Comments Add Comment

१६ सांसदमा फेरि कोरोना परीक्षण

२९ जेठ, काठमाडौं । बजेट अधिवेशन सुरु हुनुअघि कोरोना संक्रमण परीक्षण गराएर संसद बैठकमा सहभागी भएका १६ जना सांसदले पुनः कोरोना संक्रमण परीक्षण गराएका छन् ।

उनीहरु कोही उपत्यकाबाहिर गएका र कोही कोरोना संक्रमणको जोखिम क्षेत्रमा गएको जानकारी पाएपछि संसद सचिवालयले पुन परीक्षण नगराई बैठकमा सहभागी हुन दिएको छैन ।

संसद सचिवालयका स्वास्थ्य शाखाका डा. पुष्प रिजालले १६ जना सांसदले पुनः परीक्षण गरेको जानकारी दिए । पुनः परीक्षणका लागि आवश्यक समन्वय गरिदिएको डाक्टर रिजालले बताए ।

पुनः परीक्षण गराउने सांसदहरुमा पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरा, पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादव, किसान श्रेष्ठ, पदम गिरी, केदार सिग्देल, गंगा चौधरीलगायत छन् ।

संसदको चालु अधिवेशन सुरु हुनु अगावै गत वैशाख २५ र २६ गते सांसदहरुको कोरोना परीक्षण गरिएको थियो ।

त्यसबेला संसद सचिवालयले संसद बैठकमा सहभागी सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको थियो । जसमा घरमै क्वारेन्टिनमा बस्नुपर्ने, राजधानी छोड्न नहुनेलगायत उल्लेख छ ।

आचारसंहिताको पालना नगरी राजधानी बाहिर गएका र कोरोना संक्रमितको सम्पर्कका पुगेका सांसदहरु पुनः परीक्षण गरेका हुन् ।

सांसदलगायत संसद भवन प्रवेश गर्नेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।

संसद सचिवालयले सांसदको परीक्षणका लागि समन्वय गरिदिएको तर, खर्च सचिवालयले नब्यहोरेको बताएको छ ।

हालै परीक्षणका लागि नमुना दिएकी सत्तारुढ दल नेकपा सांसद गंगा चौधरीले आफैंले खर्च गरेको बताइन् । ‘१५ हजार जति लाग्ने रहेछ’ सांसद चौधरीले अनलाइनखबरसँग भनिन् ।

हाजिर गरेर फर्किए !

संसद सचिवालयका अनुसार सांसदहरु उपत्यकाबाहिर गएको वा कोरोना संक्रमितको सम्र्पकमा पुगे वा नपुगेको हेर्ने गरिएको छ । यसबारे सम्बन्धित पार्टीले समेत ख्याल गरिरहेको छ ।

सांसदहरुलाई पनि राजधानी नछोड्न र कोरोना संक्रमितको सम्पर्कमा नजान दल र संसद सचिवालयले आग्रह गर्दै मोबाइलमा एसएमएससमेत पठाएको थियो ।

यति गर्दा पनि कतिपयले आचारसंहिता उलंघन गरेका कारण पुनः परीक्षण गराएर मात्रै प्रवेश दिइएको संसद सचिवालयले जनाएको छ ।

उपत्यकाबाहिर गए फर्किएपछि परीक्षण नगराएको भनेर अघिल्ला बैठकमा केही सांसदलाई संसद सचिवालयले बैठक कक्ष प्रवेशमा रोक लगाएको जनाइएको छ ।

‘केही सांसदलाई संसद भवन नयाँ बानेश्वर पुगिसकेका कारण हाजिर गराएर पनि फर्कायौं, किनभने यो खेलाची गर्ने विषय होइन । पुनः परीक्षण गराएका सांसदहरुको रिपोर्ट आइसकेको छ उहाँहरुलाई अबको बैठकमा सहभागी समस्या हुन्न’ संसद सचिवालयका एक कर्मचारीले भने ।

ती कर्मचारीका अनुसार एक जना प्रतिनिधिसभा सदस्य पनि लकडाउको बीचमा जिल्ला गएका थिए । तर, उनले फर्केर आएपछि परीक्षण गराएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment