Comments Add Comment

लकडाउनको अवधिमा कति भयो सडकको काम ?

२६ जेठ, काठमाडौं । सडक विभागले लकडाउनको अवधिमा करिब ७५ किलोमिटरभन्दा बढी सडकमा नयाँ कालापत्रे गर्ने काम सकेको छ । चैत ११ देखि लकडाउन भएपछि सुरुवातका केही दिनमा विकास निर्माणका काम रोकिएका थिए ।

तर सतर्कता अपनाउँदै सडक निर्माण र मर्मत गर्ने योजना बनाएर विभागले काम थालेको थियो । यसबीचमा विभागले करिब ४० किलोमिटर खण्डको ग्राभेलिङको काम पनि गरेको महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । लकडाउनको अवधिमा करिब ५२ किलोमिटर सडकखण्डमा कालोपत्रे ओभर-ले गर्ने काम पनि भएको विभागले जानकारी दिएको छ।

यसबाहेक विभागले ‘रोड मार्किङ’ र केही पुलहरू निर्माणको काम समेत जारी राखेको थियो । वर्षमा क्षति पुग्न सक्ने आकलन गरिएका निर्माणाधीन पुलको काम नरोक्ने नीतिअन्तर्गत लकडाउनको अवधिमा ठेकेदारहरूलाई विभिन्न किसिमबाट सहजीकरण गरेको महानिर्देशक शर्माले जानकारी दिए ।

लकडाउनपछि अन्तिम चरणमा पुगेका २१ वटा पुलको निर्माण सकिएको छ भने २४८ पुलमा निरन्तर काम भएको थियो । लकडाउनमा विकासको काम गर्नै नसकिने मनस्थिति बनेका बेला सबैपक्षको सहयोग लिएर अधिकतम प्रयास गरिएको उनको भनाइ छ ।

लकडाउनमा कतिपय काम जारी राखे पनि विभागले लक्ष्यअनुसार काम र खर्च भने गर्न सकेको छैन ।


सवारीको चाप घटे पनि खटिने सवारीको लागि पासको व्यवस्थापन गर्न, आवश्यक मजदुरको व्यवस्थापन गर्न र लकडाउनमा क्रसर, ट्रक, ट्रिपरहरू चल्दा स्थानीयले आपत्ति जनाएपछि निर्माण सामग्रीको व्यवस्थापन गर्न निकै अप्ठ्यारो परेको महानिर्देशक शर्माले बताए।

यद्यपि उपलब्ध स्रोत साधनको उपयोग गरेर सम्भाव्य सडकहरूमा मर्मतको काम वर्ष अगावै गरिएको विभागले जनाएको छ । अहिले पनि समस्याका बाबजुद कामदारहरूबीच भौतिक तथा सामाजिक दुरी कायम राख्दै र सुरक्षा उपाय अपनाउँदै काम भइरहेको विभागले जनाएको छ।

विभागले लकडाउनमा मेसिनको बढी प्रयोग हुने आयोजनाहरूमा काम गरिरहेको छ । सडक खाली भएको मौका पारेर गरिएका मर्मतलगायतका काम टिकाउ हुने विभागको तर्क छ ।

काठमाडौंमा के भयो ?

लकडाउनको अवधिमा काठमाडौं सडक डिभिजन कार्यालयले मात्रै १५ किलोमिटर सडकमा ओभर-लेको काम गरेको छ । ५ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ । डिभिजन प्रमुख कुवेर नेपालीका अनुसार २० किलोमिटर सडकमा ट्राफिक चिह्न मार्किङको काम गरिएको छ ।


उनले यो वर्ष डिभिजनअन्तर्गत मर्मतको काममा राखिएको लक्ष्य लगभग पूरा भएको बताए । डिभिजनअन्तर्ग‍त ४१ किलोमिटर सडक मर्मतको काम गरिएको नेपालले जानकारी दिए ।

‘अब टेकुमा ३-४ सय मिटर सडकमा काम बाँकी टेकुमा बाँकी छ,’ उनले भने,’ निर्माण सामग्रीको उपलब्धताको अभावले गर्दा चाबहिल-गौशाला खण्डमा अपेक्षाअनुसार काम गर्नै सकिएन, तैपनि वर्षा अगावै बाटोमा कालोपत्रे गरिसक्ने लक्ष्य छ ।’ उनले मौसमले साथ दिए अझै केही समय सडक मर्मतको काम जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment