Comments Add Comment

कोरोना भाइरस : भारतसामु तेर्सिएका पाँच प्रश्न

भारतमा लकडाउन खुलेको एकसाताभन्दा बढी समयसम्म तथा पहिलो संक्रमित फेला परेको चार महिनापछि पनि यहाँ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढिरहेको छ । दैनिक संक्रमित र मृतकहरूको संख्या बढिरहेको छ । यद्यपि त्यहाँ आर्थिक गतिविधि समेत सञ्चालनमा छ । यो संकटसँगै जोडिएर आउने पाँच प्रश्न यहाँ सम्झनलायक छन् –

भारत डराउनुपर्ने अवस्थामा छ ?

अहिलेको अवस्थामा भारतले सही तरिकाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भनेर मान्ने गरिन्छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार नाघेको छ । त्यसैले संक्रमित संख्याको आधारमा अमेरिका, ब्राजिल, रुसपछि भारतको स्थान आउने गर्छ । तर प्रतिव्यक्ति संक्रमणको हिसाबमा भारत पछाडि छ ।

संक्रमितको संख्या दोब्बर हुने समय पनि बढिरहेको छ । अर्थात् कोरोना संक्रमणको वृद्धिदर सुस्ताएको छ । तर संक्रमितको संख्या बढिरहेको छ । मुम्बई, दिल्ली र अहमदाबादजस्ता हटस्पट सहरमा अहिले मानिसहरूले अस्पतालमा भर्ना पाउन छाडिसकेका छन् ।

संक्रमितलाई अस्पताल लैजान नसकिएका कारण उनीहरूको मृत्यु भएको समाचार आइरहेका छन् । कोरोनाको परीक्षण हुन सकिरहेको छैन । त्यसैले भारतमा न्युयोर्कको जस्तो अवस्था आउन सक्ने एक डाक्टरले बताउँछन् ।

अर्थतन्त्रमा पनि यसको नकारात्मक असर परेको छ । त्यसका लागि पनि भारतले संक्रमण रोक्न ठूलो प्रयास गर्नुपर्ने विश्लेषकहरूले बताएका छन् ।

हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक आशिष झाका अनुसार कोरोना भाइरस आफैँ उत्कर्षमा पुगेर फेरि कम हुँदै जाने प्रतीक्षा गर्न सकिँदैन । यसका लागि भारत आफैँले प्रयास गर्नुपर्ने हुन्छ ।

अर्को उपाय भनेको हर्डइम्युनिटी हासिल गर्नु हो । यसको लागि कम्तीमा ६० प्रतिशत मानिस संक्रमित हुनु जरुरी हुन्छ । भारतका ६० प्रतिशत मानिसलाई रोगबाट संक्रमित गराउने कुरा स्वीकार गर्न नसकिने झाको भनाइ छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी नआउनुले अहिलेको अवस्थामा भारत चिन्तित हुनुपर्ने तर आत्तिन भने नहुने झाले बताए ।

भारतको तथ्यांक भ्रमपूर्ण छ ?

भारतमा कोरोना संक्रमणका कारण नौ हजार नौ सयको मृत्यु भएको छ । उनीहरूमध्ये एकतिहाइ महाराष्ट्र, गुजरात र दिल्लीका छन् । साथै, संक्रमितमध्ये मृत्यु हुनेको दर २.८ प्रतिशत छ ।

तर, यो निकै विवादित पनि छ । लण्डन स्कुल अफ हाइजित एण्ड ट्रोपिकलका म्याटमेटिसियन एडम खुखारस्कीका अनुसार समग्र संक्रमितको आधारमा मृत्युदर निकाल्दा अहिलेसम्म दर्ता नभएका संक्रमित र राम्रोसँग उपचार नपाएर मृत्यु भएका मानिसको संख्या छुट्छ । त्यसैले यस्तो तथ्यांकबाट सरकारले आत्मसन्तुष्टि लिनेबाहेक केही पनि काम हुँदैन ।

युनिभर्सिटी अफ मिसिगनमा बायोस्ट्याटिक्स प्राध्यापक भ्रामर मुखर्जी पनि संक्रमितको आधारमा निकालिएको मृत्युदर एक भ्रम भएको बताउँछन् ।

हुन पनि केही कमजोरीको कारण वास्तविक संख्याभन्दा निकै कम मात्र संख्या दर्ता गरिएको छ । उदाहरणका लागि भारतको चेन्नईमा सरकारले भनेको संक्रमितको तुलनामा वास्तविक संक्रमित दोब्बर रहेको पाइएको थियो । यसरी संख्या कम देखिनुको कारण जुन दुई रजिस्ट्ररमा मृत्यु भएकाको संख्या राखिएको थियो, यो संख्या आधिकारिक तथ्यांकमा जोडिएको नै थिएन ।

यस्तोमा कोरोना भाइरसबाट मृत्यु भएको हो भनी कसरी परिभाषित गर्ने भन्ने अन्योल भारतमा देखिएको छ । अर्थशास्त्री पार्थ मुखोपाध्यायका अनुसार भारतमा उमेरको आधारमा हेर्ने हो भने मृत्यु हुनेमा युवाको संख्या अनुमान गरिएभन्दा निकै बढी छ ।

३० अप्रिलसम्म भारतको महाराष्ट्रमा ४० देखि ४९ वर्षको उमेर समूहको मृत्युदर चार प्रतिशत थियो । यद्यपि, जानकारहरूका अनुसार भारतमा युवाको मृत्युदर कम नै रहने र वृद्ध मानिसको मृत्यु दर बढी हुने बताउँछन् । मुखोपाध्यायका अनुसार भारतले आफूलाई निकै खराब अवस्थामा पुग्नबाट बचाएको बताएका छन् ।

भारतको चिन्ता के हो ?

कुनै पनि महामारी एक स्थानबाट निस्किन्छ र अर्को स्थानमा फरक किसिमले फैलिन्छ । त्यसैले अहिले सम्हालिएर काम गर्नुपर्ने अवस्था भारतको छ । कोरोना भाइरस नियन्त्रणको लागि भौतिक दुरी, परीक्षणको क्षमतालगायतमा ध्यान दिनु जरुरी छ ।

भारतमा अर्को राज्यमा काम गरिरहेका लाखौं मजदुरहरू लकडाउनका कारण आफ्नो घर फर्किएका छन् । यही कारण कोरोना भाइरसको संक्रमण भारतको सबै क्षेत्रमा फैलियो । भारतको ओडिसामा ८० प्रतिशत संक्रमण यसरी बाहिरबाट आउने मजदुरहरूमा देखिएको थियो ।

दिल्लीका सरगंगाराज अस्पतालका वेसक्युलर सर्जन अंब्रिश सात्विकका अनुसार भारतमा महामारी फैलिएको रुपमा नभई यो महामारी मुम्बई र अहमदावादको महामारी हो भनेर बुझ्नु जरुरी रहेको बताउँछन् । यी सहरमा प्रत्येक एक सय परीक्षणमा पोजेटिभ आउने संख्या राष्ट्रिय औसतभन्दा चारदेखि पाँच गुणा बढी छ । मुखर्जीका अनुसार संक्रमित संख्या बढ्दै जाँदा स्वास्थ्य प्रणालीमा पनि दबाब बढ्ने हुनाले भारतले समयमा नै आफ्नो स्वास्थ्य प्रणालीलाई बलियो पार्ने काम गर्नु जरुरी छ ।

लामो समयको लकडाउनले कति फाइदा भयो ?

जानकारहरूका अनुसार भारतले कोरोना महामारीमा भारतले समयमा नै लकडाउन सुरु गर्‍    यो । जसले संक्रमण सुस्त बनाउन सहयोग गर्‍यो । डाक्टर झाका अनुसार भारतले अन्य मुलुकभन्दा छिटो लकडाउनको घोषणा गर्‍यो । यसबाट सरकारलाई तयारी गर्ने मौका मिल्यो । यसबाट धेरैलाई मृत्युबाट बचाउन सफल भएको झाको भनाइ छ ।

यद्यपि लकडाउन केवल चार घण्टाको सूचनाको आधारमा गरियो । यसले धेरै राज्यमा लाखौं मजदुर फसे, जुन अर्को समस्याको रुपमा देखियो ।

यद्यपि लकडाउनको अवधिमा भारतको कस्तो रह्यो भन्ने अहिलेको मुख्य प्रश्न हो । विशेषज्ञहरूका अनुसार भारतको तयारी राम्रो हुन्थ्यो भने मुम्बई, अहमदावाद र दिल्लीमा कोरोना संक्रमण रोक्न सरकार असफल हुँदैन’थ्यो ।

अहिले पनि डाक्टर, स्वास्थ्यकर्मी, बेडको कमी र सरकारी अस्पतालमाथि विश्वासको कमीलगायतका विषय आइरहेका छन् । यसले पनि भारतले लकडाउनको समयमा आवश्यक तयारी गर्न नसकेको देखाएको छ ।

अब के हुन्छ ?

अहिले पनि भारतको लागि परीक्षण एक समस्या बन्न पुगेको छ । अहिले भारतमा दैनिक एक लाख ५० हजार परीक्षण भइरहेको छ । जबकि लकडाउन सुरु हुनुभन्दा पहिला दैनिक एक हजारको हाराहारीमा परीक्षण हुने गरेको थियो । तर प्रतिव्यक्ति परीक्षण दर अझै निकै कम छ ।

धेरै मानिसहरू भारतले जनवरी ३० मा पहिलो संक्रमित फेला पर्नेबित्तिकै भारतले आफ्नो परीक्षण बढाउनुपर्ने बताउँदै आएका छन् । जानकारहरू भारतका विभिन्न सहरमा संक्रमण फैलिनु भारतको गलत तयारीको परिणाम भएको समेत बताउँछन् ।

अहिले सरकारले आवश्यक मात्रामा बेड उपलब्ध गराउने र उपचार प्रणालीमा सुधारको लागि निर्देशन दिएको छ । तर विशेषज्ञहरू भने यसमा आशंका व्यक्त गर्दै आएका छन् । डाक्टर सात्विकका अनुसार अहिले भारतका लागि नयाँ आधारभूत ढाँचा र क्षमता बढाउनुपर्ने जरुरी देखिएको छ ।

डाक्टर झाका अनुसार भारत अझै पनि महामारीको सुरुवाती यात्रामा छ । यो वर्ष कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन पनि भारतसँग धेरै समय बाँकी छ । ‘यस्तोमा आगामी १२ देखि १६ महिनामा भारतले कस्तो सफलता हासिल गर्न सक्छ भन्ने मुख्य प्रश्न हो’, उनले भने ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment