Comments Add Comment

कोभिड-१९ विरुद्ध कहिल्यै पनि प्रतिरोधी क्षमता विकास नहुन सक्छ : अध्ययन

५ असार, काठमाडौं । मानिसमा कहिल्यै पनि कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास नहुन सक्ने चिनियाँ र अमेरिकी वैज्ञानिकहरूले एन्टिबडीको विषयमा गरेको एक अध्ययनले देखाएको छ ।

उनीहरूले चीनको वुहानका अस्पतालका प्रत्यक्षरुपमा कोरोना बिरामीको उपचारमा खटिएका कर्मचारीमा रोग प्रतिरोधी क्षमता (एन्डिबडी) विकास भएको वा नभएको भन्ने विषयमा अध्ययन गरेका थिए ।

कुनै चरणमा कोरोना भाइरसबाट संक्रमण भइसकेका हुनसक्ने २३ हजार नमुनालाई लिएर परीक्षण गरिएको थियो । जसमध्ये अप्रिलसम्ममा केवल चार प्रतिशतमा मात्र एन्टिबडीको विकास भएको पाइएको थियो ।

मंगलबार मेडआरसिभ डट ओआरजीमा प्रकाशित शोधपत्रका अनुसार यो भाइरसको विरुद्धमा लामो समयसम्मको लागि प्रतिरोधी क्षमता विकास हुँदैन ।

अहिले विश्वभर एकपटक कोरोना भाइरसको संक्रमण देखिइसकेका मानिसलाई पुनः यसको संक्रमण हुने सम्भावना निकै कम हुन्छ भन्ने मान्यताअनुसार कोरोना भाइरस नियन्त्रणको प्रयास भइरहेको छ । एकपटक कोरोना लागेपछि एन्टिबडी विकास भएर निको भएका मानिसलाई ‘प्रतिरोधी क्षमताको प्रमाणपत्र’को रुपमा पनि केही मुलुकले लिएका छन् ।

साथै, निको भएका मानिसहरूलाई पनि उनीहरूको एन्टिबडीबाट थेरापी तथा प्रायोगिक औषधिका लागि उनीहरूलाई रक्तदानका लागि आग्रह गरिँदै आएको छ ।

यद्यपि, वुहानको नयाँ अध्ययनले भने सबै संक्रमितमा एन्टिबडी विकास नहुने र मानिसमा विकास भएको एन्टिबडी पनि लामो समयसम्म नरहने देखाएको हो । यसअघि सार्स भाइरसबाट संक्रमित भएका मानिसमा विकास भएको एन्टिबडी भने १२ वर्षपछि पनि देखिएको थियो । तर कोभिड-१९ मा भने लामो समयसम्म यो एन्टिबडी नरहने पाइएको हो । यो अनुसन्धानको नेतृत्व चीनको वुहान युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरूले गरेका थिए ।

उनीहरूले चार प्रतिशत स्वास्थ्यकर्मी र चार दशमलव ६ प्रतिशत अस्पतालमा सामान्य कर्मचारीमा एन्टिबडी विकास भएको पाएका थिए । यसअघिको अनुसन्धानमा वुहानका अस्पतालका दुई दशमलव ५ प्रतिशत कर्मचारीमा कोभिड-१९ को संक्रमण रहेको पाइएको थियो । तर वास्तविक संख्या भने २५ प्रतिशतसम्म हुन सक्ने आकलन छ ।

शोधकर्ताहरूका अनुसार लक्षण देखिएका संक्रमितहरूमा कोरोना भाइरसको एन्टिबडी पनि धेरै विकास हुन्छ । यसअघि सबै संक्रमितमा दुई सातापछि एन्टिबडी विकास हुने गरेको मानिँदै आएको थियो ।

शोधकर्ताका अनुसार करिब १० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको एक महिनाभित्रै एन्टिबडी हराउने गरेको पाइएको छ । उनीहरूले अहिले पत्ता लगाएका कुराहरू हर्ड इम्युनिटी, एन्टिबडीमा आधारित थेरापी, सार्वजनिक स्वास्थ्य नीति र खोप निर्माणको लागि महत्वपूर्ण रहेको बताएका छन् ।

शोधकर्ताहरूले एन्टिबडी परीक्षणबाट कोही मानिस संक्रमित भएको वा नभएको भन्ने पत्ता नलाग्ने र अहिले शरीरमा एन्टिबडी छ भन्नुको अर्थ अबको केही समयपछि पनि रहिरहन्छ भन्ने नरहेको उल्लेख गरेका छन् ।

यसैबीच सिंघुवा युनिभर्सिटीका शोधकर्ताहरूले गरेको अध्ययनले भने कोभिड-१९ का बिरामीमा जति धेरै एन्टिबडी विकास भयो, नतिजा त्यति नै नकारात्मक हुने देखाएको छ । उनीहरूले गरेको अध्ययनमा सबैभन्दा बलियो एन्टिबडी विकास भएका बिरामीको मृत्यु भएको पाइएको थियो ।

स्रोत  : साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment