Comments Add Comment

राजु सदा मृत्यु प्रकरण : अध्ययन समितिको म्याद पुनः ५ दिन थप

२३ असार, जनकपुरधाम । राजु सदा मृत्यु प्रकरणबारे अध्ययन गर्न गठित संसदीय छानबिन समितिको म्याद पुनः ५ दिन थप गरिएको छ ।

समितिलाई अध्ययन गर्न अझ समय लाग्ने भएकाले  पुनः ५ दिनको म्याथ थप गरिदिन समितिका संयोजक रवीन्द्र बैठाले मंगलबारको प्रदेश सभा बैठकमा आग्रह गरेका थिए ।

प्रदेश २ सभाको गत असार १४ गतेको बैठकले राजु सदाको मृत्युबारे अध्ययन गर्न नेकपा सांसद  बैठको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो ।

बैठाका अनुसार राजु सदाको घर तथा उनलाई राखिएको क्वारेन्टिनको स्थलगत अवलोकन र सरोकारवालासँग छलफल गरिसकिएको छ । प्रादेशिक अस्पतालबाट उनको मृत्युसम्बन्धी कागजातहरू झिकाएर समितिले अध्ययन गरिरहेको उनको भनाइ छ । समितिले अध्ययनका लागि समय मागेपछि प्रदेश सभाले म्याद थप गर्ने अनुमति दिएको छ ।

बैठाको संयोजकत्वमा बनेको अध्ययन समितिमा सांसदहरू चमेली देवी दास, सुरिताकुमारी साह, नरेशकुमार यादव र सावित्री देवी साह सदस्य छन् । यसअघि पनि समितिले ५ दिनको म्याद पाएको थियो ।

यसअघि प्रदेश सरकारले राजु सदाको मृत्युबारे गठन गरेको छानबिन समितिले अहिलेसम्म कार्य सम्पादन गर्न सकेको छैन ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान सदस्य रहने गरी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत असार ११ गते समिति बनाएको थियो । समितिलाई ७ दिनभित्र प्रतिवेदन दिन भनिएको थियो ।

तर झण्डै दुई साता बित्दा पनि समितिले प्रतिवेदन दिन सकेको छैन । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अहिले अस्पतालमै केन्द्रित रहेर समितिले काम गरिरहेको बताए । उनले अस्पतालको अनुसन्धान सकिएलगत्तै राजु सदाको घर तथा क्वारेन्टिनमा गएर स्थलगत अवलोकन र छानबिन गरी चाँडै प्रतिवेदन तयार हुने उनले बताए ।

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका धनुषाको हँसपुर नगरपालिकाका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । यहाँ उनको आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

राजुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो । तर स्वाबको रिपोर्ट आउन एक साता समय लागेको थियो । त्यही बीचमा आइसोलेसनमा छट्पटिएका थिए उनी । असार ९ गते स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आकस्मिक कक्षमा ल्याइएको थियो । जहाँ उनको असार ९ गते राति नै छट्पटिएर ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment