Comments Add Comment

बाँच्ने एउटा जिन्दगी

जीवन बाँच्नका कैयौं आयाम हुन्छन् । त्यसक्रममा जीवनको गोरेटोले तोकेको लामो यात्रामा केही वर्ष संघर्षमय जीवन बाँचेको अनुभवपछि रमाइलो जिन्दगी बाँच्न थालेको थिएँ । एकदिन अचानक रमाइलो भन्दा पनि जिन्दगी लामो बाँच्ने चाहना भयो ।

आज भन्दा १९ वर्ष अघिको कुरा हो, मैले मदिरालाई नजिकै बोलाएर भनें – ‘अब पुग्यो है !’

म्याडमले धेरै दिनबाट अयोध्या, काशी र प्रयाग स्नानको इच्छा व्यक्त गर्नुभएको थियो । यो संवत २०५७ साल तिरको कुरा हुनुपर्छ, जेठमा ठुली छोरीको बिहे गराएर एउटा दाइत्व पुरा गरेको अनुभूतिसँगै बसेका थियौं हामी । कान्छी छोरीको बिहे पहिला नै भइसकेको थियो । ठूलो छोरो अस्ट्रेलिया गएको दुईवर्ष पुग्न थालेको थियो । काठमाडौंबाट कान्छो छोरालाई बोलाएर घर कुर भन्यौं र भाद्रको कुनै दिन हामी दुई गोरखपुरतिर लाग्यौं ।

गोरखपुरबाट सिधै अयोध्या पुगी सरयू नदीमा स्नान गरी रामललाको दर्शनपछि इलाहाबाद पुग्यौं । प्रयाग स्नानपछि बनारसमा काशी स्नान र पुजा गरी सोझै पटनाका लागि रेल समात्यौं ।

गोरखपुरबाट अयोध्या लगभग १ सय ४० किलोमिटर टाढा रहेछ । हामी गोरखपुर पुग्दा दुईबजिसकेको थियो । त्यहाँबाट अयोध्यासम्मको यात्राका लागि उत्तरप्रदेश परिवहन निगमको बसपार्कबाट साढे तीनबजेको बस समात्यौं । राति ८ बजे तिर हामी अयोध्या पुगेका थियौं । बसपार्क नजिकै एउटा धर्मशाला रहेछ- मात्र सय रुपियामा ‘अट्याच सुविधा’ भएको एउटा फराकियो कोठा पायौं । धर्मशालाभित्र मदिरा सेवन निषेध तर शुद्ध शाकाहारी भोजनको व्यवस्था रहेछ । म्याडम निकै खुशी हुनुहुन्थ्यो ।

बिहान उठेर हामी सरयू नदीमा गई नुहायौं अनि नास्ता गरेर बाबरी मस्जिद भत्काएर रामको स्थापना गरेको विवादास्पद ठाउँमा पुग्यौं । साँचै, हामी बसेको धर्मशालाबाट नै हामीले एउटा रिक्सालाई गाइडजस्तै गरी लिएर हिँडेका थियौं । सरयू नदी पनि उसैले लगेको थियो अनि अन्य मन्दिरहरू जस्तै हनुमान गढी र राघवजीको मन्दिर दर्शन गराउँदै बाबरी मस्जिद भत्काएर राममन्दिर बनाउन थालिएको विवादस्पद स्थलमा पुर्‍यायो ।

स्थलमा निकै ठूलो सुरक्षा व्यवस्था गरिएको रहेछ । महिला र पुरुष भिन्दाभिन्दै पंक्तिमा हिड्नुपर्ने । भित्र मोबाइल, चाभी, महिला-पर्ससमेत लान नपाइने । भक्तहरूको लामो पंक्ति थियो जसले गर्दा पुरै परिक्रमा गरी र्फकंदा करीब ४५ मिनेट समय लाग्यो ।

त्यहाँ रामलाई एउटा त्रिपालले ढाकेर राखिएको रहेछ । हामीले टाढैबाट दर्शन-ढोग गर्यौं । बाहिर निस्केपछि एउटा होटेलमा खाना खायौं अनि तत्काल रिक्सावालाले हामीलाई बसपार्क पुर्‍याइदियो ।

०००

इलाहावाद पुग्दा साँझ पर्न आँटेको थियो । बसपार्क नजिकैको होटेलमा ठाउँ पायौं । भाडा अलिक चर्कोरहेछ तर कोठा अट्याच सुविधा सहितको निकै रामो थियो । भित्तामा एकमात्र मोनालिसाको रंगीन चित्र थियो । एउटा मात्र चित्र त्यो पनि मोनालिसाको, संकेत बुझ्नतिर लागिनँ ।

अर्को दिन बिहानै हामी टेम्पो गरेर प्रयाग स्नानका लागि निस्क्यौं । प्रयाग संगमको स्नान पनि स्मरणीय रहृयो । सानासाना त्रिपालको टेन्टजस्तो लगाएर बसेका पण्डितहरूले टाढैबाट श्रद्धालुहरूलाई बोलाउँदै गर्थे । एउटा डुंगालाई भाव गरेर अलिक परसम्म लगियो र पुजा गरेर फक्र्यौं । पूजा गराउने बाहुनलाई १ सय ३० दिएको सम्झना आजसम्म ताजै छ ।

प्रयाग स्नान पछि दिनभरी इलाहावाद घुम्यौं । जसमा प्रमुख रहे स्वराज भवन र इलाहावाद हाईकोर्ट । दिनभरिको घुमघाम पछि हामी आफू बसेको होटेलमा फर्केर लुगा फेर्यौं र सांझ घुम्न निस्क्यौं ।

अयोध्याको धर्मशालामा बस्दा मदिरा निषेध थियो तर हामी बसेको इलाहाबादको होटेलमा थिएन । म्याडमको अनुमतिमा मैले एक क्वाटर ‘मेक्डोवेल नम्बर वन’ किनें । भारत भ्रमणको उपलक्ष्यमा एउटा आफ्नै किसिमको रात्री पिकनिक र रमाइलो गर्ने योजना बन्यो । भारतमा खास गरेर उत्तर प्रदेश र बिहारमा कतिपय खानाका पसलहरू सडकको किनारमा ठेलालगाएर गोइंठाको आगोमा पकाउँदै बेच्ने गर्छन् ।

खाना निकै स्वादिलो हुन्छ त्यहाँ । स्कुटर, मोटरसाईकल, कारसमेत रोकेर बेन्चीमा बसेर खानेहरू पनि हुन्छन् । एउटा अलिक सुग्घर पसलमा मैले भात, मासु, रोटि प्याक गर्न लगाएँ । दाल किनिएन । त्यहाँ अन्य ठेला व्यापारीहरू पनि थिए । एउटा तरकारी बेच्ने ठेलावालाबाट प्याज, धनीयाको साग, टमाटर, मुला, खुर्सानी किन्यौं र एउटा अर्को ठेलावालाबाट आलु, पियाज र गोभीको पकोडा किन्यौं । नजिकै भाँडाको पसल रहेछ र दुईटा स्टिलका पिलेट, कटोरा, गिलास र चम्चा किन्यौं । भाँडा पसल नजिकैको एउटा पसलबाट मम्बत्ति पनि किन्यौं । सबै लिएर हामी होटेलको कोठामा पुग्यौं र पाँच तारे होटेलको परिकल्पना बनाउंदै टेबलमा सबै सामग्री राख्यौं ।

मम्बत्ति बालेर क्यानडल प्रकाशमा बन्दोबस्तले बसेर ठुलाठुला गफ हाँक्दै हनिमुन आएझैं रमाइलो गर्दै खाना खायौं । तिनताक मलाई पीएचडी गर्ने धुन थियो । मेक्डोनाल्डको नशा रहुन्जेल विद्यावारिधिको धुनले निकै जोर पक्र्यो र ममा उत्पन्न एउटा नयाँ तरंगको अनुभूतिसंगै म मिनुलाई मेरो शैक्षिक योजनाको गफ हाँक्न थालें । ‘मेरो बाउले मलाई डाक्टरी पढाएनन् तर एकदिन म तिमीलाई डाक्टर बनेर देखाउँछु, बुझ्यौ । ‘

अर्को दिन हामीलाई इलाहाबाद विश्वविद्यालय पुग्नु थियो ।

म सोझै अंग्रेजी विभागमा पुगें र विभागका सरहरूलाई आफ्नो परिचय दिएँ । नेपालबाट आएको त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भनेर मेरो राम्रो स्वागत भयो । हामीले नेपाल र भारतमा अंग्रेजी शिक्षाको पठनपाठन कसरी गइरहेछ बारे पनि कुरा गर्यौं । पियनले कितलीमा चिया र पत्रिकामा पोको पारेर इलाहाबादी समोसा पनि ल्यायो । उहाँहरूसंग बिदा लिएर म इलाहाबाद विश्वविद्यालयको विशाल पुस्तकालयमा पुगें र केहि थेसिसहरू हेरें । पुस्तकालय भित्र पसेपछि लाग्यो भिन्दै संसारमा छु । चारैतिर पुस्तकैपुस्तक – मान्छेभन्दा पनि अमूल्य । कागतको पानाहरूमा मान्छेको मस्तिष्क कैद गरेर राखिएका पुस्तक । पुस्तकालयबाट बाहिर निस्कन मन लागिरहेको थिएन तर म्याडमले सम्झाउनु भयो – अबेर भयो कि ?

तीन बजेसम्म हामी बस स्टेसन पुगेर बनारसका लागि हिँडिसकेका थियौं ।

साँझ करीब ७ बजे बनारस पुगेर एउटा होटेलमा कोठा बुक गर्यौं । बिहान काशीको दशाश्वमेघ घाटमा हामीले स्नान गर्यौं र किरायामा एक जना पुरोहित बनायौं । एउटा डुंगामा बसेर गङ्गा नदिको किनारबाट अलिक परसम्म पुग्यौं । पुरोहितले म्याडमलाई पुजा गराउँदा म चारैतिर हेर्दै आनन्द लिइरहेको थिएँ । भन्छन् बनारसका पुरोहितसँग बच्नुपर्छ हामी बचेरै हिड्यौं । डुंगा छाड्नुअघि कति हो भनेर सोधेको थिएँ र पुरोहितले भनेका थिए- ‘जो दिल मे आए दे दिजियेगा, यहाँ कोइ मोल भाव नही है ।’

म मानिनँ । प्रष्ट भनें- ‘नहीं पण्डितजी पहले से हि आपका रेट बोलिए । नही तो हमलोग किनारे मे पुजा करके चले जाएंगे ।’

ऊ किन मान्थ्यो हजारबाट घट्दाघट्दा ३ सय ५ मा कुरो टुंगियो ।

तीनबजेको ट्रेनबाट पटना पुग्नु थियो । त्यसअघि बनारस हिन्दु विश्वविद्यालय हेर्न जाने कार्यक्रम पनि थियो । मैले अलिक हतार नै गरिरहेको थिएँ । मन्दिरअघि एउटा हृयाण्डलूमको पसल रहेछ । बाहिरैबाट टलक्क टल्किएका साडीहरू देखिए । हल्का पहेंलो रङका साडीहरूले म्याडमको ध्यानाकर्षण गराए । ती साडी हेर्न जाउ“m भन्नुभयो तर मलाई छिटोभन्दा छिटो बी.एच.यू. पुग्न थियो तर उहाँको इच्छा विपरीत केही बोल्ने कुरै भएन । हतारमा दुईवटा साडी किन्नुभयो र हामी लोकल बस चढेर होटेल पुग्यौं । म्याडम होटेलमै बस्नुभयो, म बस चढेर बी.एच.यू. पुगें ।

बनारस हिन्दु विश्वविद्यालयको स्थापना मदन मोहन मालवीयले सन् १९१६ मा गरेका थिए । विश्वविद्यालय भवनअघि उहाँको ठूलो मूर्र्तिस्थापित रहेछ । भित्र मैले अंग्रेजी विभागका शिक्षकहरूसँग भेट्ने प्रयास गरें तर सफल भइन । एक जना म्याडमसँगमात्र भेट भयो । उनले आफ्नो अफिसमै मसँग कुरा गरिन । मैले उनको टेबलमा एस.सेन. गुप्ता र रामजीलालका गाइड पुस्तक देखें । रामजीलालको पुस्तक बि्रटिश कवि लर्ड टेंनीसनमाथि थियो । मैले सहजै अनुमान गरें म्याडमले कविता पढाउनु हुँदो रहेछ । मैले एम.ए. पढ्दा अंग्रेजी साहित्यका महान कवि टेनिसनको ‘इन मेमोरियम’ पढेको थिएँ । वीरेन्ऽ क्याम्पसमा मैले पनि टेनिसनको एउटा कविता ‘टीयर्स आईडल टियर्स’ स्नातक तहका विद्यार्थीहरूलाई पढाएको पनि हो । म्याडमलाई कक्षा वा कतै जान हतार रहेछ मलाई पनि हतार थियो तसर्थ केहीबेर मात्र कुरा गरेर शिष्टाचारको आदानप्रदान गरी म फर्किएँ ।

होटेल पुग्दा मीना म्याडमले लगेज प्याक गरी मलाई कुरेर बस्नुभएको रहेछ । हामी बनारसको विशाल भीडसहितको ट्रेन स्टेसन पुग्दा दिउँसोको २ः३० बजेको थियो । हाम्रो ट्रेनको समय ३ः३० थियो । पटना जाँदा धेरै जसो होटेल तुलसीमै बस्ने गरेकोले पटना ट्रेन स्टेसनबाट साँझ ८ बजेतिर हामी सोझै त्यहि पुग्यौं ।

अर्को दिन बिहान मेरो सानिमाका छोराहरू हामीलाई लिन आए र आफ्नो घर लगे । धेरै समयपछि हामी भेट भएका थियौं र हामी तीन भाइ राति दस बजेसम्म रमाइलो गरेर बस्यौं । देउरानीहरूले दिदीलाई माया गरे भाइहरूले आफ्नो ठूलीआमाको छोरालाई । तीन जनाले एक किलो मासु, पकोरा अनि एक बोत्तल र एक क्वाटर मेक्डोनाल्ड भ्याइएछ । निकै रमाइलो भयो । म नौ वर्षको उमेरसम्म पटनामा बसेको थिएँ र बाल्यकाल देखिनै सानिमाको म माथि धेरै उपकार रहेकाले मेक्डोनाल्डको तालमा मैले भाइहरूलाई मेरा बाल्यकालका धेरैकुरा पनि भनें । राति एघार बजेतिर भाइहरूले दुईटा स्कुटरमा राखेर हामीलाई होटेल तुलसी ल्याएर छोडिदिए ।

अब हामीलाई रक्सोलतिर लाग्नु थियो ।

पटनाबाट हाजिपुरसम्म टेम्पो रिजर्व गरेर आयौं अनि हाजिपुरबाट मुजफ्फरपुर बसमा । मुजफ्फरपुरबाट ट्रेनमा हिड्यौं । मोतिहारीसम्म मलाई केही भएको थिएन । सुगौली पुग्दा अलिअलि मेरो दाहिने कोखो दुख्न थाल्यो । रामगढवा स्टेसनमा ट्रेन निकैबेर रोकियो । मेरो पीडा पनि निक्कै बढ्दै थियो । म्याडम निकै चिन्तित हुनुहुन्थ्यो र हिजोको रक्सीलाई नै बारम्बार दोष दिइराख्नुभएको थियो । म दुखाई बर्दास्त गर्दै उहाँका गुनासा मौन सुनिरहें । कतिखेर रक्सोल पुगेर अस्पताल जाने भन्ने सोच थियो । रक्सोल स्टेसन पुग्दा ७.३० भएको थियो । डंकन पुग्दा ८, सोझै इमर्जेन्सीमा पुग्यौं । बरल्गनको इन्जेक्सन दिएर मेरो दुखाई कम गरियो । अस्पतालमा भर्ना गरियो । रु २५०र प्रतिदिनका हिसाबले एउटा क्याबिन कोठा बुक गरेर हामी बस्यौं । अर्कोदिन बिहान डाक्टर रावले आफैं बसेर मेरो अल्ट्रासाउण्ड भिडियो हेर्दै भन्नुभयो – व्हेयर इज योर राईट किड्नी प्रोफेसर ?

पहिला अंग्रेजीमा अनि हिन्दीमा बोल्न थाले ।’आपका सिर्फ एक किड्नी है !’ यसबारे मलाई थाहा थिएन मेरो पहिलो पटक अल्ट्रासाउण्ड गरिएको थियो । म झसंग भएँ । डाक्टरले त यो बाई बर्थ पनि हुन सक्छ अरु कारण पनि हुन सक्छ भने । साथै नडराउन पनि भने । एउटा मात्र किड्नीबारे भन्दा उनले भने- संसारमा धेरै मान्छे छन् एउटा मात्र किड्नी लिएर बाँच्ने तर त्यसलाई सुरक्षित राख्न सक्नुपर्छ । डाक्टर रावले मसँग मित्रवत कुरा गर्दै भने- छ-छ महिनामा रगत परिक्षणद्वारा युरिया र क्रिटिनिन चेक गराइराख्नु होला । सबै ठीक थियो, तर एउटा नयाँ जानकारी मेरो एउटामात्र किड्नी छ र एउटा किड्नीमा बाँच्ने संसारमा धेरै छन् साथै कताकता एक किसिमको डर लिएर म अस्पतालबाट बाहिर आएँ । सोच्दै थिएँ – म मेरो एउटा किड्नीलाई कहिलेसम्म सुरक्षित राख्न सक्छु होला र ?

त्यहि दिन चितवन फर्किने मन भएन । अर्को दिन मात्र जाने भनेर त्यो दिन हामी त्यहि कोठामा बस्यौं र राती अज्ञानवश निकै बेर रोएका पनि थियौं । जीवनका त्यतिका दिनसम्म हामी निकै रामाइलो दिन बाँचिरहेका थियौं । त्यस दिन धेरै बेर रोएपछि जिन्दगी लामो बाँच्ने इच्छा पलायो ।
आजभन्दा १९ वर्ष अघिको कुरा हो, मैले मदिरालाई नजिकै बोलाएर भनेको थिएँ- ‘अब पुग्यो है !’

तेह्र वर्षपछि –

२०७० को जेष्ठ-असारतिर म लन्डन भ्रमणमा थिएँ । त्यो दिन हामी हेथ्रो विमानस्थल नजिकको पाँचतारे होटेल हिल्टनमा बसेका थियौं । त्यसभन्दा अघि नै म अस्ट्रेलिया र युरोपका केहि देश भ्रमण गरिसकेको थिएँ । पाँचतारे होटेलहरूमा बसेको अनुभव लिइसकेको थिएँ । लामो जीवन बाँच्ने चाहनासँगै रक्सी छोएको थिइनँ । तर, लन्डनको त्यो दिन फरक रहृयो । होटेल ठूलो थियो, स्विमिङ पूल ठूलो थियो, त्यहाँको लिफ्ट ठूलो थियो । त्यो दिन त्यहाँका मान्छे पनि अन्य भन्दा ठुला लागे । लाग्यो होटेल हिल्टनमा आउनेहरू लामो होइन रमाइलो जिन्दगी बाँच्ने उद्देश्यले आउँछन् । मलाई पनि लोभ लाग्यो- एकपटक फेरि रमाइलो जिन्दगी बाँच्ने रहर जाग्यो ।

तेह्र वर्षपछि मदिरालाई बोलाएर खुसुक्क भनें- ‘हुन्छ ! आऊ, मिलौं र फेरि रमाइलो जीवन बाँचौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment