Comments Add Comment

पुरानो प्रेमको कुरा

आऊ
पुरानो प्रेमको बात गरौं
प्रेम पुरानो बात हुँदै हैन
पुरानो प्रेमको बात गरौं !

यो पुरानो सहरको गल्लीमा
खोलिएको छ नयाँ क्याफे
एउटै टेबलको दुईतिर बसौं
‘ब्याल्क एण्ड हट’ कफी मागौं
र ‘ओल्ड एण्ड कुल’ प्रेमको बात गरौं !

नसोधौं, बितेका पलहरूका कुरा
नसोधौं, आराम–कुशलताका कुरा
मात्रै पुरानो प्रेमका कुरा गरौं

उहिल्यै–उहिले, हामी प्रेम गर्थ्यौं !

ऊ बेला,
इन्द्रेणीझैँ लाग्थ्यो मुस्कान
रात चिरेर निस्किएको प्रकाशजस्तो लाग्थ्यो हेराइ
गुलाफको पत्रजस्तो मुलायम औंलाहरू
केश, कम्मर, कुर्कुच्चा
निधार, नितम्ब, नयन
अरु…अरु……..

विपना हिड्थ्यौं सँगसँगै
सपना बुन्थ्यौं सँगसँगै
यो बेला अर्कैको विपना तिमी
अर्कैको सपना म
मुर्झाएको छ मुस्कान
फगत देख्नुको लागि छ हेराइ
पुरानो काँटीझैं देखिन्छ औलाहरू
फुटेको, खस्रा, चाउरिएका
यस्तैयस्तै

उहिल्यै– उहिले हामी प्रेम गथ्र्यौं
र भन्थ्यौं आपसमा
तिमी– मेरो आफ्नै मान्छे !

यो बेला तिमी अर्कैको मान्छे
म अर्कैको मान्छे
फगत पुरानो प्रेमका बात गरौं
तर अहँ, हामी प्रेम गर्दै नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment