Comments Add Comment

रत्नशमशेर थापा भन्थे– म एक्लो रमाउने मान्छे हुँ

२४ जेठ, काठमाडौं । गत साता दिवंगत भएका कवि एवं गीतकार रत्नशमशेर थापालाई नेपाली साहित्यमा हक्की स्वभावको साहित्यकार भनेर चिनिन्छ । आधुनिक गीतमा विशेष लोकप्रियता हासिल गरेका थापाका मुख्य विधा गीत र कविता हुन् । यसबाहेक मुक्तक, हाइकु र गजलमा पनि उनको कलम चलेको छ ।

आफ्ना गीत रचनाको शक्तिले नै कयौं नेपाली गायक स्थापित भएको बताउने उनी अरुले मागेपछि मात्रै गीत दिने गरेको कुरा निर्धक्क बताउँथे । २०१३ सालदेखि मृत्युपर्यन्त लेखनमा सक्रिय थापा नेपाली साहित्य र संगीतको ६ दशकका साक्षी थिए । नेपाली साहित्य–संगीतका सयौं सष्ट्रा एवं साहित्यकारसँग संगत भएका उनी सार्वजनिक रुपमै साथीसँगका पुराना कुरा सुनाउँथे ।

यहाँ रत्नशसशेर थापासँग ‘कविता’ त्रैमासिकका (पूर्णाङ्क– ८८) लागि २०६७ सालमा रोशन थापा ‘नीरव’ले लिएको अन्तरवार्ता सान्दर्भीक लागेर प्रकाशित गरिएको छ । एक दशकअघि थापाकै निवास कमलपोखरीम लिइएको उक्त अन्तर्वार्तामा रत्नशमशेरले गीत र कविताबारे आफ्नो धारणालाई निकै गहनताका साथ अभिव्यक्त गरेका छन् । साथै आफ्ना नीजि आनीबानी र साहित्यिक जीवनबारे पाठकलाई जानकारी दिएका छन् ।

तपाईं गीत र कविताको सृजनामा समानान्तर रुपले आउनुभएको छ– कहिले ‘रत्न थापा’ त कहिले ‘रत्नशसशेर थापा’ भएर । तपाईंको प्रवेश यी सृजनामध्ये कुनबाट पहिला भएको हो र त्यो रचनाको नाउँ अनि रचनासाल कहिले हो ?

पहिलो रचना कविता नै हो, जुन २०१३ सालतिर लेखिएको थियो । यसको शीर्षक ‘एकजोर आँखा मुर्दाको पाखाम’ भन्ने थियो । यस्तै, सन् १९६० मा पटना युनिभर्सिटिको नेपाली छात्रपरिषद्, पटनाको वार्षिक मुखपत्र ‘उकालो’मा छापिएको ‘मन पर्छ त्यो रात’ भन्ने कविताचाहिँ आर.एस्. मधुरको नाउँमा छापिएको हो । शारदाप्रसाद भद्राद्वारा सम्पादित उक्त पत्रिकामा छापिएको यो उपनाम त्यसैमा मात्र प्रयोग भएको हो ।

कवितामा नाउँ ठूलो किन गर्ने भनेर रत्न थापा भएर रचना गरियो, तर निकै पछि शोधार्थी–विद्यार्थीले पूर्ण नाउँबाटै रचना गर्नु राम्रो भन्ने सुझाएपछि रत्नशमशेर थापाबाटै रचनाकर्म गरें र गरिरहेछु ।

नेपाली साहित्यको सृजनामण्डलमा कसैलाई मदिरा त कसैलाई चुरोटको लत रचनाकर्म गर्नुजस्तै हुन्छ । तपाईंको लत चुरोटमा अभ्यस्त छ । अब भन्नोस् कुनै पनि रचना गर्दा तपाईंलाई चुरोटको खाँचो पर्छ वा पर्दैन वा परे पनि कति पर्ला ?

रचनाको सन्दर्भमा लेखनरत रहँदा भावमिलान गर्न चुरोटको तलतल लाग्छ । चुरोटको तनाइमा ध्यानमग्न हुन्छुर रचनाको चमक उत्पन्न भएजस्तो हुन्छ । चुरोटको संख्या यत्ति नै भन्ने छैन । यो मेरो बानी गीत र कविता दुवैको लेखनमा लागू हुन्छ । अनि यो माइन्ड कन्सन्ट्रेट गर्न पनि हो ।

यहाँको पहिलो कवितासंग्रह ‘चकलाभरिको घाम’ २०३६ सालमा प्रकाशित भयो, जसम कविताले आफ्नो प्रयोगशीलता र रचनाशीलतामा उन्मुक्ति खोजेको बोध हुन्छ । तर दोस्रो संग्रह ‘ताराका काँचा रङ’ २०६० मा भने कविता त्यस्तो प्रखर स्वर र ठोस रचनाशीलताको बाटो नहिँडी सरलतातिर उन्मुख भएको छ । के यी सबै रचनामा वर्षहरूले लिएको समय–अन्तरालको स्खलित प्रभाव हो वा के हो ?

त्यस्तो खास विचलन वा स्खलन त होइन, यो शैली परिवर्तन गर्न खोज्दा यस्तो भएको भन्न सकिन्छ । ये समयको तत्त्व हो । समयसँगै परिवर्तित हुने क्रममा मैले सरल मार्गतिर लेखन विस्तार गरेको हुँ । यसर्थ यसलाई स्खलित नभनी सरल मार्गतिरको सहज विस्तार भने हुन्छ । धेरै कडा नगरी कवितालाई वा आफ्नो रचनालेखनलाई सरलीकृत बाटामा जान, सरल बनाउन यस्ता खाले कविता सिर्जना गरेको हुँ । यो समयअनुरुप लेखनकोे परिवतर्न भन्नुपर्ला !

तपाईंलाई कुन बढी सरल, सहज र सबल लाग्छ– गीतलेखन वा कवितालेखन ?

निश्चय पनि कवितालेखनमा सहज, सरल, सबल लाग्छ । यसमा कविको स्वतन्त्र विचार र शैली निर्बन्ध रुपमा प्रयोग गर्न सकिन्छ, तर गीत छन्द र लयमा बाँधिनाले थोरै शब्दमा व्यापक अर्थ दिनुपर्ने हुनाले बन्धन हुन्छ । त्यसैले म कविता लेख्ता जति सहज हुन्छु, त्यत्ति गीत रच्ता सजग र स्वतन्त्र हुन नसकेको बोध गर्दछु ।

तपाईंको कविताको रचना प्रक्रिया के हो ?

म अधिकांश आफूले भोगेको, देखेको र अध्ययन गरेको कुरालाई र देश, काल, परिस्थितिलाई अनुभूत गरेर कविता लेख्छु । यो नै मेरो कविताको रचनाप्रक्रिया हो अर्थात् विषयवस्तु बनेपछि बिम्ब प्रत्यारोप गरी रचना निर्माण गर्दछु ।

तपाईं कविता पहिला सृजना गर्नुहुन्छ वा कविताको शीर्षक पहिला ?

म पहिला कविता नै सृजना गर्छु । कविता पूर्ण निर्माण भएपछि दुईचार शीर्ष बनाउँछु । कहिलेकाहीँ तिमीजस्ता भाइ, समकालीन कुनै मित्र भए उनीहरूसँग शीर्षकबारे छलफल पनि गर्छु र यसरी पनि शीर्षक छनोट गर्छु ।

बालक रत्नशमसेर थापा

तपाईंका दुई संग्रहभरिका कविताहरूमध्ये तपाईं आफूलाई कुनचाहिँ कविताप्रति बढी मोहित, सबल, सम्बद्ध र नजिक भएको पाउनुहुन्छ ?

मलाई विशेष मन पर्ने कवितामा ‘क्षितिजको भुत्ला आज बोकाको सपनामा’ कविता हो ।

कवितालेखनमा आजसम्म आइपुग्दा कविताले आफ्नो रुपलाई सबल, सफल बनाएको मान्नुहुन्छ कि (कवितालेखन) पारम्पारिक लेखनबाटै हिँडेको ठान्नुहुन्छ ? यो प्रश्न अहिलेका नवकविहरूका लागि समेत इङ्गित गरेर सोधिएको हो ।

केही अंश पारम्पारिक भएपनि केही सबल पनि छ । नयाँ पुस्ताका कविका कवितामा पारम्पारिक लेखन अर्थात् तिम्रो भनाइको इङ्गित अग्रजहरूको प्रभाव भन्ने होला । त्यसअनुरूपको लेखनप्रभाव पनि छ, तर भोगाइ अहिलेकै भएकाले सबल र सफल बन्न पनि सक्षम छ ।

तपाईं कवितामा वैयक्तिक हुन मन पराउनुहुन्छ कि निर्वैयक्तिक ?

अवश्य पनि निर्वैयत्तिक ।

तपाईंको कविताकर्ममा राष्ट्र, समाज र परिवारको संलग्नता, दृष्टि र विचार कूतो पाउनुभएको छ ?

मिश्रित विचार पाएको छु । कसैले परिचय बनाएको, राष्ट्रसेवा गरेको भन्ने गरेको छ भने कसैले चाहिँ काम नपाएर परिवारलाई दुःख दिई कविता लेख्यो पनि भनेका छन् । किनभने मैले जिन्दगीभर अर्थात् उमेर रहुन्जेल जागिर नखाएरै कविता रचना गरिरहें । बाँकी मूल्याङ्क त समयले गर्ला नै ।

तपाईं कविहरूको भीडमा पनि एक्ल्लो देखिनुहुन्छ तर तपाईंका कविताले चाहिँ भीडको प्रतिनिधित्व गरेको बोध हुन्छ । यसो हुनाको कुनै खास कारण छ कि ?

म व्यक्तिगत रुपमा एक्लो रमाउने मान्छे हुँ । यद्यपि कहिलेकाहीँ सामाजिक प्राणी भएकाले भीडमा पनि मिसिन्छु र सामाजिक देनका लागि भीडको प्रतिनिधित्वप्रधान कवितामा भीडलाई भीडलाई झक्झकाउन त्यस्तै खाले बिम्ब र ध्वनीको सम्मेलन गर्दछु ।

नेपाली साहित्य–सर्कलमा तपाईं आफ्नो ‘स्व’मा बाँचने नागरिक, कवि र व्यक्ति भनेर चिनिनुहुन्छ । कविता पनि तपाईंले आफ्नै ‘स्व’मा लेख्नुभएको होला । कहिल्यै कुनै त्यस्तो दबाब वा नचाहँदा–नचाहँदै पनि कुनै त्यस्तो कविता वा गीत रचना गर्नुभएको छ, जसलाई तपाईं रचना गर्न चाहनु हुन्नथ्यो ?

दबाब त होइन, मित्रका हिसापले, मित्रको अनुरोध टार्न नसकेर कविता रचना गरेको छु । तत्कालीन ‘रोनास्ट’, अहिलेको नास्टका लागि एन्थम (राष्ट्रगान) मैले रचना गरेको हुँ । यो गीतलाई ‘प्रणगीत’ भनियो तर यो गायन वा संकलनमा राखिएन ।

अन्त्यमा आफ्ना दुई कवितासंग्रह र दुई गीतसंग्रहको तुलना गर्दा पाठकले एक संग्रहमात्र छान्छु भन्यो भने कुनचाहिँलाई समर्थन गर्नुहुन्छ ?

म कविताकृतिमा ‘चकलाभरिको घाम’ र गीतमा ‘ओभानो सिउँदो’ छान्न सल्लाह दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment