Comments Add Comment

गोरखामा एक महिनायता भारतबाट २८० जना फर्किए

२४ जेठ, गोरखा । भारतबाट फर्किनेको संख्या बढेपछि गोरखाका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बस्नेको संख्या थपिदै गएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लामा ७ सय १५ जना विभिन्न स्थानीय तहको क्वारेन्टिनमा छन् ।

एक महिनायता भारतबाटै २ सय ८० जना फर्किएका प्रशासन कार्यालयका हर्क रोकाले जानकारी दिए । गोरखा फर्किएकामध्ये सबैभन्दा धेरै भीमसेन थापा गाउँपालिकाका छन् । हालसम्म भारतबाट आएका ५६ जनालाई क्वारेन्टिनमा राखिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए ।

पालुङटार नगरपालिकाको क्वारेन्टिनमा ५२ जना छन्, जसमध्ये अधिकांश भारतबाट आएकाहरु रहेको नगर प्रमुख दीपकबाबु कँडेलले बताए ।

बारपाक सुलिकोट गाउँपालिकामा भारतबाट ४८ जना फर्किएर क्वारेन्टिनमा बसेका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । क्वारेन्टिनमा रहेकामध्ये ३१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

आरुघाट गाउँपालिकामा ६० जना क्वारेन्टिनमा छन्, भारतबाट फर्किएका आरुघाट गाउँपालिकाका ३२ जना र धार्चे गाउँपालिकाका १२ जनालाई आरुघाटकै क्वारेन्टिनमा राखिएकोस्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले बताए । उनीहरुमध्ये ३४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गण्डकी गाउँपालिकामा भारतबाट ४० जना आएका छन् । हाल ३२ जना क्वारेन्टिनमा रहेको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । शहीद लखन गाउँपालिकामा ३७ जना भारतबाट फर्किएका छन् ।

गाउँपालिकाका अनुसार हाल ३२ जना क्वारेन्टिनमा छन् । दुई जनालाई होम क्वारेन्टिनमा राखिएको अध्यक्ष रमेश थापाले बताए ।

सिरानचोक गाउँपालिकाभर हालसम्म ३४ जना क्वारेन्टिनमा छन् । उनीहरुमध्ये १८ जना भारतबाट आएको अध्यक्ष राजु गुरुङले बताए । ‘नेपालकै रेडजोनबाट आउने पनि छन्, १३ जनाको पीसीआर परीक्षणका लागि पठाइएको छ, रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।

गोरखा नगरपालिकामा हालसम्म भारतबाट आउनेको संख्या १७ छ । उनीहरुमध्ये १५ जना क्वारेन्टिनमा छन् । बाँकी दुई जना होम क्वारेन्टिनमा रहेको नगर प्रमुख राजनराज पन्तले बताए । उनका अनुसार नगरपालिका भित्रहाल ३० जना क्वारेन्टिनमा छन् ।

‘अन्य पालिकाका मान्छेहरु पनि छन्, केही दिन राखेर सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाउछौ,’ पन्तले भने ।

अजिरकोट गाउँपालिकामा हालसम्म ११ जना विदेशबाट आएका छन् । जसमध्ये अधिकांश भारतबाट आएका हुन् । उनीहरु क्वारेन्टिनमा रहेको र ९ जनाको पीसीआर परीक्षणका लागी पठाइएको अध्यक्ष फणीन्द्र धितालले बताए ।

प्रशासन कार्यालयको तथ्याङ्क अनुसार हालसम्म चुमनुव्री गाउँपालिकामा बिदेशबाट भित्रिनेको संख्या शून्य छ । तर नेपालभित्रकै अन्य जिल्लाबाट आउनेहरुलाई क्वारेन्टिनमा राखिएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘कोही क्वारेन्टिनमा बसेर घर फर्किसके अहिले ८ जना छन्,’ उनले भने ।

विदेशबाट गोरखा भित्रिएकामध्ये हालसम्म करिव एक सय जनाको पीसीआर विधिबाट परीक्षण भइसकेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

यो पनि पढ्नुहोस गोरखामा पहिलोपटक १० जनामा कोरोना, हिरासतमा थिए एक संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment