Comments Add Comment

विद्यालयको शैक्षिक सत्रमा एकरुपता कति आवश्यक ?

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको समाचार पढेपछि केही लेख्न मन लाग्यो । कोभिड–१९ को फैलावट बढिरहेको र अझ नेपालमा साना बालबालिका पनि जोखिमा पर्ने गरेको पाइएको छ । यस्तो प्रभावित अवस्थामा विद्यालय कसरी खोल्ने होला ? सबैमा चिन्ता र चासो हुनु स्वाभाभिक र अपेक्षित पनि हो ।

यसमा विद्यालय तत्कालै खोल्नुपर्छ र तत्काल कुनै हालतमा खोल्नुहुँदैन भन्ने दुई थरी तर्कहरु रहेको पाइन्छ । नीति निर्माताले त जसो गरे पनि गाली पाउने हो । तथापि यसमा सोच विचारपूर्वक निर्णय लिन आवश्यक हुन्छ नै । त्यसैले असार १ बाट वैकल्पिक माध्यमको उपयोग गर्दै विद्यार्थीलाई सिकाइतर्फ फर्काउन खोजिएको देखिन्छ । तर औपचारिक शैक्षिक सत्रको थालनीबारे भने तत्कालै निर्णय गरिहाल्न पनि सहज छैन । रोकिएका परीक्षा सञ्चालन गर्ने विषय पनि यस्तै अनिर्णित रहनु स्वाभाविकै हो ।

यतिबेला विद्यार्थी, अभिभावक र अभियन्ता महानुभावहरुले आफ्ना विचार अभिव्यक्त गर्ने तर आग्रह नराखी निकासको प्रतीक्षा गर्न नै उपयुक्त हुन्छ भन्ने लाग्दछ । विद्यालय पुनः सञ्चालन गर्ने बिषय सहज छैन । हालसम्म २००० भन्दा बढी विद्यालय क्वारेन्टिन स्थल बनेका छन् । लगानी र प्रतिफलका विषयहरु फेरिदैछन् । रेमिट्यान्समा आश्रित रही सरकारी निःशुल्क शिक्षा तिरस्कार गर्ने सहित ठूलो समूह परम्परागत पेशामा फर्किने अवस्था बन्दैछ । अभिभावकको पेशा र व्यवसाय परिवर्तन हुँदैछ । सामाजिक दुरी सहितको बसाइ, सेनिटाइजेशन र पोषण, सरसफाइसहित न्युनतम स्वास्थ सुविधा, शिक्षक र सहजकर्ताको स्वास्थ्यसँगै अभिभावक र विद्यार्थी स्वयम्कोे तयारी जस्ता अनेक पक्ष विचारणीय छन् । त्यसैले अहिले वैकल्पिक सिकाइ व्यवस्थापनलाई जोड्न खोज्नु नै उपयुक्त हुने देखिन्छ ।

यी विषयसँगै अहिले शैक्षिक सत्र पर धकेलिएको बारे पनि चिन्ता व्यक्त हुन थालेको छ । नेपालमा शिक्षा ऐन अनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र ३ चरणमा सुरु हूँदै आएको छ । कक्षा १० सम्म हिमाली जिल्लामा फागुन, अन्य जिल्लामा वैशाख र कक्षा ११, १२ को मुलकभर साउन महिनामा शैक्षिक सत्र प्रारम्भ हुने गरेको छ । भलै केही प्राविधिक समस्या छन् तर आर्थिक वर्षसँग मिलाएर साउनलाई नै सबै कक्षाको शैक्षिक सत्र प्रारम्भ गर्नै महिना कायम गरे उपयुक्त हुन्न र भन्ने प्रश्नसेत उठ्ने गरेको पाइएको छ ।

शैक्षिक सत्र बालबालिका विद्यालय पठाउन अभिभावकको अनुकुलता, पाठ्यपुस्तक लगायत शैक्षिक सामग्री व्यवस्थापनमा सहजता र अन्तराष्ट्रिय शैक्षिक सत्रसँग अधिक तादाम्यसँगै मुलुकको आर्थिक कारोबारमा सहजता हुनु पर्ने जस्ता पक्षहरु महत्वपूर्ण हुन्छन् । जलवायु परिवर्तन अर्थात् बढ्दो तापमानको प्रभावले समय केही अघाडि सर्दैछ । अहिले बर्खे झरी नै अघाडि सर्दै आएको देखिन्छ । यस आधारमा कृषि कार्य नजानिदो ढंगले अघि सदै आएको छ ।

हामीले विद्यालयमा अध्ययन गर्दा मंसिरमा परीक्षा र पुसबाट नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्थ्यो । त्यतिबेला एसएलसी परीक्षा माघ महिनामा सञ्चालन हुन्थ्यो, झण्डै ४, ५ महिना पछि नतिजा आउँथ्यो । हाम्रा पुर्खाले औपचारिक शैक्षिक सत्रको अभ्यास नै गर्नु परेन । अहिलेको विद्यालय पुस्ताभने ३ चरणका शैक्षिक सत्रमा अभ्यस्त छ ।

कुनै विपद्, महामारी वा संक्रमण कालमा दूरगामी निर्णय गर्न उपयुक्त हुन्न भन्ने मेरो पनि मान्यता छ । जस्तै– कक्षा १०, ११ र १२ का एसईई परीक्षा रोकिएको छ । कक्षा १० र ११ को परीक्षालाई अहिले नै हटाउने निर्णय गर्नु उचित हुन्न भन्ने लाग्दछ । तर, शैक्षिक सत्र हिमाली जिल्लाको बाहेक अहिलेसम्म सुरु नै भएको छैन । कक्षा प्रारम्भ गर्दा नै विद्यार्थीलाई कति समय पठनपाठन हुने, सिकाइको मूल्यांकन कसरी गर्ने र त्यो कुन स्तरको हुन्छ भन्ने पूर्व निर्धारित नीति आवश्यक हुन्छ । यस आधारमा मूलतः प्रारम्भ नै नभएको शैक्षिक सत्रका बारेमा समयअनुकुल छलफल गर्न सकिने देखिन्छ ।

विगतमा पनिआर्थिक वर्षसँँगै शैक्षिक सत्र प्रारम्भ गर्ने प्रयास भएको तर उपयुक्त नदेखिएर वैशाखमा पुरयाएको भन्ने गरिएको पनि पाइन्छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ कक्षाका लागि विद्यार्थी भर्ना अभियान थालनी गर्दा केही प्रभावकारी पनि देखिएको छ । साथै यो समयमा पाठ्यपुस्तकलगायत शैक्षिक सामग्री ढुवानी र व्यवस्थापन गर्न अनुकुल मौसमले साथ दिएको देखिन्छ । तर, यो शैक्षिक सत्रका केही कमजोरीहरु पनि छन् । जस्तै– आर्थिक वर्षसँग मिलान नहुनाले पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा आदिको रकम दुई आर्थिक वर्षमा पर्न जान्छ ।

विद्यालय शिक्षामा शैक्षिक सत्रको प्रारम्भ एकै समयबाट हुने गरेको छैन । शैक्षिक सत्र अनुसार फरक हुने विद्यार्थी संख्या र यसको योजना र वित्तीय व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।निजी लगानीका अर्थात् संस्थागत विद्यालयहरुलाई वित्तीय कारोवारको व्यवस्थापन गर्न पनि कठिनाइ हुने गरेको गुजासो रहने गरेको छ ।

विदेशिएका, शहरतिर पुगेका वा गाउँघर छोडेका युवा र अभिभावकहरु अब आफ्नै थातथलोमा फर्किएको यस सुनौलो अवसरलाई सार्वजनिक शिक्षामा सुधारका आधारका रुपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्थाको अपेक्षा रहनु स्वाभाविक ठहर्छ ।

पठनपाठनमा सहज र अनुकुल मौसम हुने चैत, वैशाख महिना परीक्षा र भर्नामा खर्च हुने गरेको छ । पहिलो त्रैमासिक परीक्षा लिएर असारे खेती गर्न विदाको उपयोग गर्न खोज्दा ३ महिना पुगेको हुन्न । लामो गर्मी विदा, यद्यपि यो अवधि खुम्चिँदैछ र खुम्च्याउनु पनि पर्छ, अन्तिम परीक्षापछिको नयाँ शैक्षिक सत्रका तयारीमा लगाउन सकिएको छैन ।

यदि यसमा परिवर्तन गर्ने हो भने कहिले र किन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । यसका लागि केही विकल्पहरु हुन सक्छन् । जस्तै– आर्थिक वर्षसँगै साउन महिना, मंसिर थन्क्याएपछि पुस महिना वा साविककै अघिल्लो वर्षको फागुन, पछिल्लो वर्षका बैशाख र साउन महिना ।

साउन महिनामा पनि बाढी र पहिरोको जोखिम रहन्छ । पाठ्यपुस्तक लगायत शैक्षिक सामग्री ढुवानीमा अप्ठ्यारो पर्न सक्छ । यस बाहेक खेतीपाति गर्ने समय भएकाले किसान अभिभावकबाट भर्ना अभियानमा सहयोग पाउन कठिन हुन सक्छ । तर, यससँगै साउन महिनाका केही राम्रा पक्ष पनि छन् । जस्तै– हालका ३ किसिमको भर्ना समय एउटै हुन्छ, भर्ना अभियान र अन्य तयारीमा एकीकृत बल लगाउन सजिलोे हुन्छ । पाठ्यसामग्री ढुवानी र व्यवस्थापनमा त यातायतको सुविधा समेत राम्रो हुँदै आएको हुनाले अब खास समस्या पर्ने देखिन्न ।

जेठ महिनाको अन्तिममा वार्षिक परीक्षा गरी बर्खे विदा गर्ने र त्यही समयमा परीक्षाफलको तयारी गर्ने र नयाँ शैक्षिक सत्रको प्रारम्भ अर्थात साउन १ गते नतिजा प्रकाशन गर्ने, १५ दिन नयाँ भर्ना र शैक्षिक योजना तयारी गर्ने समय निर्धारण गरी साउन १६ गतेबाट कक्षा प्रारम्भ गर्न सकिन्छ । यसो गर्दा किसानको खेती गर्ने समयलाई धेरै असर गर्दैन। नतिजा प्रकाशनको तयारी र वर्खे विदा जोडिँदा समयको पनिबचत हुन्छ । यसका साथै चैत्र वैशाख जस्तो उर्बर समय पठनपाठनमा नै व्यस्त बनाउन सकिन्छ । कक्षा ११ को परीक्षा विद्यालयलाई नै जिम्मा दिन सकिन्छ । सरकारी नीतिअनुसार कक्षा १० को परीक्षा प्रदेश तहमा कायम गरी अरु कक्षाको वार्षिक परीक्षा हुनुभन्दा ठीक पहिले नै यो परीक्षा सक्ने हो भने ४० दिनभित्रमा नतिजा निकाल्न कठिन पर्दैन ।

हाम्रा पालामा हुने गरेको पुसबाट शैक्षिक सत्र थालनीका पनि केही राम्रा विशेषता थिए । तत्कालीन एसएससी माघ महिनामा हुन्थ्यो । कक्षा १० का विद्यार्थीले शैक्षिकसत्रभर अध्ययन गरेर सार्वजनिक परीक्षाका लागि तयारी गर्न अतिरिक्त समय पाउँथे । जेठमा अर्धवार्षक परीक्षा भई बर्खे विदा हुन्थ्यो ठिकै थियो । यसलाई त परिवर्तन गरि नै सकियो । यो परिवर्तनको राम्रो विशेषता भनेको कक्षा १० पछि हुने एक वर्षको घाटालाई समायोजन गर्न सकिएको छ ।

उल्लेखित आधारमा हेर्दा साउन महिनालाई शैक्षिक सत्र प्रारम्भ गर्ने समयतालिका कायम गर्दा शैक्षिकसत्रको ३ किसिमको मितिमा एक रुपता ल्याउन सकिने देखिन्छ । सहज र अनुकुल मौसम हुने चैत, बैशाख महिना पठनपाठनमा उपयोग गर्न सकिन्छ । भर्नाको समय र खेतीपाती गर्ने समय सँगसँगै मिलाउन सकेमा धेैरै अभिभावकहरु आ–आफ्ना घर वा मेलापातमा हुने भएकाले विद्यालय उमेरका विद्यार्थीको पहिचान गर्न र भर्नाका लागि प्रोत्साहित गर्न सहज हुन सक्छ । बर्खे विदामा परीक्षा सकेर फुर्सदिला किशोर किशोरीहरु श्रम गर्न खेतबारीमा पस्न पाउँछन् ।

अन्तमा, शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा असर तथा प्रभाव पार्ने गर्छ । तसर्थ कोरोना संक्रमणको मात्रै कारण देखाएर यसमा परिवर्तन गर्न उपयुक्त हुन्न । तर, यो विषयमा गम्भीर बहस र छलफल गर्दै विचारपूर्वक निर्णय गर्न आवश्यक देखिन्छ । विदेशिएका, शहरतिर पुगेका वा गाउँघर छोडेका युवा र अभिभावकहरु अब आफ्नै थातथलोमा फर्किएको यस सुनौलो अवसरलाई सार्वजनिक शिक्षामा सुधारका आधारका रुपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्थाको अपेक्षा रहनु स्वाभाविक ठहर्छ ।

(लेखक शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment