Comments Add Comment

कर्णालीमा कांग्रेसको प्रस्ताव : सरकारी पदाधिकारीको गाडी कोरोना नियन्त्रणमा प्रयोग गरौं

कर्णाली प्रदेशसभाको फाइल तस्वीर ।

४ असार, सुर्खेत । प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाका पदाधिकारीको सवारी साधन कोरोना महामारी नियन्त्रणमा प्रयोग गर्न प्रस्ताव गरेको छ ।

बिहीबार कर्णाली प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै कांग्रेस संसदीय दलले महामारी सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य र सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी महामारी नियन्त्रणमा प्रयोग गर्नुपर्ने बताएको हो ।

दलका छ जना सांसदले दर्ता गराएको प्रस्तावमा ५० प्रतिशतभन्दा बढी बहुआयामिक गरिबी रहेको कर्णालीमा महामारीसंग जुध्न र फजुल खर्च कटौती आवश्यक रहेको उल्लेख छ ।

संकल्प प्रस्तावमा भनिएको छ, ‘गरिब प्रदेशका लागि कोरोनासँग जुध्दै खस्कदो अवस्थामा रहेको अर्थतन्त्रलाई जोगाउन प्रदेशसभा, सरकार र हामीसबै मितव्ययी हुन जरुरी छ ।’

दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा नियमावली–२०७४ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको बताए । ‘जनताको करबाट खरिद गरिएका सवारी साधनहरु जनताको सेवामा प्रयोग गर्ने उद्देश्यका साथ संकल्प प्रस्ताव दर्ता गराएका हौं’ नेता शाहीले भने, ‘कोरोनाको महामारी सामान्य नहुँदासम्म प्रदेशसभा पदाधिकारी, सदस्य र प्रदेश सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी उक्त सवारी साधनलाई कोभिड–१९ नियन्त्रण गर्ने कार्यमा प्रयोग गर्ने प्रस्ताव गरेका छौं ।’

नेता शाहीले यसअघिनै कोरोनाको महामारी कम नहुँदासम्मका लागि भन्दै संसद् सचिवालयबाट प्राप्त गाडी फिर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment