Comments Add Comment

‘अब धेरै बाँच्नुहुन्न भन्ने थाहा थियो, कोरोनाले पनि छोयो’

मिर्गौलाले कामै नगरेपछि फर्केका थिए, स्याङ्जाका मृतक

२६ जेठ, पोखरा । उनलाई मनमा ठूलो भुइँचालो आए झैं भयो । टेकेको जमिन भासिए झैं लाग्यो । तर, पनि जे नहुनु थियो भइहाल्यो । एक वर्ष अगाडि नै बुबाको दुबै मिर्गौला फेल हुँदा उनलाई संसारै अँध्यारो लागेको थियो ।

तर मनमा झिनो आशा भने थियो, ‘एक दिन बुबा ठिक हुनु हुनेछ र फेरि परिवार खुसीमा रमाउने छ ।

ठिक एक वर्षपछाडि परिस्थिति उल्टो भइदियो । बुबाले यो संसारबाट बिदा लिएको खबर सुन्नुपर्‍यो । आइतबार बिहान स्याङ्जा वालिङका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणले ज्यान गएको खबर सार्वजनिक हुँदा उनकी पत्नी र छोरी सँगै थिए । आमाले श्रीमान गुमाइन्, छोरीले बुबा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा वृद्धको मृत्यु हुँदा उनकी पत्नी र छोरी पोखरा महानगरपालिकाको क्वारेन्टिनमा सँगै बसेर सुक्सुकाए ।

उनीहरुका लागि यो खबर अप्रिय त थियो तर अप्रत्यासित भने थिएन । अब धेरै बाँच्नुहुन्न भन्ने उनीहरुलाई केही महिना अगाडि नै पक्का भइसकेको थियो । ‘बुबाको मिर्गौला साह्रै खराब भइसकेर उपचार सम्भव नभएपछि भारतबाट फर्किँदै हुनुहुन्थ्यो,’ मृतककी जेठी छोरीले अनलाइनखबरसँग भनिन् ।

६ महिनाअघि थप उपचार गर्न सकिन्छ कि भनेर उनी श्रीमतीलाई लिएर भारततिर गएका थिए । छोरीका अनुसार उनका बुबाआमा पहिले १०-१५ वर्ष भारततिरै बसेका थिए । ‘बुबाले भारततिरै कम्पनीमा काम गर्नुहुन्थ्यो । आमा पनि उतै बस्नुहुन्थ्यो,’ उनले भनिन्, ‘केही वर्षअघि यता आउनुभएको थियो । एक वर्षअघि दुबै मिर्गौलाले काम छोड्यो ।’

मिर्गौला फेर्न नसक्ने अवस्थामा पुगिसकेकाले नफेरिएको तर पनि केही उपचार हुन सक्छ कि भनेर भारततिर गएको उनले बताइन् । मृतकका २ छोरी र श्रीमतीमात्र छन् ।

‘मिर्गौलाले कामै गर्न नसक्ने भएपछि अब घर नै फर्कनुपर्छ भनेर आमाले लिएर आउँदै हुनुहुन्थ्यो । च्यापेपछि पोखरामा हस्पिटल लग्यौं । तर, बाँच्नुभएन,’ उनले भनिन्, ‘बुबालाई मिर्गौला र अरु समस्या पनि थियो ।’

घरमै सदगत गर्ने भनेर फर्किए पनि परिवारले केही गर्न पाएनन् । अन्तिम पटक मुख हेर्ने धोको पनि पूरा भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment