Comments Add Comment

कामरेडको जनअदालत र जात परिवर्तन

रुकुम पश्चिममा जेठ १० गते दलित युवा नवराज विश्वकर्मासँगै उनका ६ जना साथीहरुको विभत्स हत्या गरी भेरी नदीमा फालिदिएपछि दलित लगायत न्यायप्रेमी समुदाय देशैभरि आन्दोलित भएका छन् । लामो समयदेखिको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा बदल्न केटा र केटीबीच सहमतिमै नवराजले प्रमिकालाई लिन गएको बखत गाउँ नै उठेर क्रुर ‘जातीय नरसंहार’ गरिएको घटनालाई माओवादी जनयुद्धसँग जोडेर हेर्नुपर्ने विशेष कारण छन् ।

पहिलो कारण हो- रुकुम जिल्ला माओवादी युद्धकालको अत्यन्तै प्रभावित र आधार जिल्ला हो । दोस्रो- यो पूर्वमाओवादी सैन्य कमाण्डर, पूर्वगृहमन्त्री र नेकपा नेता जनार्दन शर्माको निर्वाचन क्षेत्र हो र नेकपाकै नेताले जातीय नरसंहारलाई राजनीतिक शक्ति प्रयोग गरी पीडकलाई उम्काउन खुलेआम प्रयास गरेको आरोप लागेको छ । तेस्रो- तत्कालीन माओवादी सरकारमा छ, त्यसका प्रभावशाली नेता रामबहादुर थापा (मगर) बादल हाल गृहमन्त्री छन् ।

गृहमन्त्री थापाले अमेरिकामा पनि विभेद छ भन्ने अभिव्यक्ति दिएर हत्यारामाथि कानुनी कारवाही हुने र पीडितले न्याय पाउने कुरामा सन्देह उत्पन्न गराइदिए । यसले माओवादी युद्ध जनयुद्ध नभई ‘जनैयुद्ध’ मात्रै रहेको पुनः पुष्टि गरेको छ नै, १७ हजार जनताको अमूल्य ज्यान लिने युद्ध केवल सत्ताका लागि मात्रै थियो कि भन्ने गम्भीर प्रश्न जबरजस्त उठेको छ ।

ओली सरकार, नेकपा, प्रचण्डहरुको मौनताले जनयुद्धको नाममा भएका जनहत्या के तत्कालीन गैरमाओवादी कम्युनिस्टहरु र नेकपा मसालका नेतासमेतले भन्ने गरेको ‘महिला महिनावारी हुँदा बग्ने रगत जत्तिकै, या गुण्डा या रक्तपिपासुहरुले मान्छे मार्दा बग्ने रगत ‘ जत्तिकै अर्थहीन थियो त ? प्रचण्ड र जनार्दनहरु किन बोल्दैनन् ?

कामरेड बादलको जनअदालतमा निहत्था, निर्दाेष र साधारण धेरै मानिसहरु मारिए । याद रहोस् कामरेड ! यो तपाईको युद्धकालीन जनअदालत होइन, तपाई अझै कमाण्डर बादल नै छु भन्ने लाग्छ ? अब तपाई यो देशको गृहमन्त्री रामबहादुर थापा हो, सोही जिम्मेवारी पूरा गर्नुस् ।

रुकुम घटना र त्यसपछि सरकार र नेताहरुका विवादास्पद कि्रयाकलापले जनयुद्धका नाममा बगेका रगत, गणतन्त्रको गरिमा, जनआन्दोलन-२ को उपलब्धीमाथि प्रश्न उठेको छ । हिंसाको राजनीतिले सामाजिक परिवर्तन ल्याउन नसक्ने कुरा पनि प्रमाणित गराएको छ ।

जातीय विभेद तथा छुवाछूत व्यवहार या जात व्यवस्थाकै अन्त्य विना समानता र न्याय प्राप्त हुँदैन । जात व्यवस्था के हो भन्नेबारे यो लेख बढी केन्द्रित रहने छ ।

मलाई एकजना मित्रले सामाजिक संजालमा प्रश्न गरे- ‘तपाईँहरु जातीय विभेद र छुवाछुतको विरोधी कि वर्ण-व्यवस्थाको ?’

मैले जवाफ दिएँ- ‘दुवैको ।’

यस प्रश्न र जवाफले धेरै मानिसहरुको दिमागमा रहेका भ्रमको उजागर गरिदिन सक्छजस्तो मलाई लाग्छ । वर्ण-व्यवस्था नै जात-व्यवस्था या जातीय विभेद र छुवाछूत व्यवस्थाको मूल स्रोत,कारक तत्व तथा आधार हो । ब्राहृमण धर्मका पवित्रतम् मानिने प्राचीन ग्रन्थहरु ४ वेद, पुराण, श्रीमद्भागवत गीता, महाभारत, रामायण र मनुस्मृति आदिमा वर्ण या जातीय विभेद र छुवाछूत व्यवस्था रहेको छ । यो हामीले त्यो सत्य बुझ्नु पर्दछ । भन्ने गरिन्छ- ‘वर्ण व्यवस्थामा, पेशा या कामको विभाजन र श्रेणी वैज्ञानिक छ । तत्कालीन समयमा समाज चलाउन गरिएको कामको उपयुक्त विभाजन नै वर्ण-व्यवस्था हो । त्यहाँ जातीय विभेद र छुवाछुतको व्यवस्था थिएन/छैन ।’ यो भ्रामक र झुठ हो ?

जात परित्याग : एक विद्रोह

भारतीय संविधान निर्माता, शोसित-उत्पीडितका मसिहा डा.भिमराव अम्बेडकरको जन्म १४ अप्रिल १८९१ मा तत्कालीन बि्रटिस भारत केन्द्रीय प्रान्त र हालको मध्य प्रदेशमा भएको थियो । पिता रामजी मालाजी सकपाल र माता भीमाबाई मुरबादकरको १४ औं र अन्तिम सन्तानको रुपमा उनको जन्म भएको थियो । उनी महार जातिका थिए । अम्बेडकर थर उनले यस कारण राखेका हुन्, उनको जन्मस्थान ‘आम्बडवे’ गाउँ थियो । त्यसैले उनले आफ्नो थर आम्बडवे (ठाउँको नाम) बाट आम्बेडकर राखे, त्यही नाम, थर नै पछि विश्व प्रसिद्ध हुन पुग्यो ।

महार भारतको एक विशाल जनसंख्या भएको प्रख्यात दलित जाति हो । हाल महाराष्ट्रमा महार, चमार र जाटव जाति शत प्रतिशत अम्बेडकरकै मार्गमा बौद्ध बनिसकेका छन् ।

अम्बेडकरको महापरिनिर्वाण ६ डिसेम्बर १९५६ मा भयो । त्यसको भोलिपल्ट ७ डिसेम्बरमा बौद्ध शैलीमा उनको अन्तिम संस्कार मुम्बईको दादर चौपाटी समुन्द्र किनारमा गरियो । उक्त समयमा उनलाई साक्षी राखेर सोही स्थानमा १० लाख अनुयायीहरुले बौद्ध धर्मको दीक्षा लिएका थिए । त्यो नै संसारको हालसम्मकै एकै पटक धर्म परिवर्तन गरिएको सबै भन्दा ठूलो संख्या हो । सन् १९९० मा अम्बेडकरलाई भारत सरकारद्वारा सबैभन्दा ठूलो सम्मान ‘भारत रत्न’ मरणोपान्त सम्मान दिइयो ।

यसरी उनले गरेको जात (थर) परित्याग र धर्म परिवर्तन वर्ण-व्यवस्थाका निम्ति दमदार धक्का थियो । उनको त्यो कार्य दलित-उत्पीडित समुदायका लागि ऐतिहासिक सशक्त विद्रोहको रुपमा उदाहरणीय कदम बन्न पुग्यो ।

कस्तो विद्रोही बन्ने ?

नेपालमा उत्पीडित-दलित समुदायका कतिपय दलालहरु आफूलाई हिन्दु, आर्य -खस र पहाडे राष्ट्रवादी घोषित गराउन ठूल-ठूला स्वरमा चिच्याइरहेका देखिन्छन् । टोपी- दौरासुरुवाल राष्ट्रवाद प्रदर्शन गर्ने, हिन्दु धर्ममा कहाँ छ विभेद र छुवाछूत भन्ने जस्ता हास्यास्पद सवाल उठाउने, विभेदको विरोध गर्नेलाई उल्टै डलरे र ईसाई भएको आरोप लगाएर मालिकको साखिल्लो बन्ने तथा मुक्ति आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रमा दलित अगुवाहरु नै बढी प्रयोग भइरहेको अवस्था छ । कतिपयले भने दलित शब्दको प्रायोजित विरोध गर्ने गरेको पनि देखिन्छ ।

दलितले जनै लाउन पाउनु पर्नेसम्मको भ्रम अझै हटेको छैन । सवाल उठ्छ, ब्राहृमण धर्मको कुनचाहिँ ग्रन्थमा हिन्दु शब्द लेखिएको छ ? हिन्दु शब्दको अर्थ र उत्पत्ति कसरी हुन गयो ? यी प्रश्नहरुको उत्तर नखोजी दलित शब्दको विरोध गर्नु हमेशा बेकार छ ।

सिन्धु नदी (हाल पाकिस्तानमा पर्छ ) सभ्यताका मानिसहरुले मान्ने धर्मलाई कालान्तरमा हिन्दु भनियो । फारसी भाषामा ‘स’ को उच्चारण ‘ह’ हुने हुँदा सिन्धुबाट हिन्दु भनिन पुग्यो । तथापि हिन्दु शब्दको अर्थ पनि राम्रो छैन (पुरानो शब्दकोष हेर्नुस्) ।

उता भारतमा भने दलित शब्दको राज्यले प्रतिवन्धित गरिएको भए तापनि दलित समुदायले त्यसलाई स्वीकार गरेनन् । दलित अगुवाहरुको बुझाइमा यो शब्द समुदायको ताकत भएकाले त्यसलाई छिन्न या कमजोर बनाउन भारत सरकारले दलित शब्दमाथि प्रतिवन्ध लगाएको आरोप लगाउने गर्दछन् ।

भारतमा सन् १८३१ मा एक शब्दकोषमा पहिलो पटक ‘दलित’ शब्द प्रयोग भएको इतिहास छ भने बाबा साहेव भीमराव अम्बेडकरले आफ्नो भाषणमा दलित शब्द प्रयोग गर्ने गर्थे । त्यसपछि दलित शब्द व्यापक भएको मानिन्छ ।

विश्वका दलित समुदाय यस शब्दलाई आफ्नो लामो मुक्ति एवं अधिकारवादी आन्दोलन र बलिदानीद्वारा स्थापित प्रीय उपलब्धि मान्दै त्यसमा गौरव ठान्दछन् । दलित सम्पूर्ण उत्पीडित, छुवाछूत र विभेदमा पारिएको समुदायको पहिचान बनिसकेको छ । दलित शक्तिको प्रतीक हो ।

महात्मा गान्धी हरिजन शब्दको पक्षपाती थिए । माथि सवाल उठाइए झै ‘वर्णाश्रम व्यवस्था र छुवाछूत पृथक कुरा हो’ भन्ने मान्यता राख्दथे गान्धी । गान्धीको ‘स्वराज सिद्धान्त’ को आधार हिन्दुत्व नै हो ।

सन् २०१० देखि भारतीय सर्वाेच्च अदालतले हरिजन शब्दमाथि प्रतिवन्ध लगाई यो शब्द आपराधिक घोषणासमेत गरिसकेको छ । केन्द्रीय तथा केरल राज्य सरकारले हरिजन शब्द प्रयोग गर्नेमाथि पाँच वर्ष कैद र जरिवाना या दुबै हुन सक्ने गरी कडा कानुनी व्यवस्था गरिसकेको छ । चमार जातिले हरिजन थर प्रयोग गर्ने गर्दथे । महात्मा गान्धीले नै पहिलो पटक दलित समुदायको सट्टा हरिजन शब्द प्रयोगमा ल्याएका थिए । उनले हरिजन नामका पत्रिकासमेत प्रकाशन गर्दथे ।

हरिको मतलव भगवान् या देउता र जनको अर्थ लोक या जनता हुन्छ । यसरी हरिजनको अर्थ भगवान् या देउताका सन्तान भन्ने अर्थ लाग्छ । यो शब्द हाल भारतभरि प्रतिवन्धित र गैरकानुनी भएको छ, जसको प्रयोगले दण्ड-सजायको भागिदार बन्नु पर्दछ । नेपालका चमार जातिका केही व्यक्तिले हरिजन शब्द प्रयोग गरिरहेका छन्, त्यसको अब अन्त्य गर्न जरुरी छ ।

जात जनाउने को ?

सार्वजनिक स्थान, यातायात र चोकहरुमा दलित समुदायका जातिलाई लक्षित गरी ‘जात जनायो’ भन्ने गरिन्छ । कुनै व्यवसाय, व्यवहार या कारोबारमा कुनै एक व्यक्तिले कसैलाई धोका दिएको भरमा त्यस व्यक्तिलाई दोष दिनुको सट्टा उसको जात (समुदाय) लाई नै दोष दिई गाली गर्ने गरेको यत्रतत्र सुनिन्छ ।

प्रश्न उठ्छ, के दलित समुदाय धोकेवाज, जात जनाउने प्रकृतिको र असभ्य नै हुन्छन् ? यथार्थ र तथ्य के रहेछ, एक मन्थन गरौं ।

नेपालको राजनीतिक परिवर्तन र घटनाहरुलाई पुनरावलोकन गरी हेरौं न । चर्चित सुगौली सन्धि, १९५० को असमान सन्धिदेखि राष्ट्रहित र स्वार्थ विपरीतका सन्धि-सम्झौता गर्ने कुन जाति हो ? त्यति मात्रै होइन, कोशी नदी, महाकाली, गण्डक, कर्णाली नदी सम्झौता, चर्चित लिपुलेक आदि नेपालको भूमि तथा नदी नाला भारतसँग सम्झौता गरी राष्ट्रघात गर्ने व्यक्ति के कुनै दलित, आदिवासी जनजाति या मधेसी हो ? पक्कै थिएन र होइन । अनि हामीले जात जनाउने, राष्ट्र झुक्नेखालको अराष्ट्रवादी कुन काम गर्‍यौं ?

जात त उनीहरुको जनाउनुपर्ने हो, जसले त्यो जातकै बेइज्जत हुने गरी भ्रष्टाचार गरेका छन् । राष्ट्र र जनतालाई मारेर अकूत सम्पत्ति जोडेका छन् । त्यो जात, जसले आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्न हजारौं सर्वसाधारणको निर्मम हत्या गरेको छ । आफू र आफ्नो जातलाई सर्वश्रेष्ठ, सर्वाेत्तम नश्ल घोषणा गरी अन्यलाई नीच,अछूत र घृणाको राजनीति गरेको छ । हो, जात उनीहरुले जनाइरहेका छन्, जसले शासन सत्ताका निम्ति जनताको बली चढाएको र वर्षौंदेखि राष्ट्रको स्वार्थ बेचेर आफ्नो सत्ता जोगाएको छ ।

बबुरा दलितले कस्तो जात जनाउन सक्ला र ?

नश्लवादी, जातका नाममा उच्च-नीचको श्रेणी निर्माण गर्ने, महिला र मधेसीमाथि दास-दासीको व्यवहार एवं व्यवस्था गर्ने अपराधी पूर्खामाथि बाहुन-क्षेत्रीका अगुवाहरुले पनि विचार गर्नुपर्छ । जसरी मलाई आफू दमाई (परियार) भएकोमा गौरव छैन, त्यसै गरी कोही कसैले आफू बाहुन भएकोमा किन गौरव गरोस् ? उपाध्याय, कुमाई, आर्य, खस या कथित उच्च जाति कहलाइएकामा आफूलाई ठूलो र गौरवशाली ठानी घमण्डले फुल्न जरुरी नै छैन । मानिसको जात केवल मानिस नै र मात्रै हो ।

नराम्रा काम, व्यवहार र बोलीचालीसँग जोडेर दलित समुदायलाई होच्याउने, जात जनायो भन्ने, जातको नाममा विभेदपूर्ण अर्थ लाग्ने गरी बोल्ने तथा व्यवहार गर्नेमाथि कडा कार्वाहीको वैधानिक व्यवस्था नगरेसम्म यो व्यवस्थाको लोकतान्त्रीकरण भएको मान्न सकिन्न ।

आफ्नो थर लुकाएको भन्ने आरोप सही होइन । थरमा कोही-कसैले गर्व किन गर्ने ? त्यसैले हामीलाई हजारौं वर्षदेखि विभेदको सिकार बनाउँदै आएको छ । फेरि के मेरा पूर्खाले रहरले दमाई (दमाह बादक), कामी (काम बासनाले सधैं आतुर रहने, यौनकर्मी पुरुष), गाइने, वादी आदि राखेका हुन् र ? निश्चय पनि होइन । त्यसैले जात (थर) परिवर्तन गरी उच्च जात बुझाउने थर लेख्ने कायर बन्ने होइन । बरु, जात परित्याग गर्नु एक विद्रोह हो । यस्तो विद्रोहको थालनी सबैले आजैबाट गरौंं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment