Comments Add Comment

यो हो सुनले बनेको संसारकै पहिलो होटल

दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।

उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यतिमात्र होइन, उक्त होटलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपित छन् ।

उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

होटलको लबीमा पनि फर्निचर तथा अन्य साजसज्जाका सामानहरूमा सुनकै लेपन गरिएको छ । बेडरूममा फर्निचर तथा अन्य सामानहरु, वासरुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ । यी सबै कारणले गर्दा पूरै होटल नै स्वर्णमय देखिन्छ ।

सुनले बनेको उक्त होटलका कर्मचारीहरूले पहिरनसमेत रातो तथा सुनौलो रङको लगाउँछन्।

उक्त होटलको छतमा इन्फिनिटी पुल बनाइएको छ । उक्त पोखरीको बाहिरी पर्खालमा लगाइएका इँटाहरूमा पनि सुनकै लेपन गरिएको छ । डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा सुरु भएको थियो ।

सुनले बनेको यो होटलमा गएर रात बिताउनका लागि गोजीचाहिँ गरम नै चाहिने रहेछ । होटलमा एक रात बिताउन कोठाको न्यूनतम शुल्क ३२ हजार रुपैयाँ बराबरको रकम रहेको छ । त्यस्तै डबल बेडरुम सुइटको एक रातको १ लाख १२ हजार रुपैयाँ तिर्नुपर्दछ ।

होटलमा कल ६ प्रकारका कोठाहरू तथा ६ खाले सुइटहरू छन् । होटलको सबैभन्दा महँगो सुइटको रुपमा रहेको प्रेसिडेन्सियल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment