Comments Add Comment

कोरोनाले खेलस्थलहरु पनि ‘आइसोलेसन’ मा

२३ जेठ काठमाडौं । ७२ सालको भूकम्पले क्षतिग्रस्त नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला चार वर्षपछि बल्ल पुनर्निमाण भयो ।

गत वर्ष मंसिर  महिना दशरथ रंगशाला पुनर्निर्माण भएर फुटबल फर्किएपछि खेलाडीहरु उत्साहित बनेका थिए । तर, कोरोनाको सन्त्राश र लकडाउनका कारण खेल गतिविधि ठप्प भएपछि रंगशाला फेरि सुनसान बनेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालको फुटबल मैदान तयारी अवस्थामा रहेको बताएका थिए । तर अहिले लकडाउन जारी रहेकोले कहिले फुटबल हुने भन्ने अन्योल छ । मैदान तयार भए पनि खेलाडीहरुले घर बाहिर निस्केर प्रशिक्षण गर्नसमेत पाएका छैनन् ।

कोरोना भाइरस महामारीले गर्दा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत नेपालले गत चैतमा घरेलु मैदानमा खेल्नुपर्ने दुई खेल स्थगित भएका थिए । छनोटको समूह ‘बी’मा रहेको नेपालले घरेलु मैदानमा अब तीन खेल खेल्न बाँकी छ । स्थगित भएका खेलहरु फेरि शुरु गर्नेबारे अहिले एएफसीले सदस्य राष्ट्रहरुसँग छलफल गरिरहेको छ ।

बिहीवारै मात्र युएई फुटबल एसोसिएसनले फिफा र एएफसीसंग छलफल गरेर स्थगित भएका छनोट खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गर्ने जनाएको छ । यस्तै एन्फाले पनि यसै विषयमा एएफसीसँग छलफल गरिरहेको छ । छिट्टै नेपालमा हुने खेलको विषयमा टुङ्गो लाग्ने एन्फाले जनाएको छ ।

कुने फुटबल गतिविधि नभएपछि दशरथ रंगशालामा अहिले स्तरोन्नितको काम भइरहेको छ ।

टीयू मैदान सिंगारिँदै

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान पनि अहिले सुनसान छ । कीर्तिपुरमा रहेको यो मैदान पनि खेलका लागि तयार छ । तर खेलाडीले भने अभ्यास पनि गर्न पाएका छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनबहादुर सिंहले टीयू मैदानमा घाँस काट्ने, घाँस रोप्नेदेखि पिच निर्माणको कामहरु सकिएको जानकारी दिए । ‘ग्राउण्डको जंगली घाँस काट्ने, पिच बनाउने, माटो थप्ने, घाँस रोप्ने जस्ता कामहरु भइसकेको छ । प्राक्टिस पिच पनि बनिसकेको छ,’ सिंहले भने, ‘मैदानबाहिरको जालीहरु रंगरोगन भइरहेको छ । नेटहरु पुरानो फेरेर नयाँ लगाउने तयारीमा क्यान छ ।’

लकडाउन शुरु भएको एक हप्तापछि नै टीयू मैदानमा सामाजिक दुरी काम राख्दै काम भइरहेको कोषाध्यक्ष रोशनले बताए । त्यहाँ ८ देखि १० जनाले काम गरिरहेको उनले बताए । टीयू मैदानमा पहिलो र अहिलेको अवस्थामा फरक देख्न पाइने रोशनले बताए ।

भलिबललाई कभर्डहलको चिन्ता

भलिबलसहित इन्डोर खेलकुद गतिविधि हुने त्रिपुरेश्वरमै रहेको कभर्डहल पनि सुनसान छ । अरु बेला कभर्डहलमा खेल गराउनका लागि तँछाडमछाड नै हुन्थ्यो । एउटै हलमा भलिबल, बास्केटबलदेखि ब्याडमिन्टन, मार्सल आर्ट्सका खेलहरु समेत हुँदै आएका छन् ।

कभर्डहल राष्ट्रिय खेलकुद परिषद्को हो । अहिलेसम्म नेपाल भलिबल संघको आफ्नो छुट्टै कभर्डहल छैन । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा समेत संघले लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल प्रयोग गरेको थियो । भलिबलको लागि प्रतियोगिता खेल्न र ट्रेनिङ गर्न स्थायी कभर्डहल छैन । कहिले त्रिपुरेश्वर त कहिले लगनखेलको कभर्डहल चहार्नुपर्ने बाध्यता छ ।

गत वर्ष नेपालको महिला भलिबल टिमले सेन्ट्रल जोनमा स्वर्ण र १३औं सागमा रजत जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । तर राष्ट्रिय खेलको रुपमा रहेको भलिबलले अहिलेसम्म सरकारबाट सहयोग पाउन नसकेको संघका अध्यक्ष मनोरन्जन शर्माको गुनासो छ ।

‘भलिबलका लागि कभर्डहल बनाउन बुढानिलकण्डमा जग्गा हेरेका थियौँ । राखेपका सदस्य सचिवले एक कार्यक्रममा भलिबलका लागि १० करोड बजेट माग गरेको भन्नुभएको थियो । तर अहिले बजेटमा कति परेको छ थाहा छैन । जम्मा ५० लाख निकासा भएको छ रे भन्ने सुनेको छु,’ शर्माले भने ।

अहिले लकडाउनले गर्दा भलिबल खेलाडीहरु सबै फुर्सदमा छन् । फेरी कहिले कोर्टमा फर्केर प्रशिक्षण गर्ने र खेल्ने भन्ने चिन्ता अध्यक्ष शर्मासंगै सबै खेलाडीहरुको पनि छ । राखेपकै कभर्डलमा बास्केटबल र ब्याडमिन्टनका खेल पनि हुने गरेको छ । तर अहिले लकडाउनले गर्दा सबै खेल रोकीकाले त्यही एउटा कभर्डहल पनि शुनसान छ ।

यसबाहेक सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराँते एकेडेमी, तेक्वान्दो एकेडेमी, स्वीमिङ पुललगायत खेलकुद पूर्वाधार पनि सुनसान अवस्थामा छन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment