Comments Add Comment

लेख्नको निम्ति हामीसँग नेपालमा भन्दा धेरै विषय छन्

वर्ष २०७६ मा नेपाल र भारतको नेपाली साहित्यमा ‘फातसुङ’ उपन्यास चर्चित रह्यो । युवा आख्यानकार छुदेन काविमोको यो उपन्यासले पश्चिम बंगालका लेप्चा जनजातिको कथा बोलेको छ । सन् २०१८ मा प्रकाशित कथासंग्रह ‘१९८६’ (नाइन्टिन एटिसिक्स) का लागि काविमोले ‘युवा अकादमी पुरस्कार’ जितेका थिए ।

लेप्चा भाषामा ‘फातसुङ’को अर्थ माटोको कथा भन्ने हुन्छ । उपन्यासमा त्यही माटोको कथा र त्यहाँ हुने राजनीति, जातीय असमानता र वर्गीय शोषणलाई मुख्य विषय बनाइएको छ । भारतको सिलगुढी बस्ने काविमोसँग उनको साहित्यिक जीवन र समकालीन साहित्यबारे विशाल नाल्बोले गरेको कुराकानीः

लेखनका प्रारम्भिक दिनहरू कस्ता थिए तपाईंका । रोचक घटना पनि छन् ती दिनका ?

सन् २००७ तिर म बाग्राकोट हाइस्कुलमा पढ्थें । स्कुलमा गजबको माहोल थियो, जहाँ हामी आफैं भित्तेपत्रिका निकाल्थ्यौं । त्यो ‘सुनचरी’ पत्रिकाको जमाना थियो । एकदिन ‘सुनचरी’ पढ्दै गर्दा साथी लीलबहादुर छेत्रीले ‘चित्र कविताको निम्ति कस्तो राम्रो नक्सा दिएको रहेछ, तिमी प्रेम लेख्ने मान्छे, लेख्ने कोसिस गरी हेर न’ भने ।

मैले नक्सा हेरें । समुद्र किनारमा तरुण जोडी उभिएको थियो । म रोमाञ्चित भइहालें । उतिबेला म डायरीमा गजल लेख्थें । त्यो कुरा लीलबाहेक अरूलाई थाहा थिएन । उसले देखाएको नक्सा हेरेपछि गजलको तीन शेर फुरिहाल्यो । मैले त्यही गजल पोस्ट गरिदिएँ ।

अचम्म भो, चित्र कविता प्रतियोगिता त्यही गजलले जितेछ, पुरस्कार स्कुलमै आइपुग्यो । त्यसपछि त लगातार गजल लेख्न थालें । दैनिक सात वटासम्म गजल लेख्थें त्योबेला । अहिले सम्झिँदा लाज लाग्छ ।

त्यस्तैमा अचानक एकदिन मैले लामो कथा लेखें, जुन ‘हिमालय दर्पण’मा छापियो । छापिएको त्यो कथा सागर सरले क्लासमा नै पढेर सुनाइदिनुभयो । अनि भावुक बन्दै अन्तिममा जोडिदिनुभयो, ‘यति सुन्दर कथा मैले जीवनमा पढेकै थिइनँ ।’

अब त स्थापित लेखक भइसक्नु भो । समाजलाई कतिको उपयोगी चिज दिइरहेछु जस्तो लाग्छ ?

समाज बिनाको साहित्य हुँदैन । यो समयमा भारतेली नेपाली साहित्य पहिलेभन्दा बढी समाजमुखी बनिरहेको अनुभव म गर्छु । रक्सी खाएर वा चुरोट तान्दै कोठामा बसेर साहित्य गरिन्छ भन्ने भ्रम कसैले नराखे हुन्छ । साहित्य अब रिसर्चमा निर्भर भइसक्यो । त्यसैले साहित्यमा धेरै समाज नै आइरहेको छ ।

यस्तो बेला मेरो कोसिस समाजको तल्लो वर्गको कथा पनि भन्नसक्नुपर्छ भन्नेमा हुन्छ । हाम्रो समाज महाश्वेता देवीको कथा ‘हजार चौरासीकी मा’ जस्तै छ । माथिबाट हेर्दा सबै ठीकठाक देखिन्छ, तर भित्र धेरै कुरा मिलेको छैन । त्यही नमिलेका थोकहरू देखाउने कोसिस म आफ्नो लेखनमा गरिरहेको हुन्छु ।

भारतमा नेपाली साहित्य पहिचानको संकटमा छ ?

भारतेली नेपाली साहित्यको मूल स्वर नै पहिचानको मुद्दा हो । यसका निम्ति हरेक पुस्ताका लेखकले काम गरिरहेका छन् । तर, पहिचान भनेको डाइनामिक कुरा हो । पहिचान भन्नासाथ हामी राष्ट्रिय पहिचानलाई धेरै ‘फोकस’ गर्ने अनि यसका धरातलहरूलाई साइड लगाइरहेका हुन्छौं ।

कहिलेकाहीं त हामी राजनीतिले सिकाएको नारा नै पहिचानको नाममा साहित्यमा लेखिरहेका हुँदा रहेछौं । राजनीतिले गर्ने काम नै हामीले पनि दोहोर्‍याउने हो भने साहित्यको अलग महत्व के रह्यो र !

यो संकटलाई साहित्यले कसरी सम्बोधन गर्छ ?

राष्ट्रिय स्तरको गोर्खे पहिचानको धरातल निर्माण गर्ने पहिचानका अन्य स–साना मुद्दाहरू छन् । ती मुद्दाहरू पनि नेपाली साहित्यको आवाज बन्नु पर्‍यो ।

जस्तो, म नेपाली भाषी गोर्खासंगै एकजना जनजाति पनि हुँ । मेरा केही गोर्खा साथी दलित पनि छन् । जनजाति र दलित पनि हाम्रो पहिचान हो । फेरि आर्थिक वर्गीकरणले पनि मान्छेको पहिचान तय गर्छ । मसंग कविता कर्म गर्न रूचाउने गोर्खे श्रमिक साथीहरू पनि छन् ।

यीबाहेक महिला पहिचानको अलग ‘डिस्कोर्स’ छ । यी सब जोड़िएर राष्ट्रिय स्तरमा गोर्खा पहिचान बन्ने हो । त्यसो हुँदा सबैको मुद्दालाई नेपाली साहित्यले समेट्न सक्नुपर्छ ।

यी सबै मुद्दा बलियो बन्नु भनेको नै राष्ट्रिय पहिचानको सवाल बलियो बन्नु हो । यसैले नेपाली साहित्यमा यी मुद्दाहरूलाई अझै टड्कारोसँग ल्याउनुपर्छ भन्ने मेरो मत छ ।

फातसुङले समाजमा गतिलो स्वागत पायो । केहीले दार्जिलिङका नेपालीहरूको दुःख ठीकसँग लेख्न सकेन पनि भने । यसमा तपाईंको मत के छ ?

फातसुङले यति धेरै प्रेम पाउँछ भनेर मैले सोचेको थिइनँ । यसको निम्ति म हरेक पाठकलाई धन्यवाद भन्न चाहन्छु । समीक चक्रवर्तीले यसलाई बंगलामा अनुवाद गरेका छन् । अब अंग्रेजी र हिन्दी अनुवाद पनि बजारमा आउला ।

फातसुङमार्फत पाएको हरेक पाठकको प्रेम मेरा निम्ति विशेष छ । मलाई यहाँ एक जना बंगला पाठकको सन्दर्भ झिक्न मन लाग्यो ।

कलकत्तामा ‘पिपल्स लिटरेरी फेस्टिभल’ थियो, कार्यक्रम सकेर हलबाट निस्किँदै गर्दा एक युवक आएर सुस्तरी भने, ‘गोर्खाल्याण्ड आन्दोलन हुँदा म जन्मिएको थिइनँ । मेरा परिवार एक समयका कट्टर सीपीएम हुन् । त्यही भएर होला, गोर्खा भन्नसाथ मलाई घृणा लाग्थ्यो । फातसुङ पढेपछि मेरो त्यो नजरिया बदलियो । म एकचोटि दार्जीलिङ पुग्न चाहन्छु ।’

अब भन्नुस्, कथा कसको निम्ति लेख्ने ? जसले हाम्रो पीड़ा बुझेकै छैन, उसलाई बुझाउन कि जसले नबुझेको अभिनय गरिरहन चाहन्छ, उसको निम्ति ? फातसुङ दार्जिलिङको नेपाली समाजको कथा होइन भने कसको हो त ?

२०१८ मा तपाईको पहिलो आख्यान ‘१९८६’ ले ‘युवा साहित्य अकादमी पुरस्कार’ पायो । प्रतिष्ठित पुरस्कारपछि एउटा लेखकको जीवनमा कस्तो भिन्नता आउने रहेछ ?

पुरस्कारले मात्र लेखकको साहित्यिक जिम्मेवारी बढाउने होइन । साहित्य अकादमी नपाउने राजनारायण प्रधानले जीवनको अन्तिम समयमा पनि लेखिरहे । उनलाई आज पनि हामी प्रेमपूर्वक पढिरहेका छौं ।

हाम्रा केही राष्ट्रिय पुरस्कार बिजेताहरू पुरस्कृत भएपछि हराएका पनि छन् । राम्रो किताब बनोस् भनेर रातारात खट्ने सम्पादकहरूको जिम्मेवारीको कथा अलग छ, जो सधैं अनदेखा हुन्छन् ।

जस्तो– सुधीर छेत्री, सञ्जय विष्टहरूलाई हाम्रौ आँखा अगाडि छन् । यहाँबाट निस्किने धेरैजसो किताबको सम्पादन उनीहरू गरिरहेका हुन्छन् । उनीहरुले पाउने चाहिँ धन्यवाद मात्र हो । तैपनि उनीहरूले आफ्नो जिम्मेवारी छाड़ेका छैनन् । खासमा साहित्यप्रतिको जिम्मेवारी भाषा–साहित्यप्रतिको प्रेमले तय गर्ने हो ।

राष्ट्रिय पुरस्कार पाएपछि मैले मनमनै संकल्प गरेको थिएँ– अब नेपाली पाठकलाई किताबको संख्या होइन, किताब नै दिने कोसिस गर्नेछु ।’ पुरस्कारले दिलाएको सबै भन्दा ठूलो जिम्मेवारी यही पो हो कि !

साहित्यमा गुटबन्दीलाई कुन हिसाबले लिनुहुन्छ ? फरक–फरक साहित्यिक अभियानको रूपमा वा वैचारिक मतभेदको रूपमा ?

यसलाई साहित्यिक अभियानकै रूपमा लिन सकिन्छ, किनकि यसरी नै साहित्यको विकास हुँदै जाने हो । कहिलेकाहीँ आफ्नो गुटका सबै उत्कृष्ट, अर्को समूहको जम्मै बेकार भन्ने सोंच बोक्नेहरू निस्किदिँदा भने समस्या हुदो रहेछ ।

त्यस्तोबेला गुटबाजीले गलत बाटोतिर पो धकेल्ने हो कि भन्ने लाग्छ, तर सामूहिक प्रतिस्पर्धाले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउने हो ।

नयाँ किताब लेख्नुहुँदैछ भन्ने सुनिएको छ । कुन विषयमा छ ?

भारतेली नेपाली साहित्य लेख्नेहरूका निम्ति कन्टेन्टको कमी छैन । हामीसंग नेपालमा भन्दा धेरै विषयहरू छन् । समस्या के छ भने, हामीले नेपालका लेखकहरूले झैं लेखनको निम्ति संघर्ष गर्न सकिरहेका छैनौं । त्यसैले उनीहरूले झैं राम्रा किताब दिन सकिरहेका छैनौं !

अबको किताबमा भूगोल पनि थोरै अलग ल्याउने कोसिस गर्नेछु । रिसर्चको काम केही मात्रामा गरिसकेकोछु । ल्यापटप नभएर लकडाउनमा लेख्न सकिन । मूर्तिकार अमीर सुन्दासले ल्यापटप पठाएर काम खुलाइदिएका छन् ।

यतिबेला म नयाँ सिर्जनाको जरामा नै छु, त्यसैले अहिले नै फल वा फूलको कुरा नगरि हालुम् होला । लेखिसक्नै एकदुई वर्ष लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment