Comments Add Comment

परीक्षण नगरी भरतपुर अस्पतालबाट ६ जना संक्रमित डिस्चार्ज

३० जेठ, चितवन । चितवनको भरतपुर अस्पतालबाट कोरोना संक्रमित ६ जना डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना संक्रमण परीक्षण नै नगरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा नवलपुर देबचुली –१ र –१२ का दुई जना, विनयत्रिवेणी–६ नवलपुरका एक जना र भरतपुर महानगरपालिका–६ का तीन जना छन् । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर ६ केशरवागका एक वृद्ध, उनकी श्रीमती र छोरासमेत डिस्चार्ज भएका छन् ।

उनी भरतपुर अस्पतालमा २१ दिन बसेका थिए । यस्तैं, देवचुली–१२ का ४९ बर्षिय संक्रमित ३१ दिन र देवचुली नगरापालिका –१ का संक्रमित १५ दिन र विनयत्रिवेणी – ६ का संक्रमित २० दिन अस्पताल बसेका थिए ।

सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिका अनुसार कोरोना संक्रमित व्यक्तिहरुमा संक्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिन पछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको थियो ।

यस्ता बिरामीबाट कोरोना संक्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । मेसु तिवारीले कुनै पनि संक्रमण पुष्टि भएका बिरामीलाई दोहोर्‍याएर परीक्षण नगरिने बताए ।

‘टेस्ट गर्न आवश्यक छैन भनेर मन्त्रालय र डब्लुएचओले भनेपछि फेरि परीक्षणको झञ्झन्टतिर लाग्नुपरेन’ मेसु डा. तिवारीले भने ‘यसले ल्याबमा अनाश्यक चाप, दवाब र खर्च भएन ।’

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले डिस्चार्ज भएका सबै जनालाई घरमा गएर थप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको बताए ।

संक्रमितहरुलाई एक मिटरको दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको सूचना अधिकारी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment