Comments Add Comment

संसदमा ‘भारतीय चेली’ शब्द प्रयोगबारे छानबिन हुने

२५ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै नेकपा सांसद गंगा चौधरी सत्गौवाले प्रयोग गरेको ‘भारतीय चेली’ शब्दबारे छानबिन गर्ने बताएका छन् ।

आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद चन्दा चौधरीले ‘भारतीय चेली’ शब्द रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका हुन् ।

चौधरी बोलिरहँदा उनलाई रोक्दै सभामुख सापकोटाले यस विषयमा आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताए । सापकोटाले भने, ‘यो विषयमा मैले रुलिङ गरिसकेको छु, सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छु । त्यो विषयमा नजानुहोला ।’

तर सांसद चौधरी रोकिइनन्, उनले नेपाल भारतबीच सदियौंदेखि विवाह सम्बन्ध कायम रहिरहेको भन्दै कुनै पनि भाषा, भेष, संस्कृति, राष्ट्रियता र मधेसका इतिहासका विषयलाई सामान्य रुपमा नलिन आग्रह गरिन् ।

आफूहरुले संसद नियमावलीको व्यवस्थाअनुसार हिन्दीमा सपथ लिएको र हिन्दीमा बोलिरहेको पनि बताइन् ।

सांसद चौधरीले बोलिसकेपछि सभामुख सापकोटाले यो प्रकरणमा सबै विवरण पल्टाएर हेर्ने र कार्यव्यवस्था परामर्श समितिमा सबैको यथोचित छानबिन हुने पनि बताए । उनले बोल्ने क्रममा व्यक्तिगत टीका टिप्पणी नगर्न र आरोप प्रत्यारोपमा नउत्रिन पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

सांसदहरुलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को (ङ) को ख्याल गर्न पनि उनले आग्रह गरे । उक्त नियममा भनिएको छ, ‘अशिष्ट, अश्लील, अपमानजक, आपत्तिजक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न नहुने’ उल्लेख छ ।

केही समयअघि समाजवादी पार्टीकी सांसद सरिता गिरीले छिमेकी भारत र चीनसँग समेत वार्ता र संवाद गरेर मात्रै नेपालले नयाँ राजनीतिक नक्सा जारी गर्नुपर्ने बताएकी थिइन् ।

त्यसको प्रतिवाद गर्दै संसदमै नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले नेपालले आफ्नो देशको नक्सा जारी गर्न छिमेकीलाई सोध्नुपर्ने ? भन्दै प्रश्न गरेकी थिइन् । त्यसक्रममा चौधरीले ‘भारतीय चेलीको दादागिरी संसदमा देखिएको’ बताएकी थिइन् ।

समाजवादी र राजपाका सांसदहरुले चौधरीको उक्त अभिव्यक्तिको विरोध गर्दै आएका छन् । समाजवादी पार्टीकी सांसद सरिता गिरीले चौधरीले प्रयोग गरेको ‘भारतीय दादागिरी’ शब्द हटाउन माग गरेकी छन् ।

सांसदहरुले लगातार यो विषय उठाउन थालेपछि सभामुख सापकोटाले सबै दलको प्रतिनिधित्व रहने कार्यव्यवस्था परामर्श समितिमा उक्त विषयमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । आफूलाई दुबै पक्षले यसबारे छलफलका लागि आग्रह गरेको समेत सभामुख सापकोटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment