Comments Add Comment

कविता – म रूख बनेपछि

रूखको लुगा लगाएर म गीत सुन्नेछु चराहरूको
पातहरूको सियाल ताप्नेछु
सारा हतारहरू बिसाउनेछु
पानी पिउनेछु माटोबाट
पातहरूले बनाएको खाना खानेछु

म भएठाउँमा चाडपर्वजस्तो चराहरू आउनेछन्
मलाइ चुम्न घाम आउनेछ
धर्तीको निस्ठाको बल ले नै
म जित्नेछु कैयौं आँधीहरू

म उभिएरै सुत्नेछु
मलाइ थाहा हुनेछैन द्वन्दले बोकाउने क्रुरताको भारी
मलाइ थाहा हुनेछैन खुकुरी कसरी भिर्ने
मलाइ निचोर्ने छैन तानाशाहका सपनाहरूले
हिर्काउने छैन जात र वर्णका भाटाहरूले

सबैभन्दा रोचक म थाहा पाउनेछु
रूखको स्मृति कस्तो हुन्छ ?
जिउनेछु आवेग र आवेश बिनाको जीवन
जिउनेछु नबोकी लालच र आशक्तिको झोला

आकाश, नदी, समुद्र, पहाडहरूसँगको
दुरी एकै भइरहनेछ
मन्द चलिरहने बतास हुनेछिन् मेरी प्रेमिका
छोइरहने छु उनलाई कैयौ‌ मेरा हाँगाहरूले

माहुरीहरू, पुतलीहरू
मेरा आफन्तहरू हुनेछन्
खरायोहरू मेरो ढाडमाथि चढ्नेछन्
मेरा बच्चाहरू जस्तै

स्थिर रहेरै
म वसन्त पुगेर हरियो हुनेछु

मानिसले बनाएका कयौं सीमाहरूका
सुर्केनी फुस्काएर पर गई
रूख बनेपछि म रूपवान हुनेछु
र सायद कैयौं कुराहरूमा
मानिसभन्दा बढी हुनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment