Comments Add Comment

भारतबाट फर्केर होटल क्वारेन्टिनमा बसेका २ जनामा कोरोना संक्रमण

२ असार, वीरगञ्ज । पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–४ का २३ वर्ष र वीरगञ्ज–३ का ३१ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘होटल क्वारेन्टिनमा बसेका २ जनामा संक्रमण पुष्टि भएको छ’ उनले भने, ‘दुवै भारतबाट आएर होटलमा बसेका हुन् ।’

योसँगै वीरगञ्जमा संक्रमितको संख्या १ सय ५५ पुगेको छ । यसअघि पर्र्सामा ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय, २ जना पत्रकारसहित १ सय ५३ जनामा संक्रमण देखिएको थियो ।

नारायणी अस्पताल मातहतको गण्डक कोभिड अस्पतालमा ९ जना महिलासहित ५१ जना संक्रमित र २ जना शंकास्पद संक्रमित उपचाररत छन् । कोरोनामुक्त भएपछि ३ जना संक्रमितलाई मंगलबार डिस्चार्ज गरिएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

वीरगञ्जका ४ होटल पेड क्वारेन्टिन

पर्सामा ४ वटा होटललाई क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याइएको छ । दुई वटा होटलमा चिकित्सक, नर्सलगायत कोरोना संक्रमितको उपचारमा खटिएका कर्मचारी बसेका छन् ।

टाउन हलमा नारायणी अस्पताल र होटल हिमाल एण्ड भान्छा घरमा कलैया अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई राखिएको छ । होटल कुमु प्यालेस र कन्ट्री इनलाई पैसा तिेर बस्न मिल्ने क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याइएको छ ।

होटल क्वारेन्टिनमा भारतबाट आएका ३६ जनालाई राखिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए । ‘आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर होटलमा खाने र बस्ने व्यवस्था मिलाएका छौं’ पन्तले भने ‘पैसा तिरेर क्वारेन्टिन बस्छौं भन्नेहरुका लागि अन्य होटल व्यवसायी साथीहरु पनि तयार छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment