्यहाँको वन्यजन्तु संरक्षण केन्द्रमा आँधीबेहेरीका बखत जन्मिएका सेतो बाघका दुईवटा डमरु मित्रा र शिवा आफ्नो आमाबाट विछोडिए । त्यसरी बिछोडिएका डमरुहरुलाई जब संरक्षण केन्द्रको चिडियाघरमा सारियो तब त्यहाँ रहेको अन्जना नामको दुई वर्षीय चिम्पान्जीले ती डमरुहरुको रेखदेख तथा हेरचाह गर्न थाल्यो

बेलायतको समरसेटस्थित संरक्षित वनक्षेत्रमा दुई फरक प्रजातिका जीवहरु अटर र बाडगरका अनाथ बच्चाहरु ब्रुक र बम्बल बी बीचको असामान्य दोस्ती पनि निकै चर्चित भयो ।

त्यस्तै अमेरिकाको मोन्टानामा एउटा सिंहको पोथीले आफुले सिकार गर्ने जनावर स्कुंकको बच्चालाई आफ्नो डमरुसँगै हुर्काएको घटना पनि कम चर्चामा रहेन ।

यसले के बताउँदछ भने बच्चा जनावर र बच्चा हुर्काउने आमाबीच यस्तो प्राकृतिक सम्बन्ध स्थापित हुन्छ जसले सिकारी जनावरको सीमालाई पनि तोड्दछ । बच्चालाई संरक्षण गर्ने र हुर्काउने जन्मजात गुणले जिवहरुबीचको प्राकृतिक भिन्नतालाई पनि माथ दिन्छ र सिकारी जिवको स्वभाविक प्राकृतिक चरित्र पनि दबाइदिन्छ ।

सँगै खेल्ने

गधा र कुकुर सबैभन्दा असल साथी बन्न सक्दछन् भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

फ्लोरिडास्थित एक वन्यजन्तु संरक्षण केन्द्रमा बी नामको जिराफलाई त्यस्तो ठाउँमा राखियो जहाँ विल्मा नामको सुतुरमुर्ग चरा बस्दथ्यो ।

सबैको अनुमान थियो कि यी दुई जनावरहरु एक अर्काबाट टाढै रहनेछन् । तर सबैलाई चक्मा दिँदै जिराफ र सुतुरमुर्ग साथी बने र सँगै रहन थाले ।

अमेरिकाकै सानडिएगो चिडियाखानामा एउटा टिम्बर भेँडा र दुईवटा बाख्राहरुबीच दोस्ती भयो । दुई अलग अलग घेरामा राखिएका उनीहरु घेराको नजिक आएर सँगै दौडिने र आराम गर्ने गर्न थाले ।

संरक्षण

म्यासाचुसेट्सको खेतमा लुलु नामका सुँगुर बेबी नामको एउटा आँखा नदेख्ने गाईका लागि पथ प्रदर्शक बन्यो । सुँगुरले गाईलाई चर्ने ठाउँसम्म लैजान्थ्यो र कतै पनि ठोक्किनबाट बचाउँथ्यो । त्यहीँको एउटा कृषि फार्ममा हाँस र घोडाबीचको मित्रता पनि चाखलाग्दो थियो । घोडा बिरामी हुँदा हाँसले देखाएको व्यवहार झनै रोचक थियो ।

यस्ता अनेकौँ उदाहरणहरु छन् जसमा ह्वेल तथा डल्फिनले समस्यामा परेका मानिस तथा अन्य जनावरलाई सहयोग गर्दछन् ।

आखिर जनावरहरुले अन्य प्रजातिका जिवहरुको सहयोगका लागि आत्मसंरक्षणको प्रवृत्ति किन त्याग गर्दछन् ? भन्ने कुरा वास्तवमा रहस्यमय नै छ । कतिपय जनावरले चाहिँ भुलबस अन्य जनावरलाई आफ्नो ठानेको पनि पाइन्छ ।

यद्यपि जनावरहरुको मामिलामा मानवीय संवेदना लागू गर्नु खतरनाक हुनसक्छ । तरपनि केही घटनाहरुले जनावरहरुमा समेत सहानूभूति हुन्छ भन्ने कुरा पुष्टि हुन्छ ।

आपसी लाभ

सुतुरमुर्ग र जेब्रालाई सँगसँगै रहेको देख्न सकिन्छ । यी दुवै सिकारी जिवहरुका लागि भोजन हुन् । सुतुरमुर्गको दृष्टिक्षमता कमजोर हुन्छ तर जेब्राले टाढा टाढासम्म देख्न सक्दछ । अर्कोतर्फ जेब्राको सुँघ्ने क्षमता कमजोर हुन्छ भने सुतुरमर्गको घ्राणशक्ति निकै बलियो हुन्छ । एक अर्काको यस्ता सबल र दुर्वल पक्षका कारणसँगै रहँदा दुवैलाई फाइदा हुन्छ र सुरक्षित हुन सहयोग पुग्दछ । यसलाई विज्ञानको भाषमा सिम्बायोसिस भनिन्छ ।

हनी बाडगर नामक जनावर र हनी गाइड नामक चराबीचको मित्रताले पनि दुवैलाई फाइदा हुन्छ ।

हनी गाइड चराले हनी बाडगरलाई भीर माहुरीको गोलोसम्म पूराइदिन्छ । त्यसपछि बाडगरले मौरीको गोलोमा आक्रमण गरेर मह खान्छ । मौरीको गोलोमा आक्रमणका बखत भुइँमा झरेका मौरीका बच्चा, फूल तथा महसमेत चराले खान पाउँदछ । हुनत हनी बाडगरले हनी गाइड चरालाई पनि आफ्नो सिकार बनाउन सक्दछ । अर्थात् यी दुई शत्रुजीव हुन् । तर दुवैको फाइदाका लागि मौरी खोज्ने र सिकार गर्ने मामिलामा यिनीहरुबीच मित्रता भएको हुन्छ ।

अनौठो परिघटना

चरा र बिरालो साथी बन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर बेलायतको सफोकस्थित खेतमा एउटा अनौठो घटना भयो । त्यहाँ एउटा बिरालोले स्यालको आाक्रमणमा घाइते भएको एक कुखुरालाई अभिभावकत्व प्रदान गर्यो । बिरालोले उसलाई स्याहार सुसार तथा रेखदेख गर्‍यो र ती दुईबीच गहिरो दोस्ती कायम भयो ।

साइबेरियाको चिडियाखानामा एउटा बाघ र एउटा बाख्रोबीच अनौठो दोस्ती भयो । बाघको खोरमा उसको भोजनका लागि पठाइएको बाख्रासँग सो बाघले अकल्पनीय मित्रता कायम गर्‍यो । उक्त बाघले आफ्नो सिकारका लागि चिडियाखानले पठाएका अन्य सबै बाख्रालाई छिनभरमै झम्टिएर आहारा बनाउँथ्यो । तर त्यो एउटा बाख्रालाई भने उसले खाएन । उल्टै त्यो बाख्रा र बाघबीच गहिरो मित्रता भयो र सँगै बस्न थाले ।

बाघको यस्तो अनौठो व्यवहारका पछाडि एउटा तर्क यस्तो दिइयो कि जब सो बाख्रालाई बाघको खोरमा पठाइएको थियो त्यसबेला बाघलाई भोकको साटो एक्लोपनले सताइरहेको थियो । त्यसैले उसले बाख्रालाई मारेर खानुको साटो साथी बनायो ।

बाख्राको भाग्य बलियो मान्नुपर्दछ कि ऊ सही समयमा बाघको अगाडि पुग्न पायो ।

यो घटनाबाट यस्तो निष्कर्ष निकाल्न पनि सकिन्छ कि यदि जनावरहरुमा एउटा आवेग अर्कोमाथि हाबी भयो भने अप्रत्यासित घटना पनि हुनजान्छ ।

बीबीसी अर्थबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment