Comments Add Comment

पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा कायम रहन सक्ने

१८ असार, काठमाडौं । रुसका नागरिकले संवैधानिक सुधारको पक्षमा मतदान गरेका छन् । यससँगै अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म रुसको राष्ट्रपतिको रुपमा रहन पनि सक्नेछन् ।

संवैधानिक सुधारको विषयमा गरिएको निर्वाचनको प्रारम्भिक नतिजाले यसको पक्षमा अत्यधिक मतदान भएको देखाएको छ । रुसको निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ८७ प्रतिशत मत गन्दा ७७ प्रतिशत मत संवैधानिक सुधारको समर्थनमा खसेको छ । यो संवैधानिक सुधार अनुसार सन् २०२४ सम्म पुटिनको राष्ट्रपति कार्यकालको सीमा शून्य रहनेछ । यसको सोझो अर्थ त्यसपटि पनि उनी दुईपटक रुसको राष्ट्रपति बन्न पाउनेछन् । रुसमा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुने गरेको छ ।

विपक्षीले पुटिन आजीवन राष्ट्रपति बन्न चाहेको आरोप लगाउँदै आएका छन् । यद्यपि पुटिनले भने यसको खण्डन गर्दै आएका छन् । रुसी सरकारका आलोचक अलेक्सी नवालनीले अहिलेसम्म घोषणा गरिएको परिणाम झुटो रहेको बताएका छन् । उनले यसले रुस र रुसी जनताको सही राय नदेखाउने दाबी गरेका छन् ।

सातदिनसम्म चलेको मतदानको कुनै स्वतन्त्र जाँच भएको थिएन र केही दिनअघि नयाँ संविधानको प्रतिलिपी पनि बिक्री हुँदै गरेको पाइएको थियो । यद्यपि रुसको आन्तरिक मन्त्रालयले भने मतदानको क्रममा मतदान प्रभावित हुने किसिमको कुनै पनि काम नभएको बताएको छ । संविधानमा परिवर्तनको विरोधमा सयौं मानिसले मस्को र सेन्ट पिटसबर्गमा विरोध प्रदर्शन गरेका थिए ।

रुसमा गत साता मतदान शुरु भएको थियो । यो निर्वाचनमा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । रुसका राष्ट्रपति र उनका समर्थकहरुका अनुसार समग्रमा संविधानमा दुईसयभन्दा धेरै सुधार गरिएको छ । यसले राष्ट्रिय स्थिरतालाई सुनिश्चित गर्ने प्रयासलाई सहयोग पुग्नेछ ।

६७ वर्षीय पुटिनले अहिलेसम्म आगामी कार्यकालका लागि निर्वाचनमा उठ्ने वा नउठ्ने भन्ने विषयमा केही बताएका छैनन् । तर, अहिलेको संवैधानिक सुधारबाट उनले आफूसँग त्यसको लागि विकल्प भने कायम रहेको सन्देश दिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment