Comments Add Comment

काठमाडौं महानगरपालिकाको बजेट पारित

२३ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट सुझावसहित सर्वसम्मत पारित भएको छ । काठमाडौं महानगरपालिका नगरसभा सातौं अधिवेशनले महानगरको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, २०७७ र आर्थिक विधेयक, २०७७ सर्वसम्मत पारित गरेको हो ।

नगर सभाले लेखा समिति, सुशासन समिति र न्यायिक समितिको प्रतिवेदनमाथि पनि छलफल गरी कार्यान्वयका लागि आवश्यक निर्णय गर्न कार्यपालिका बैठकमा पठाउने निर्णय समेत गरेको छ ।

असार ४ गते बसेको नगरसभा सातौं अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो । असार १० गतेको नगर सभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सभा समक्ष पेस गरेका थिए ।

त्यसैगरी असार १८ गते बसेको तेस्रो बैठकले आर्थिक विधेयक, २०७७ सर्वसम्मतिले पारित गरेको थियो । नगरसभा सातौं अधिवेशनको चौथो तथा अन्तिम बैठकले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, २०७७ सुझावसहित पारित गरेको हो ।

बजेट पारित गर्नुअघि २० जना नगरसभा सदस्यले आ-आफ्नो धारणा राखेका थिए । उनीहरूले वडास्तरीय योजनासहित काठमाडौंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना समावेश गर्नुपर्ने, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता विषय उठाएका थिए।

वडास्तरीय योजनाको एकीकृत प्रारुपबारे वडालाई जानकारी हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, विद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि समावेश गर्नुपर्ने कुरालाई नगर सभा सदस्यहरूले प्राथमिकताका साथ उठाएका थिए ।

प्रमुख शाक्यले अन्तिम बैठकमा सम्बोधन गर्दै सकेसम्म बजेटको सिलिङ तलमाथि नपर्नेगरी नगर सभा सदस्यहरूको भावनालाई समेट्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

काठमाडौं महानगरपालिकाले बजेटमा हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावले घर भाडामा बस्ने नगरवासीहरूलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा दश प्रतिशत छुटगर्ने कुरा समावेश गरेको छ ।

त्यसैगरी महानगरपालिकाले कोभिड-१९ को प्रभावका कारण करदाताहरूबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्बर्द्धन र पूर्वाधार विकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ।

महानगरपालिकाले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक वर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने कुरा समावेश गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा व्यापार व्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ।

उपप्रमुख श्रेष्ठले नगर सभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रूपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment