Comments Add Comment

खेल पदाधिकारी भन्छन् : सुरक्षित तरिकाले प्रशिक्षण थालौं

२५ जेठ काठमाडौं । कोरोनाको महामारीका कारण ठप्प भएको विश्व खेलकुद क्षेत्र बिस्तारै चल्मलाउने प्रयासमा छ । सुरक्षाका उपायहरू अपनाउँदै मैदानमा फर्किन विश्वभरका खेलाडी आतुर छन् ।

जर्मनीमा कोरोना कहरकै बीच जर्मन बुण्डेसलिगा सुरु भयो । क्लोज डोरमा गरिएको यो फुटबल लिगमा दर्शकलाई भने इन्ट्री दिइएको छैन । प्रिमियर लिग ला लिगा सिरी ए पनि चाँडै सुरु हुँदैछ ।

नेपालमा चाहिँ अहिलेसम्म खेलाडीलाई मैदानमा फर्काउने कुरा सरकारको प्राथमिकतामा परेको छैन । चैत पहिलो सातादेखि देशमा कुनै पनि खेल गतिविधि भएका छैनन् । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिले विभिन्न चरणमा लकडाउन खोल्न तयार पारेको प्रस्तावमा खेलकुद क्षेत्रलाई पछाडि राखेको छ । त्यसैले गर्दा पनि अब फेरि कहिले मैदान फर्किन पाइएला भन्ने अन्योलमा छन् खेलाडीहरू । प्रतिस्पर्धात्मक खेल नभए पनि कम्तीमा प्रशिक्षणसम्म सुचारु गरिनुपर्ने उनीहरूको मत छ ।

अनलाइनखबरले खेल क्षेत्रका तीन पदाधिरीकारीसँग यस विषयमा कुरा गर्दा उनीहरूको पनि यस्तै धारणा पाइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष, कराँते प्रशिक्षक अनि सागमा दुई पटक स्वर्ण जितेका दीपक श्रेष्ठले खेलाडीहरूमा मानसिक रुपमा ठूलो असर परिसकेको र अब छिटै प्रशिक्षणमा फर्किनुपर्ने बताए । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि सुरक्षित उपाय अपनाउँदै प्रशिक्षण सुरु गर्नुपर्नेमा जोड दिए ।

यसैगरी एथ्लेटिक्स प्रशिक्षक तथा लेक्चरर सुशील नरसिंह राणाले अब ढिला गरेका खेलाडीको लेभल जिरोमा पुग्ने र फेरि पुरानो लयमा फर्किन गाह्रो हुने बताए ।

उनीहरू तीनैजनाको भनाइ जस्ताको त्यस्तैः

खेलकुद मन्त्रालयले पहलकदमी लिनुपर्छ
जीवनराम श्रेष्ठ (सांसद तथा अध्यक्ष नेपाल ओलम्पिक कमिटी)

अहिले प्रतिकूल परिस्थिति छ । सामान्य अवस्था भइसकेको छैन । तर पनि कोरोनाबाट सुरक्षित रहँदै विभिन्न कामहरू अगाडि बढाउनुपर्ने आवश्यकता पनि बनेको छ ।

खेलकुद क्षेत्रलाई पनि अब बिस्तारै चलायमान बनाउनुपर्छ । कोरोना संक्रमणबाट बच्ने उपायसहित प्रशिक्षण अगाडि बढाउनुपर्ने हुन्छ । त्यसका लागि मन्त्रालयले अब सम्बन्धित सबैसँग छलफल गरेर नियमहरूको तर्जुमा गरिनु आवश्यक छ । भाइरोलोजिस्ट तथा जनस्वास्थ्यका विज्ञहरूसँग बसेर छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ ।

जे होस्, अब चाहिँ गतिविधि सुरु गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि मन्त्रालयले नै नेतृत्व गर्नुपर्छ । हामी ओलम्पिक कमिटीको तर्फबाट सहयोगी भूमिका खेल्छौं । विभिन्न आइडियाहरू पनि हामी सेयर गर्छौं । पूर्वाधार त सबै सरकारअन्तर्गत हुने हो । खेलकुद विकासका लागि सबैभन्दा जिम्मेवार भनेको सरकारको युवा तथा खेलकुद मन्त्रालय नै हुन्छ । त्यसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् हुन्छ । मन्त्रालयले नै यो कुराको पहल गर्नुपर्‍यो भन्ने मेरो मान्यता हो ।

अहिले कोरोनाका कारण मानिसहरूमा आतंक छ र मनोवैज्ञानिक असर पनि पारेको छ । खेलकुदले मान्छेलाई यस्तो असर कम गर्न सहयोग गर्छ । समाजमा सकारात्मक सन्देश जान्छ । त्यसैले अब योजना बनाएर सुरक्षित तरिकाले अभ्यासहरू अगाडि बढाउनु उचित हुन्छ ।

विज्ञको कुरा सुन्नुपर्छ
सुशील नरसिंह राणा (एथ्लेटिक्स प्रशिक्षक र लेक्चर)

मैले यस बारे बारम्बार भनिसकेको छु । खेलकुद क्षेत्रलाई पुनः चलायमान बनाउने सवालमा अलिकति प्राविधिक मानिसले भनेको कुरा सुन्नुपर्छ । उनीहरूलाई के थाहा हुन्छ भने खेलाडीहरू लामो समयसम्म ट्रेनिङ नगरी बस्दा सबै लेभल जिरोमा पुग्छन् । फेरि ‘रिगेन’ गर्न लामो समय लाग्छ । रिगेन गरिसकेपछि पनि पहिलेको भन्दा माथिको स्तरमा पुग्दैन ।

हामीसँग सागमा ल्याएको सुखद् नतिजा थियो । त्यो नतिजालाई निरन्तरता दिन सकेको भए एसियन लेभलमा प्रतिस्पर्धा गर्न तयार हुन्थ्यौं । अहिले पनि केही बितेको छैन । लामो लकडाउनका बाबजुद पनि खेलाडीहरू ‘आइसोलेट’ नै चाहिँ छैनन् । तर अझै लामो समयसम्म यस्तै रहिरह्यो भने खेलाडीहरूमा पनि निराशा आउँछ । त्यसले उनीहरूलाई पलायनोन्मुख बाटोमा धकेल्न सक्छ । त्यो भनेको खेल क्षेत्रलाई ठूलो क्षति हो । फेरि नयाँ ट्यालेन्ट खोजेर शून्यबाट सुरु गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय खेलकुद परिषद्मा पनि धेरै प्राविधिकहरू हुनुहुन्छ । उहाँहरूको ट्रेनिङ डिपार्टमेन्ट छ । ट्रेनिङ डिपार्टमेन्टले प्रशिक्षणमा जोड दिनुपर्‍यो । योजना बनाउनुपर्‍यो ।

पछिल्लो कुरा गर्ने हो भने श्रीलंकाको क्रिकेट टिमले ट्रेनिङ सुरु गरेको छ । मलेसियाले सुरु गर्‍यो । अहिले बरु खेलाडीहरू सुरक्षित छन् । लकडाउन खुलेपछि उनीहरू छरपस्ट हुन्छन् । संक्रमण हुन सक्ने खतरा उच्च हुन्छ । त्यसैले तत्काल उनीहरूलाई क्वारेन्टिनमा राखेर मजाले ट्रेनिङ दियौं भने पछिको लागि राम्रो हुन्छ ।

परिषद्का पदाधिकारीहरू पनि प्रयास गरिरहेका छौं भन्नुहुन्छ । कहाँनेर अड्किएको हो, कोबाट निर्देशन आउनुपर्ने हो, मन्त्रालय र परिषद्भन्दामाथि को छ ? हरेक मन्त्रालयले आफ्नो तहमा बसेर काम गर्न पाउने अधिकार त होला नि ।

प्रशिक्षणमा फर्किन हतार भइसक्यो

दीपक श्रेष्ठ
अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र कराँते प्रशिक्षक

अब कसरी हुन्छ, चाँडोभन्दा चाँडो ट्रेनिङ सुरु गर्नुपर्छ । जहिले पनि कोरोना–कोरोना भनेर घरमै थुनिएर बस्दा झन् त्यो प्रत्युत्पादक हुन्छ । यसको असर खेलाडीहरूमा पर्न थालेको मैले अनुभव गरेको छु ।

सागका खेलाडीहरूलाई पाँच महिनादेखि निरन्तर ट्रेनिङ दिइरहेका थियौं । अहिले एकैचोटी प्रशिक्षण बन्द गरेर बस्दा उनीहरूको हालत कस्तो भइरहेको होला ?

ओलम्पिकको लागि पनि हामीले अवसर पाएका छौं । एक वर्ष ढिला हुने भयो । त्यसले हाम्रो बाटो खोलेको छ राम्रो तयारीका लागि । तर अझै घरमै थुनिएर बस्नुपर्‍यो भने खेलाडीमा झन् नराम्रो असर पर्छ । शारीरिक हिसाबले त परिसक्यो, मनोवैज्ञानिक रुपमा पनि अब असर देखिन्छन् । उनीहरूको कार्यसम्पादन शून्यमा आइसकेको छ । त्यति लामो समयले गर्दा कोही–कोही खेलाडी त अब म कमब्याक गर्न सक्दिन होला भन्ने खालको मानसिकतामा समेत पुगिसकेका हुन्छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छिटोभन्दा छिटो ट्रेनिङ सुरु गर्ने भनिरहेको थियो । त्यो खाली कुरामा मात्र सीमित भइरहेको छ अहिलसम्म खासै ठोस कदम उठाको जस्तो मलाई लाग्दैन । अब हतार भइसकेको छ । हामीले पनि केही समयअघि राखेपका सदस्यसचिवसँग कुरा गर्न जाँदा यसलाई चाँडोभन्दा चाँडो सुरुवात गर्न म बिस्तारै परामर्श गरिरहेको छु भन्नुभएको थियो । इन्डिभ्युजल गेमका लागि ट्रेनिङ सुरु गरौं न भन्नुभएको थियो । हामीले पनि सहमति जनाएका थियौं ।

अहिले सरकारले लकडाउन गरिरहेको छ । कोचको रुपमा मैले खेलाडीलाई बोलाएर ट्रेनिङ गर्न सकुँला, तर लकडाउनको नियम पनि पालना गर्नुपर्छ । हाम्रो अभिभावक संस्था भनेको खेलकुद परिषद् र मन्त्रालय हो । अब मन्त्रालयले एउटा निर्देशिका जारी गरेर मापदण्ड बनाउनुपर्छ । त्यसलाई सबैले पालना गर्नुपर्छ ।

खेलाडीलाई अहिले क्लोज क्याम्पमा राख्न सकिँदैन भने उनीहरूलाई लकडायरी दिने । उसले क–कसलाई भेट्यो के गर्‍यो दैनिक डायरी त्यसमा टिपेर राख्न लगाउने । राखेपले पनि एउटा मापदण्ड तयार गरेर खेलाडीहरूलाई तुरुन्त ट्रेनिङ गराउनुपर्छ । राखेपले संघलाई त्यसअनुसार निर्देशन दिएर वा पत्राचार गरेर ट्रेनिङ थाल्न भन्नुपर्छ ।

नेपाल ओलम्पिक कमिटीलाई पनि त्यहीअनुसार राखेपले निर्देशन दिनुपर्छ । ओलम्पिक छनोट खेल्ने खेलाडीको प्रशिक्षण हुन सकेको छैन । त्यसलाई पनि बाधा अड्काउ फुकाउनुपर्छ । अहिले चाहिँ गर्ने खालको कुरा राखेपले गरेको छ, तर गरिहालेको छैन । हामीलाई भने ट्रेनिङ गरिहाल्न हतार भएको छ ।

खेलकुद पनि विशेष महत्व राख्ने क्षेत्र हो नि । यहाँ पनि त्यस्तो खालको इनिसिएसन हुनुपर्‍यो । तर धेरै कम छ । भन्दा आलोचना गरेजस्तो हुन्छ तर बोलाइभन्दा गराइ कम भएको छ ।

खेलाडीको ट्रेनिङ छुट्टै पाटो हो । राखेपको प्रशिक्षण तथा तालिम विभाग पनि छ । राखेपमा प्रशासनको कुरा प्रशासनले हेर्ने हो । अरू विभागले आफ्नो काम गर्न सक्छ । अहिले कसरी प्रशिक्षणलाई अगाडि लैजान सकिन्छ भनेर जिम्मेवार व्यक्तिलाई तालिमको जिम्मा दिए हुने हो । सबै आफैँले हेरेर हुँदैन ।

मुख्य कुरा ट्रेनिङ नै हो । हामी सबै खेलाडीहरू ट्रेनिङ गर्नका लागि आतुर छौं । अहिलेको समय ट्रेनिङ मात्रै गर्ने समय हो, प्रतियोगिता गर्न समय होइन । राखेपसँग अहिले यही प्रतियोगिताको लागि क्लोज क्याम्प राख्ने, बन्द प्रशिक्षण राख्ने भन्ने छैन तर ओलम्पिकसँग त छ । ओलम्पिकको लागि तयारी गर्न सकिन्छ । ओलम्पिक सोलिडारिटी कोर्सअनुसार खेलाडीलाई पाँच सय डलर आइरहेको छ । त्यसबाट तीव्र रुपमा काम गर्नुपर्छ ।

सुरुमा ओलमपिक कमिटीले एक हप्ता मनोपरामर्श दिएको थियो । त्यसपछि खासै केही देखिएको छैन । अब लकडाउन बिस्तारै खुल्छ होला भन्ने आशा छ । यो झन् परामर्श चाहिने बेला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment