Comments Add Comment

अचानक कसरी खुल्यो वीरगञ्ज बजार ?

२६ जेठ, वीरगञ्ज । लामो समयदेखिको बन्दाबन्दीको असर वीरगञ्ज बजारमा पनि परेको छ। अत्यावश्यक वस्तुहरूको आपूर्ति सहज हुन सकेको छैन । त्यसैले जिल्लाका उद्योगी, व्यवसायीहरूले कोभिड–१९ को संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन प्रशासनलाई अनुरोध गरे ।

स्थानीय प्रशासनले २३ जेठदेखि लागु हुनेगरी जोर–विजोर प्रणालीमा व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गर्‍यो ।

तर स्थानीय प्रशासनले सोचेअनुसार निर्णय कार्यान्वयन हुन सकेन । बजारमा अत्याधिक मात्रामा भिड देखियो । बजार खुलेपछि सवारी साधन समेत चल्न थाले । सामाजिक दुरीको पालना भएन । मानिसहरू मास्क समेत प्रयोग नगरी बजार निस्केपछि प्रशासनले जेठ २१ गते गरेको निर्णयमध्ये बुँदा नम्बर ५ र ६ मा उल्लेखित व्यवसाय सञ्चालन गर्न दिने निर्णय खारेज गर्‍यो

निर्णय कार्यान्वयन गर्न व्यापारीको जुन किसिमको सहयोगको जरुरी थियो, त्यो नपाएपछि स्थानीय प्रशासन आफैँले गरेको निर्णयबाट पछाडि हट्नुपर्‍यो । निर्णयको बुँदा नम्बर ५ मा रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आदिका पसल जोर गते तथा हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवर्क, भाँडाकुँडा, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिजोर गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्ने उल्लेख थियो । पछिल्ला दिनमा बजार नखोल्ने निर्णय कार्यान्वयन गराउन प्रशासनलाई हम्मेहम्मे परेको छ ।

आइतबार पनि बजार खुल्यो, भिडभाड बढेपछि बजार बन्द गराउन सुरक्षाकर्मीलाई सास्ती नै भोग्नुपर्‍यो । सोमबार बिहान ११ अचानक बजार खुल्न थाल्यो । वीरगञ्जको मुख्य बजार क्षेत्र, घण्टाघर, माईस्थान, आदर्शनगर क्षेत्रमा कपडा, जुत्ता, चप्पल, किराना पसल धमाधम खुल्न थाले ।

बजार खुलेको दृश्य र मानिसको भिडभाड हेर्दा पर्सामा लकडाउन हटिसकेको जस्तो भान हुन्थ्यो । व्यापारीहरूले प्रशासनसँगको सहमतिमै बजार खुलेको बताइरहेका थिए । तर बजारमा सामाजिक दुरी पालना भइरहेको थिएन । कतिपय मानिसहरू मास्क नलगाई बजार डुलिरहेका देखिन्थे । स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको देखिँदैन’थ्यो ।

वीरगञ्जमा रेडिमेड कपडाको पसल सञ्चालन गर्दै आएका सुरज गुप्ताले उद्योग वाणिज्य संघबाट पत्र आएपछि बजार खुलेको बताए । ‘हामीले आफैँले खोल्ने भए त बिहान ९/१० बजे नै खोल्ने थियौं हैन र ?,’ उनले भने, ‘उद्योग वाणिज्य संघबाट पत्र आएकोले ११ बजेपछि सबैले पसल खोलेका हुन् ।’

वीरगञ्ज उद्योग वाणिज्य संघले सोमबार एउटा अनुरोध पत्र जारी गरेको छ । पत्रमा आलोपालो बजार सञ्चालन गर्दा व्यवसायी र ग्राहकहरूले अपनाउनुपर्ने प्रावधान अनिवार्य रुपमा कडाइका साथ अवलम्बन गर्नुपर्ने उल्लेख गर्दा पनि अटेर गरेको उल्लेख छ । ‘सूचना वीरगञ्ज बजारका सबै ठाउँमा सम्प्रेषित गर्दागर्दै पनि न त व्यवसायीले मापदण्ड अनुरुप कार्य गरेको देखियो न त ग्राहक महानुभावले नै पालना गरेको पाइयो । २३ गतेदेखि सञ्चालनमा आएको बजार २५ गते नै बन्द गर्नुपर्ने बाध्यकारी स्थिति भयो ।’ संघले जारी गरेको पत्रमा उल्लेख छ ।

झण्डै तीन महिना लामो लकडाउनका कारण व्यापार व्यवसाय संकटग्रस्त बन्न पुगेकोले राहत हुने गरी गरिएको निर्णय कार्यान्वयनमा व्यवसायीले साथ दिनुपर्ने पत्रमा उल्लेख छ । सोमबारबाट पुनः वीरगञ्ज बजार जोर–बिजोर प्रणालीमा सञ्चालनमा आउने तर प्रशासनबाट जारी भएको आदेश एवं सूचना तथा स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न पत्रमार्फत सरोकार सबैपक्षसँग अनुरोध गरिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लकडाउनका कारण मर्कामा परेका व्यापारीलाई आलोपालो बजार खोल्दा नै राहत हुने देखेर त्यसो गरिएको बताए । ‘लकडाउनले गर्दा व्यापार व्यवसाय ठप्प छ, लामो समय वितिसकेको र विकल्प नआउँदा व्यपारीहरु उकुसमुकुसको अवस्थामा छन्,’ उनले भने, ‘आलोपालो प्रणालीमा बजार खुलाउँदा सबैलाई राहत हुन्छ भनेर त्यस्तो निर्णय गरेका हौं । बरु स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनका लागि प्रशासनले सहयोग गर्नुपर्छ ।’

प्रशासनले गरेको निर्णय अटेर गरेको नभई अहिलेको आवश्यकता र समग्र व्यापारी तथा उपभोक्ताको हितका लागि आलोपालोमा जाने निर्णय भएको हुँदा सबै पक्षले अस्वभाविक भिडभाड हुन नदिन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बजारको विषयमा जेठ २३ गतेपछि कुनै पनि निर्णय नभएको बताउँछन् । ‘स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएपछि बजार बन्द गर्ने निर्णय भएको हो । त्यसपछि हामीले कुनै पनि निर्णय गरेका छैनौं,’ सहायक प्रजिअ बस्नेतले भने, ‘केन्द्रबाट अर्को निर्णय नआउँदासम्म बजार बन्द नै राख्ने भन्ने नै छ ।’

उनले पर्सामा संक्रमणको केस देखिने क्रम नरोकिएकोले थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment